Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

प्रथम पृष्ठ ( Home )

त्यो पहेँलो फूल

कुमुद अधिकारी

      एउटा पहेँले फूल फुल्नेगर्थ्यो, त्यस बेलामा घरमा। त्यस्तो फूल मैले पहिले कतै देखेको थिइनँ र आजकल पनि त्यति देख्तिन। मलाई त्यो फूल मन पर्थ्यो त्यसको एउटा विशेषताले-त्यो साँझमा मात्र फुल्थ्यो, आफ्नै आँखैअगाडि, कोपिलाबाट पूर्ण फूल हुन बढीमा पाँच मिनट समय लाग्थ्यो।

      एक दिन घरको उत्तरपट्टि मुन्तिरको खोल्सामा बनेको बाँसको साँघुमा वारि र पारि गर्दा गर्दै घडेरीतिर लागिएछ आफ्ना बालसखाहरूसँग। घडेरीमन्तिर साहिँला बडाबाको घरमा सानोतिनो जमघट थियो। मलाई देख्‍नेबित्तिकै साहिँला बडाबाले बोलाउनु भयो- " ए कान्छा ! तेरो बाले बिहे गर्‍यो अरे।" त्यहाँ उपस्थित साहिँली बडीआमा लगायत सबै गलल हाँसे। म पनि खुसी भएँ। मेरो नौ वर्षको मनले मेरो बाले आमाको सुखमा तगारो हालेको भन्ने बुझेन। बिहा भन्दा राम्रो लुगा लगाउन र मीठो खानपाइने भन्ने कुरो नै बडी आकर्षक लाग्यो। अब बाले नयाँ बेहुली लिएर कहिले आउने भन्नेतिर मन उड्यो।

      साहिँला बडाबाले - "जा तेरी आमालाई सुना !" भन्दा म खुसीसाथ दौड्दै गएर घर दक्षिणपटिको चिया टिप्दैगरेकी मेरी आमालाई सुनाएँ- "आमा ! आमा ! बाले बिहे गर्नु भो रे !" आमाले पत्याउनै भएन, मैले फेरि भनेँ - "हो अरे, साहिँला बडाबाले भनेको।" एक्कासि मैले आमाको मुख अँध्यारो पाएँ। मलाई लाग्यो- बिहे जस्तो रमाइलो कुरामा पनि आमाले किन कालो अनुहार लगाउनुभएको होला।

      दिनहरू बित्तै गए। त्यस घटनापछि मैले आमाको अनुहारमा खुसी वा उज्यालोपन देखिनँ। एक दिनको कुरा हो, हामी सिकुवामा थियौँ। आमा खोसेल्टाको पिरामा बसी थाममा अडेस लागेर फूलबारीतिर हेरिरहनुभएको थियो। म त्यही थाममा अड्याइएको खाटमा पल्टिरहेको थिएँ। साँझको बेला थियो। अचानक आमाको मुखबाट मैले सुनेँ - "छोरा अब म मर्छु है, तेरा बाले अर्की आमा ल्याउनु भयो रे।" मैले आमाको अनुहारमा हेरेँ, आमाका दुवै आँखा आँसुले भरिएका थियो। मैले भने - "नाइँ आमा मर्नुहुँदैन।" म आमाको छेउमा गई वहाँको काखमा मुन्टो राखेर फूलबारीतिर हेरेँ। मैले जीवनको गहिरो अर्थ नबुझे पनि मेरी आमा मर्नु भनेको मैले आमालाई गुमाउनु हो- भन्ने बुझेको थिएँ। त्यसैबेला फूलबारीमा थुप्रै पहेँला फूलहरू फक्रिरहेका थिए।

      आजभोलि त्यो फूल देखेँ भने लाग्छ, त्यो फूलको फक्राइ चाहिँ सबैको जीवनधारामा धमिलो पानीको बाढी हो जसले जीवनको स्वाभाविक बगाइलाई अस्वाभाविक बनाइदिन्छ।

 


प्रथम पृष्ठ ( Home )