|
|
|
|
पिजाको पुकार
यति ठूलो क्लास ? यति धेरै विद्यार्थी एउटै क्लासमा ? सायद कलेजको इतिहासमा पहिलोपल्ट ? लाग्छ यो कलेज वास्तवमै युनिभर्सिटी बन्दै छ। कलेजको जवानीमा पदार्पण ! असी जति विद्यार्थीहरू देखिन्छन् र सुनिन्छ- अरू थपिनेवाला छन्। सानो सहरको कलेजमा अहिलेसम्म यति ठूलो क्लास छैन जहाँ यतिका धेरै विद्यार्थी अट्न सकून ! सायद त्यसैले थिएटरमा क्लास राखिएको होला ! थिएटर ! कलेजको क्याम्पसमा बनेको भव्य थिएटर ! जहाँ मनोरञ्जनका लागि फिल्महरू देखाइन्छन्। गद्दी भरिएका कुर्सीहरू, छेउछेउमै राखिएका। सँगै आउने मानिसहरूले सँगै बसेर तमासा हेर्दा पनि नजिकै महसुस गर्न सकून् भनेर त्यसरी राखिएका होलान् कुर्सीहरूका हार। प्रत्येक कुर्सीसँग जोडिएको फोल्डिङ ट्रे। केका लागि ? केही लेख्नका लागि वा मनोरञ्जन बढाउन खाद्यसामग्री राख्नका लागि पनि होला। थिएटर जहाँ लेक्चर दिनुपर्छ - हप्तामा तीनपल्ट। पहिलोपल्ट अशोकले थिएटरमा कदम राखे। धेरै वर्षदेखि अशोक यस कलेजमा प्रोफेसर छन् तर अहिलेसम्म थिएटरमा लेक्चर दिने पालो आएको थिएन। थिएटरको भव्यता देखेर छक्कै परे। सोच्न थाले, 'यतिका वर्षपछि भगवान्ले दया गर्नुभयो, मेरो स्वर त ठूलै छ भरिदिन्छु पूरै थिएटरलाई मेरो आवाजले। मेरो गलामा माइक्रोफोनको माला झुन्डिने छैन।अशोकलाई आफ्ना जवानीको रङ्गभूमिमा गर्जना गर्दाका दिन सम्झना आए। थिएटर छ र ठूलो स्टेज पनि छ। माथितलको मामला पो कसरी सम्हाल्नु ? तीन स्टेपहरू माथि जानका लागि र तीन तल ओर्लनका लागि अर्थात् जनताका छेउमा जानका लागि। ठूलो सेतो चक्कावाला बोर्ड छ तर स्टेजमा नै छ। अशोक सोच्न थाले र साथसाथै बोल्न पनि लागे जनताले सुनून् भनेर- "म जहिले पनि बोर्डमा थुप्रै लेख्छु र प्रशस्त प्रश्नोत्तर विद्यार्थीहरूसँग पनि गर्छु। लेख्नलाई तीन स्टेपमाथि र आँखासँग आँखा मिलाएर कुरा गर्न तीन स्टेप तल ! हेर है भाइहरू ! यो तलमाथि गर्दागर्दै सायद एक दिन म लड्छु होला। त्यस बेला नहाँस्नू है, एम्बुलेन्स छिटै बोलाउनु है।" जनतामा केही हाँसो छायो। "अशोक ! यहाँ तल्लो लेभलबाट ओभरहेड प्रोजेक्टर प्रयोग गर्न सक्छौ। प्लास्टिकमा लेख र राख, अनि सबै कुरा स्क्रिनमा देखिइहाल्छ।" "स्क्रिन कहाँ छ त ?" "त्यो स्टेजमा चक्कावाल बोर्डका पछाडि।" "यसका लागि त थुप्रै चक्का घुमाउनुपर्छ। मलाई मद्दत गर्छौ ? ठीकै छ नि त अर्को पल्ट हेरौँला। त्यो ओभरहेडको प्लास्टिकमा लेख्न खास प्रकारको कलम चाहिन्छ हैन ? डिनको अफिसमा कलम खोज्नुपर्ला।" अशोकले वास्तवमा अहिलेसम्म ओभरहेड प्रोजेक्टरको प्रयोग गरेका थिएनन्। जहिले पनि मेसिन प्रयोग गर्नुभन्दा त्यससँग प्रतिस्पर्धा गर्नु उचित ठाने। अनि आँखामा आँखा मिलाएर जनतासँग कुरा गर्न त सबै प्रकाश वा उज्यालो एकै ठाउँमा केन्द्रित त हुनैपर्यो। अशोकलाई यस प्रकाशको बाँडफाँड मन पर्दैन। लेक्चरको नयाँ दिन पनि आयो, सोमवार। थिएटर भरिँदै छ। विद्यार्थीहरू, अशोकका प्यारा जनता, विस्तारै भित्र आउँदै छन् र पुस्तकबाहेक हर प्रकारका खानेकुराहरू पनि साथै लिएर आउँदै छन्। कसैकसैसँग घरबाट बनाएका लन्चका सामानहरू छन्। धेरैले चिसो-तातो कलेजकै दोकानबाट किनेका छन्। कुर्सीहरू भरिन लागे र ट्रेहरू खुल्न थाले। एउटा अद्भूत दृश्य बनिँदै थियो। खाद्यसामग्री पोकाहरूबाट निस्कन थाल्यो। कहीँ एक फुट लामो भरिएको सबमरीन देखिन्छ भने कहीँ पिजा !.... लाग्छ- आज पिजाकै जीत हुन्छ होला। ठूलाठूला त्रिकोणाकार पिजाका टुक्राहरू देखिँदै छन्। मानौँ सबैले तातोतातो पिजा कहीँबाट सेकाएर ल्याएका हुन्। तातो पिजा, उम्लिँदै गरेको मोजरेला चीज, पक्कै केही जिब्रो पोल्नेवाला छन् ! थिएटरका सबै हातहरू खानेकुरा मुखतिर लान व्यस्त छन्। बीचबीचमा कुनैकुनै उल्टा हातहरूले मुख पनि पुछ्दै छन्। यो पिकनिक हो कि क्या हो ? होइन यो त थिएटर नै हो, पक्कै केही मनोरञ्जन सुरु हुनेवाला होला। "मेरा प्यारा जनता ! म तिमीहरूको ईर्ष्या गर्छु। कति जवान छौ तिमीहरू सबैजना। कति भोका छौ तिमीहरू ! लाग्छ आज कलेजको दोकानले राम्ररी नै व्यापार गर्यो तिमीहरूसँग !" अशोकले मनोरञ्जनको कार्यक्रमको सुरुवात गरे। "एक पिस पिजा लिन्छौ अशोक ?" "कति मायाले भरिएको कुरो गरेको जेनिफर ? तर म त त्यसो गर्न सक्तिनँ। मेरा लागि खान, बोल्न र सोच्नः सबै एकैपल्ट हुने कुरै होइन।" "हाम्रो सोमबाट शुक्रसम्म छ घण्टाको सीधा सेड्युल छ, बीचमा खाने समय छैन।" "त्यसो भए राम्रो सेड्युल भएन त्यो त। ठीक छ ! मेरा प्यारा जनता खाऊ। निकै भोकै हौला। म केही क्षण थिएटरको लम्बाई-चौडाई नाप्छु। बीचमा तिमीहरू लन्च पूरा गर। टाउको भुइँमा निहुर्याएर, अशोकले एउटा कुनाबाट अर्को कुनासम्म पाइला गन्न थाले। शुक्रबार आयो। तर फेरि त्यही दृश्य। गह्रौँगह्रौ पिजाहरू त्रिकोण बाकसबाट निस्कन थाले। तात्ताता सिधै चुल्होबाट निकालेका जस्ता। अशोकले एकछिन पिजाको बहार हट्छ कि भनेर प्रतीक्षा गरे। लेक्चर सुरु गरे, ओभरहेडको प्लास्टिकमा लेख्न थाले। करिब आधाघण्टाछि अशोकका आँखाहरू प्लास्टिकबाट हटेर जनतातिर तेर्सिए। एउटी केटी थिएटरमा भर्खर आएजस्ती लाग्दथी। आफ्नो कुर्सीतिर लाग्दै थिई। एउटा हातमा पिजाको स्लाइस थियो, अर्कामा बाकस थियो जहाँबाट सायद अरू पनि स्लाइसहरू निस्किनेवाला थिए। अशोकले केही पनि भनेनन् र प्लास्टिकमा लेख्नथालेः "मेरो मनमा बसेको छ पिजा ? कसैले खाँदै छ कि ? कसले खाँदै छ ?" अशोकलाई कुनै जबाफको अपेक्षा थिएन, उनी ठट्टा गर्ने हिसाबले पिजाको पार्टी अब त सकियोस् भन्ने सन्देश जनतामाझ पुर्याउन चाहन्थे। दिनहरू बित्दै गए। जनताको थिएटरवाला लन्च टाइम परिवर्तन भएन। अशोक पाँच मिनेट ढिलो लेक्चर सुरु गर्थे तर त्यसमा पनि नयाँ र ताजा पिजाले जन्म लिइरह्यो। "अशोक ! यो हाम्रो दोष होइन। एडमिनिस्ट्रेसनको दोष हो जसले यस्तो सेड्युल बनाएका छन् जहाँ बीचमा लन्चको टाइम नै छैन। तपाईँ लेक्चर दिइरहनुहोस् हामी सुनिरहन्छौँ।" "कुरा के छ भने नि, मैले तपाईँहरूसँग वार्तालाप गर्नुपर्छ, प्रश्न सोध्नुपर्छ र जबाफ पनि दिनुपर्छ तर यहाँ यो पिजा बीचमा आइदिन्छ। दृष्टि उठाएर हेर्छु तपाईँहरू व्यस्त हुनुहुन्छ। कुराकानी सुरु गर्नलाई नै निराशाले दिँदैन। यस्तो लाग्छ, तपाईँहरूको खाना खराब हुन्छ।" अशोकले सम्झाउन चाहे। अशोकका दिमागमा विचारहरूको घमासान भइरहेको थियो।'जनतालाई कसरी भनूँ कि मेरो लेक्चर दिने काममा विघ्न भइरहेको छ। हरेक लेक्चर तयार गर्दा कति दुख गर्नुपर्छ। मलाई सन्तोष पनि त मिल्नुपर्यो नि। पढाइलाई आनन्दमय अनुभव बनाउने कोसिसमा तुसारापात भइरहेको छ। यदि यी प्यारा जनता खानामा यसरी व्यस्त भइदिए भने मसँग कसरी कुरा गर्छन् ? नोट्स कसरी लिन्छन् ? पढाइमा ध्यान कसरी केन्द्रित गर्छन् ? खाना नखानेहरूको चाहिँ हालत के नि ? पूरै परिवेश खराब भइरहेको छ। के म यही मात्र सोचूँ कि मलाई तलब आइहाल्छ, लेक्चर मात्र गरे भैगयो नि। अनि बाँकी सबै बिर्सिऊँ ? उपेक्षित रहूँ र सहेर बसूँ ? अहँ ! हुन्न यस्तो हुन सक्तैन। यदि यो समस्या हो भने समाधान गर्नुपर्छ।' अशोकलाई अर्को एउटा सोच आयो। यो पनि त हुनसक्छ कि यो खाने प्रक्रियाले अरू प्रोफेसरहरूलाई यति बिघ्न नसताओस्। "के तपाईँहरू अगाडिको साडे बाह्रको लेक्चरमा पनि खाना खानुहुन्छ?" "हो अशोक ! त्यस बेला पनि लन्च हुन्छ।" "डाक्टर क्लटरहमले केही भन्नुहुन्न ?" "अहँ ! अशोक केही भन्नुहुन्न।खालि दृष्टि दिनुहुन्छ।" "कस्तो दृष्टि ?" "यस्तो दृष्टि जसले लेक्चरको समयमा खानु ठीक मान्दैन।" "यो समस्या त हल गर्नुपर्यो नि। मेरो विचारमा जिन्दगीमा खाना त जरुरी छ तर लेक्चरका समयमा चाहिँ होइन। यदि तपाईँहरूले डिनसँग भेटेर कुरा गर्नुभयो भने कुनै हल निस्कन पनि सक्छ।" केही अग्रणी विद्यार्थीहरूलाई अशोकको सुझाव राम्रो लाग्यो। केही एसोसिएट डिनकहाँ गए र केही गए विभागीय चेयरपर्सनकहाँ। चेयरपर्सन ड्यामड्याम गर्दै अशोकको अफिसमा आइपुगे। सेड्युल बनाउने पहिलो जिम्मेवारी चेयरपर्सनको हुन्छ। अशोकले दैलो खोले, उनले केही भन्नुअगावै चेयरपर्सन अशोकको अफिसको खाली कुर्सीमा गएर आसन जमाए। आँधी आउला जस्तो भयो। आपत्को आगमन भएको थियो। "सेड्युल फेर्न त असम्भव छ। केटाकेटीलाई खान देऊ न। खाना त जरुरी कुरो भयो नि। मन परेन भने सहिराख।" अशोकले सोच्न थाले यो मान्छे हो कि पाइजामा। कुरा गर्ने तरिका पनि छैन। समस्यालाई राम्ररी विचारै गरेको छैन होला तर यहाँ आदेश दिन थालिसक्यो। गल्ती त सबैले गर्छन् तर गल्ती मानेर त्यसलाई सुधार्नु पनि त उत्तिकै जरुरी हो। अशोकले केही भन्नै नपाई फेरि नयाँ गोलीबारी भयो- "केटाकेटीले तिमीले खानाको बारेमा केही अप्रिय कुरा गर्यौ अरे भन्दै थिए।" अब अशोकको रिस थामिएन। सोच्ने समय सिद्धियो। "के रे ? अप्रिय कुरा ? कसलाई ? जति आदरले मैले तिमीसँग आजसम्म कुरा गरेको छु नि त्यति नै आदरले केटाकेटीसँग पनि कुरा गर्दै आएको छु। बाटामा जो घाउ लागे, जो दुःख भेटियो त्यसदेखि माथि उठेर मैले माया र मित्रताको हात फैलाएको छु। हो, सबैलाई जित्न सकिनँ, तर धेरै केटाकेटीले मलाई मायाले भरिएका आभार व्यक्त गर्दै चिठी लेखेका छन्। मलाई त अहिले पनि यो दुख लागेको छ कि तिमीलाई त मेरो केही सुन्नै छैन कुनै केटाकेटीको कुरा मान्यौ कि मैले कसैलाई अपमान गरेँ अरे। यदि कुनै छात्रलाई प्रोफेसरसँग गुनासो भए त डिनलाई पो भेट्नुपर्छ। चेयरपर्सनले त बीचमा आउने हुँदै होइन। तिमी मेरा सहयोगी हौ, वरिष्ठ होइनौ। जोजो छात्रछात्रा मेरा क्लासमा छन् ती तिम्रा क्लासमा पनि छन्। उनीहरूलाई कम्प्लेन गर्ने मौका दिनु, सुन्नु र उनीहरूको कुरा मान्नु तिम्रो गल्ती हो। यो समस्या कसरी हल हुन्छ म डिनसँग कुरा गर्छु।" अशोकले आफ्नो लेक्चरको पूर्णाहुति गरे र तुफानलाई दैलाबाट बाहिर निकालिदिए। अर्को दिन अशोक एसोसिएट डिनसँग भेट गर्न गए। डेभिड ! मलाई तिमीसँग र सायद पिटरसँग केही कुरा गर्नु छ। केटाकेटीहरू लेक्चर क्लासमा खाना खान्छन्, त्यसैका बारेमा। मेरो विचारमा समस्या हल भएको छैन। मेरो डिपार्टमेन्टको चेयरपर्सन भनिरहेका थिए कि डेभिड काममा व्यस्त रहन्छ, र यस्तो समस्या लिएर डिनलाई दुख दिनु ठीक हुँदैन। उनी यो पनि भन्दै थिए कि नयाँ कन्ट्र्याक्टअनुसार यस्तो समस्या हल गर्ने जिम्मेवारी डिपार्टमेन्टको चेयरपर्सनको हुन्छ। अब भन डेभिड ! मसँग कुरा गर्न चाहन्छौ ? "काममा त पक्कै छु, तर को पो छैन र ? अशोक ! तिमीसँग म जहिले पनि कुरा गर्न तयार छु।" अशोकका मुखमा हाँसो छायो। डेभिड पहिले गणित-विभागमा प्रोफेसर थिए, र यही वर्ष डिन भएका हुन्। बितेका कैयौँ वर्षदेखि नै अशोक र डेभिडको भेट भइरहेको छ र उनीहरूको एकअर्काप्रति आदर पनि छ। "अर्को लेक्चरअगाडि मसित केही समय छ। के तिमी अहिले फुर्सतमा छौ ?" "जरुर ! अशोक ! आऊ, भित्र बस।" "के म दैलो बन्द गर्न सक्छु ?" "मज्जाले, गर न !" "हेर ! डेभिड ! यो हुन पनि सक्छ कि तिमीले र पिटरले चेयरपर्सनसँग भनेका हौला यस्तोउस्तो समस्या तपाईँहरू नै हल गर्नुहोस् जसले गर्दा डिनलाई कम दिक्दारी होस् र प्रत्येक प्रोफेसरसँग कुरा गर्नु नपरोस् !" "अहँ, अशोक ! मैले चेयरपर्सनसँग यस्तो कहिल्यै भनेकै छैन।" "मेरो चेयरपर्सन डिपार्टमेन्टलाई प्रत्येक हप्ता इमेलहरू पठाउँछ। केही कपी पेस्ट गरेर तिमीलाई पठाइदिउँला। अरू केही भएन भने पनि मनोरञ्जनचाहिँ पक्कै हुन्छ ! यो पिजाको समस्या हल गर्नैपर्ने छ। म दुई दिनदेखि पिटरलाई खोजिरहेको थिएँ। सायद पिटर सहरबाहिर गएको छ। मलाई पिटरसँग पनि कुरा गर्नुपर्ने हुनसक्छ। यो पनि हुनसक्छ कि पिजाको समस्याको बारेमा मेरा र तिम्रा विचारहरू अलग हुन्।" "अशोक ! तिमीलाई थाहा छ कि मेरो अहमको लेबल कति कम छ। पिटर सबैभन्दा वरिष्ठ हो, तिमीभन्दा, मभन्दा र चेयरपर्सनभन्दा। म र चेयरपर्सन भ्याएसम्म बीचमा मद्दत गर्न तयार छौँ। म समस्या सुन्न तयार छु र सम्भव भएसम्म हल गर्ने पनि कोसिस गर्नेछु।" डेभिडले आफ्नो प्रख्यात नोटबुक निकाले, नयाँ पृष्ठमा अशोकको नाम लेखे र समस्यासँग लडाईँ खेल्न तयार भए। कुराकानी राम्रै चल्यो। डेभिड बीचबीचमा नोटबुकमा केही लेख्दै पनि रहे र समस्या समाधानलाई गति पनि दिइरहे। डेभिडले भने कि उनी पनि त्यत्तिकै क्लासमा खाँदै गरेका केटाकेटीदेखि दिक्क भएका थिए। अशोकले भने कि उनको संवेदना अरू प्रोफेसरहरूभन्दा तीब्र पनि हुन सक्छ। "त यो समस्या कसरी हल गर्ने, अशोक ? लन्चको समय दिनलाई सोमबारदेखि शुक्रबारसम्मको सेड्युल फेर्न निकै ठूलो समस्या हो।" "हो, डेभिड ! मलाई थाहा छ, वर्षौ पहिले म चेयरपर्सन हुँदा मैले पनि केही सेड्युल बनाएको थिएँ। एकपल्ट बनाएपछि फेर्न निकै ठूलो झन्झट हुन सक्छ। गाह्रो छ, म मान्छु। सायद डेभिड तिमी र पिटर आएर मेरो क्लासमा केटाकेटीसँग पाँच मिनेट कुरा गर। केटाकेटीलाई ठीक तरिकाले सम्झाइदेऊ कि सेड्युल फेर्न असम्भव किन छ ? जिन्दगी टिकाउनका लागि खाना त चाहिन्छ तर पढाइका बेलामा पिकनिक जसरी नखाऊन्। यदि तिमीसँग या पिटरसँग समयको अभाव भए मलाई त्यही बेहोराको चिठी लेखिदेऊ। म डिनको चिठी उनीहरूका अगाडि पढिदिन्छु।" "अँ यस्तो त हुनसक्छ यसमा कुनै अप्ठ्यारो छैन। सेड्युल फेर्न त गाह्रै छ, र पनि म हेर्छु। अरू कुनै तरिका दिमागमा छ अशोक ?" "कुनै पनि तरिका बिघ्नमुक्त छैन यहाँ। मैले एउटा कुरा त बताइदिएँ, अब हामी केही नगरौँ, डिनले मात्रै केटाकेटीहरूलाई सम्झाइदिए भयो। सायद यो नै बेस हुन्छ। अँ .... अहिले दिमागमा केही आएजस्तो छ।" "के अशोक ?" डेभिडले कलम उठाए र लेख्न तयार भए। "अघिल्लो लेक्चरबाट पाँच या दस मिनेट काटौँ र म मेरो लेक्चर पाँच या दस मिनेट ढिलो सुरु गर्छु। दुई लेक्चरका बीचमा दस मिनेट त पहिले नै छ। यसो गर्दा केटाकेटीलाई खाना खाने समय पुग्छ।" "वाह ! सोच त नराम्रो होइन तर अगाडिको प्रोफेसर सहमत हुनुपर्यो अनि फेरि लेक्चरबाट दसदस मिनट काटेपछि पढाइमा कमी त हुन्छ नै।" "हो, सम्पूर्णता त कतै पनि छैन। केटाकेटीले पढाइको पैसा पूरा असुल भएन भनेर विरोध पनि गर्न सक्छन्। यहाँ मुख्य फाइदा चाहिँ सेड्युल नफेर्नु नै देखिन्छ।" "ठीकै छ अशोक ! ममा छोडिदेऊ सबैथोक। म हेरूँला। कुनै न कुनै हल अवश्य निक्लेला।" "ल डेभिड ! असल छौ तिमी। तिमीसँग कुरा गरेर राम्रो लाग्यो। मिलाऊ न त हात.........." अशोक र डेभिडले हात मिलाए र अशोक आफ्नो अर्को लेक्चरतिर अगाडि बढे। दुई दिन बिते। अशोकले पिटरलाई फेकल्टी लाउन्जमा देखे। बिहानको पहिलो कफीको कप तयार गर्दै थिए। पिटर लगभग दस वर्षदेखि डिन छन्।र दुई वर्षदेखि उनलाई रिसर्चको भाइसप्रेसिडेन्टको उपाधि पनि प्राप्त छ। पिटर प्रतिभाशाली सौम्य सज्जन हुन्। "अरे पिटर ! अचेल देखिँदैनौ नि, कतै बाहिर गएका थियौ ?" "अँ त वासिङ्टनबाट भर्खर आउँदै छु।" "हो र ! कुन मन्त्रीको खजाना रित्याइदियौ त ?" पिटर हाँसे अनि अशोक पनि आफ्नो चिया सकेर बिहानको लेक्चरतिर बढे, तर अचानक उनलाई केही याद आयो। "पिटर ! डेभिडले कुनै 'पिजा'का बारेमा कुरा गरेका थिए ? उनी तिमीसँग सल्लाह गर्नेवाला थिए।" "अँ, थिएटरमा पिकनिक भइरहेको छ।" पिटरले हाँस्दै जबाफ दिए। "एकदम सही ! हरेक प्रकारको खाना तर पिजाले जितिरहेको छ। ठूलठूला स्लाइस, ओजनमा पनि धेर, ताताताता, जनता खान्छन्, चाट्छन्, निल्छन् र मुख पुस्छन् ! मेला छ पिटर ! मेला !" पिटर जोडले हाँस्न लागे। "त्यसो त कुनै पनि लेक्चरक्लासमा खान अनुमति छैन।यो त हाम्रो पोलिसी नै हो, तर यसलाई लागू गर्न सरल छैन।यो थिएटरभित्रको पिकनिकको कुरो यदि क्याम्पस सफा राख्ने डिपार्टमेन्टले चाल पायो भने, रिसले आगो हुनेछ।" "हो, तर म सफाइभन्दा बढी पढाइका बारेमा सोचिरहेको थिएँ। यो पिजा बीचमा आएर पढाइमा बाधा पुर्याइरहेको छ......।" "हो, मलाई थाहा छ तिमीले के भन्न खोजेको हो र म त्यस कुरासँग सहमत पनि छु। डेभिड सेड्युल हेर्दै छन्। यदि हामीले सेड्युल फेर्यौँ भने केही केटाकेटीहरू दिन धेरै लामो भयो भनेर निवेदन लिएर आउँछन्।" "त्यो त हो। हामी जहाँ बस्छौँ नि त्यहाँ हरप्रकारको स्वतन्त्रता छ। निवेदन दिने पनि स्वतन्त्रता छ। कसले भन्छ स्वतन्त्रताको मूल्य छैन ? हेर ! यो सेड्युल फेर्ने हल त्यति राम्रो छैन। मैले डेभिडलाई अरू केही पनि भनेको छैन.........." "लेक्चरबाट पाँच मिनेट काट्ने ? त्यसका लागि अर्को प्रोफेसर तयार हुँदैन। उसलाई त पाँच मिनेट कमको साटो दसपाँच मिनेट धेर चाहिन्छ रे।" "सबभन्दा सरल बाटोचाहिँ यही हो कि पिटर ! डिनले आएर मेरो क्लासमा एकपल्ट राम्ररी केटाकेटीहरूलाई सम्झाइदिऊन्। सेड्युलका अप्ठ्याराहरूको वर्णन गरिदिऊन्। बताइदिऊन् कि खाना जरुरी छ तर पढाइको वातावरणमा बढी ध्यान दिनुपर्यो।" "अँ म त त्यो गर्न सक्छु। डेभिडलाई केही समय दिऊँ, उसले सेड्युल हेर्दै छ।" "मलाई माफ गर है पिटर ! मलाई थाहा छ तिमीहरूलाई धेरै अरू समस्याहरू छन्। यदि चाहन्छौ भने यो पिजाप्रकरण यहीँ सकिदिऔँ। भुलिदिऔँ। कुनै आकाश त खस्तैन आखिर।" "ठीक छ अशोक ! कुनै समाधान निकालौँला नि।" कुराकानी सकियो। अशोकलाई कुराकानीबाट सन्तोष भयो। त्यसपछि केही दिनसम्म अशोक पर्खिरहे, तर डिनका अफिसबाट कुनै आवाज आएन। कहिलेकाहीँ अशोकले दुवै डिनलाई टाढाबाट व्यस्त देखेका पनि हुन् तर पिजाको कुरो सम्झाउन मन लागेन। दिन बहँदै गए, र हप्तौँ बिते। कुनै आकाश खसेन। दुबै डिनहरू सायद अरू नै कठिन समस्यारूमा डुबेका थिए। भुले उनीहरूले एउटा पिजा थियो, पिजावाल समस्या थियो। अशोक ? अशोकका कानमा गुन्जिरह्यो 'पिजा'को पुकार !! ***
|