|
|
|
|
पेटू
दरबारीप्रसादले आफ्नो बचपनको भोक अहिलेसम्म बिर्सिएका छैनन् र उनी बिर्सन पनि चाहँदैनन्। भोक सम्झनेबित्तिकै अन्नका एकएक दानाको मोल महसुस हुन्छ उनलाई र अन्नका दाना कतै फ्याँकिएका वा बर्वाद गरिएका देखिए भने त भोक आफैँ याद आउँछ। हिजो राती उनका छोराहरूले साथीहरूलाई पार्टी दिए। बिहान दाइले थुप्रै खाना, पुलाउ, चिकेन, सलाद, नान आदि घुरानमा फ्याँकिदिइन्। उनको दृष्टि परिहाल्यो र आत्मा पाकेको घाउझैँ रसाउन थाल्यो। उनका अनुमानमा यी फ्याँकेका सामग्रीहरू कम से कम बीस जना मान्छेलाई भरपेट खान पुग्ने थिए। यस्तो खालको बर्बादी जब उनी प्रायः भित्रबाहिर देख्थे, उनी आहत हुन्थे। क्लबमा, होटलहरूमा बिहेका पार्टीमा हुने घरबाहिरका बर्बादीमा त उनको अख्तियार हुने कुरा थिएन तर उनी घरकै बर्बादी देखेर पनि केही गर्न नसक्दा हतास र निरीह बन्थे किनकि त्यसमा पनि उनको वश चल्दैनथ्यो। उनले कहीँ कतै पढेका थिए- यो देशमा एक दिनमा बर्बाद हुने अनाजले इथियोपिया, नामिबिया, अथवा सोमालियाजस्ता भोका देशहरूमा एक वर्षको आवश्यकता टर्छ। अचानक आफ्नी आमाको अनुहार याद आउँछ उनलाई। अन्नका जतिसुकै मसिना दाना किन नहुन्- सुकाउँदा निफन्दा वा पस्किँदा भुइँमा पोखिए भने एकएक दाना मन लगाएर टिप्नुहुन्थ्यो, मानौँ ती अन्नका दाना नभएर मोतीका दाना हुन्। पछि गएर भोकले उनलाई पनि राम्ररी बुझायो यी वास्तवमै मोतीका दानाभन्दा अनमोल रहेछन्। छोराहरू ठूला र जवान भए; तर उनी आफू पनि बूढा थिएनन्। छोराहरू बाबु सहरमा बसेर पनि गाउँले-पाखे नै रहे भन्ने ठान्दथे। कदाचित् यो कुरा सही पनि थियो किनकि गाउँ र भोकको महत्त्वको रङ यति गाढा थियो उनको दिमागमा कि सहरको भरपेट भोजन र सहरले पनि उनलाई केही प्रभाव पारेको थिएन। उनले सबैथोक सिकेर पनि चलाखी र धुर्त्याइँ सिक्न सकेनन्। यिनैलाई उनका छोराहरूले बुद्धिमानी मान्थे र यस्तो बुद्धिमानीको अभावमा उनका कुराहरूको महत्त्व हुँदैनथ्यो घरमा। छोराहरू आफ्ना मर्जीका मालिक थिए र जे गर्न पनि स्वतन्त्र थिए। यस स्वतन्त्रतामा तिनीहरूका क्रियाकलापहरू देखेर उनी तीन छक्क पर्थे....... लाग्थ्यो कि छोराहरू उनका घरका, गाउँका, जनपदका र मुलुकका नै होइनन्। लाग्थ्यो, यिनीहरूको रहन-सहन, खान-पान, चालचलन, एकदम नौलो र अपरिचित छ। थाहा छैन कुन दुनियाँको नक्कल यिनीहरूले गरेका हुन् ? ..... लगभग हरेक दिन उत्सव, पार्टी, नाच-गान, धूम-धडाका......। उनीहरूका लागि पैसाको यो नै सबैभन्दा राम्रो सदुपयोग हो। दरबारीप्रसाद एउटै घरमा रहेर पनि अलग-थलग टापूजस्ता भएका छन्। पैसाको सदुपयोगको परिभाषा यहाँ एकदम भिन्न छ। किनकि, जिन्दगीको वर्णमालाले उनीहरूलाई बेग्लै किसिमको पाठ सिकाएको थियो। उनी चाहन्थे पैसा सबभन्दा पहिले दुनियाँको भोक र रोग मेटाउन प्रयोग होस्; जोसुकैले कमाएको पैसा भए पनि। यो संसार अत्यन्त विशाल लागे आफ्ना नजिकका आफन्तहरूलाई त यसमा सामेल गर्न सकिन्थ्यो नै। यो पनि सकिन्न भने फजुलखर्ची र बर्बादीको अपराधबाट आफूलाई बचाउन त सकिन्छ। गएका छ महिनामा गाउँबाट दिदीका छवटै चिठीहरू आइसकेका छन्। ती पनि मसीले नभएर आँसुले लेखिएका। दिदीको एउटा किड्नी खराब भएको छ र त्यसलाई अपरेसन गरी बाहिर निकाल्नुपर्ने, नत्रभने अर्को पनि सङ्क्रमित हुने खतरा छ। दिदीले कतैबाट जसरीतसरी दसहजार जम्मा गर्नुभएको छ अब अपुग पाँचहजार चाहिने भयो। घरको जम्मै आयव्ययका अर्थमन्त्री उनका जेठा छोरा दुख्खनप्रसाद र प्रमुख सल्लाहकार कान्छा छोरा भुक्खनप्रसाद छन्। दुवैजनाले यी आफ्ना नामहरू मन पराउँदैनन् र आफूलाई डीपी र बीपी भनिएको सुन्न चाहन्छन्। जबकि दरबारीप्रसादले यी नाम राख्नुको कारणचाहिँ यिनीहरूले हरपल दुःख र भोकलाई सम्झिऊन् भन्ने थियो। तर यी छोराहरू आफ्ना नामका व्यञ्जनाभन्दा ठीक उल्टो विचार राख्दथे।) दरबारीप्रसादले छैटौँपटक सम्झाए उनीहरूलाई "छोरा पैसा पठाइदे। मेरी सहोदर दिदी हुन्। उनका धेरै उपकार छन् ममा। उपकार नै नभए पनि भाइको नाताले सहयोग गर्नु त कर्तव्य हो नि हाम्रो।" दुक्खनले पनि छैटौँपटक नै त्यही जबाफको आवृत्ति गरे जुन उनले पहिलोपल्ट दिएका थिए। "हजुरले भन्नुभयो, अब मलाई छोडिदिनुस्; 'बन्दोवस्त' हुनेबित्तिकै पठाइदिइहाल्छु।" यो 'बन्दोवस्त' शब्दको रहस्य उनले बुझेका छैनन्। घरमा पार्टी चलिरहेका थिए....... हरेक किसिमका बेमतलबका सामानहरू आइरहेका थिए.....; जुन सामानहरू नहुँदा न कसैको छातीको सास रोकिन्थ्यो न कसैका गलाको गाँस अड्किन्थ्यो। गलैँचाहरू ......... नफाटीकन पुरानाको साटो नयाँ पर्दा ........ कुनै खराबी नआइकनै पुराना टी.भी. र अडियो सिस्टमको एक्सचेन्ज ......... माइक्रोवेभ ओभन......... भ्याकुम क्लिनर ......... टेलिफोन इन्स्ट्रुमेन्ट ठीक हुँदाँहुदै कर्डलेस उपकरण ......... घरमा दुई-दुईवटा बाइक हुँदाहुदै अर्को बाइक ...... साडीहरू, कपडाहरू, बेडसिट आदिको बेमतलब एक्स्चेन्जको त गन्ती नै छैन। दरबारीको बेचैनी बढिरहेको थियो; तर त्यसलाई शान्त पार्ने क्षमता उनमा छैन। यस कुराको चेत धेरै पहिले नै गराइसकिएको थियो। दुवैजना छोराहरू उनीभन्दा धेरै गुना राम्रो र सम्मानित पदमा थिए र कमाउने थिए। छोराहरू मुखले त केही भन्दैनथे तर उनीहरूको हाउभाउले यसको स्पष्ट सङ्केत दिइरहेको हुन्थ्यो कि कमाउने हामी भएपछि जसरी खर्च गरूँ त्यसमा तपाईँलाई कष्ट त नहुनुपर्ने र तपाईँ बुबा भएर के भो र आजकालको जमानामा बुद्धिमान् (चलाख र धूर्त) हुनु पनि ठूलो कुरा हो। ठीकै छ आफूले कमाएको पैसा जसरी उडाऊन्, दरबारीप्रसादलाई कुनै दुःखेसो छैन तर दुःख यतिबेला लाग्छ जतिबेला यही स्वतन्त्रता उनलाई दिइँदैन। उनी आफ्नो कमाइको पैसा पनि आफूले चाहेअनुसार खर्च गर्न सक्तैनन् किनकि बजेट बनाउने अधिकार अर्थमन्त्रीको मात्रै थियो। दरबारीप्रसादले अब कडा विपक्षको भूमिकामा आफूलाई उतार्ने निश्चय गरे। उनले निकै रिसाएर दुक्खनसँग सोधे "के म जान्न सक्छु, दिदीलाई पठाउने बन्दोबस्त कति अगाडि बढ्यो ? कि यो बन्दोवस्त दिदीमाथि आपत् परिसकेपछि मात्रै हुन्छ ?" "सरी बुबाज्यू, मैले भन्न बिर्सेँछु। फुपूलाई त पैसा पठाइदिसकेँ। निकै दिन भयो।" उनका मनमा चिसो पस्यो यो कुरो विर्सिने खालको त थिएन। पक्कै कुनै रहस्य छ, फेरि सोधे- "कति पैसा पठायौ ?" "एक हजार!" "एक हजार ? मैले दिदीलाई पाँच हजार चाहिएको छ भनेको थिएँ।" "अब आवश्यकताको कुनै सीमा त हुँदैन बुबाज्यू। माग्नलाई के हुन्छ र जति मन लाग्छ त्यति माग्छन्। तर दिने मान्छेले आफ्नो हिसावकिताब त हेर्नुपर्यो नि। यो भन्दा बढी सम्भव थिएन।" दरबारीप्रसादको अनुहारको उज्यालो निभ्यो। कष्टले भने – "म विरामी भएँ र दस-बीस हजार खर्च गर्नुपरे मलाई मर्न छाडिदिन्छौ त ?" "बुबाज्यू ! तपाईँ पनि कहाँको कुरो कहाँ लगेर जोड्नुहुन्छ। कतिपल्ट भनिसकेँ; आफ्नो खण्डहर अतीतबाट निस्कनुहोस् बाहिर र आफ्ना इमोसन्स र सेन्टिमेन्ट्सलाई नयाँ सन्दर्भसँग जोड्नुहोस्। फुपू बेवारिस त होइनन् नि, उनको आफ्नै परिवार छ..... छोराहरू छन्....... ज्वाईँ छन्।" दरबारीप्रसादका आँखा आँसुले भरिए..... लाग्यो आज उनी उति नै विवश छन् जति उनी गाउँमा हुँदा भोका थिए। फरक यति थियो- यतिवेला भोकको बेदना आन्द्रामा नभएर कलेजामा थियो। दिदी उनका लागि सामान्य सहोदर दिदी मात्र हुनुहुन्नथ्यो। उनको भोक र भोजन सम्बन्धी धेरै मार्मिक सम्झनाहरू जोडिएका थिए दिदीसँग। दिदी उनलाई भरपेट खाना खुवाउन जैले पनि आतुर रहनुहुन्थ्यो। दिदी राम्री हुनुहुन्थ्यो त्यसैले वहाँको बिहे राम्रो खानेलाउने परिवारमा भएको थियो। छेवैको होम-टाउन नवादामा दिदीका जेठाजु नोकरी गर्दथे। उनका डेरामा प्रायजसो गाउँका मानिसहरूको ओहोर-दोहोर भइरहन्थ्यो; कोर्ट-कचहरी, बिहे-मैतालु, किनमेल, बिमारी र औषधि उपचारका लागि। दिदी पनि कसैको सेवा-सुश्रूषा गर्न वा आफैँलाई उपचार गर्न यहाँ आइरहनु हुन्थ्यो। त्यसबेला हाम्रा गाउँबाट नवादा जान साह्रै सजिलो थियो। गाउँको छेवैमा भएको स्टेसनमा जानका लागि दिनमा दुईपल्ट र आउनका लागि तीनपल्ट रेलगाडी रोकिन्थ्यो। यस यात्राका लागि टिकट लिनु कहिलेकाहीँमात्र आवश्यक हुन्थ्यो। दरबारी त्यसबेला स्कुल पढ्थे र साथीभाइसँग घुम्न बजार जान थालेका थिए। एक दिन बुवाले- 'नवादा गइरहन्छस् भने दिदीको हालखबर पनि सोधेर आइज' भन्नुभयो र गए, दरबारी एक दिन। दिदी त्यहीँ हुनुहुन्थ्यो, उनलाई देख्नेबित्तिकै हर्षले फक्रिनुभयो। थालमा पानी ल्याएर उनका गोडा धुनुभयो। (वर्तमानमा पनि भाइको निर्धनता र झुत्रोपनको गणितसित दिदीलाई केही मतलब थिएन।) र भन्नुभयो- "खाना लगाउँछु, छिटो आऊ।" भुइँमा आसन ओछ्याएर पानीको गिलास राखिदिनुभयो। दरबारी खान बसे। भोजनको थाल आउँदा उनका आँखाहरू चम्के। यति राम्रो खाना आफूले कहिले खाएको थिएँ भन्ने कुरो याद गर्न खोजे तर याद भएन। थालभरि भात, बटुकाभरि झोलदार माछा, पापड, अचार र सलाद। आफ्ना घरमा पनि उनले भात खाएका थिए र माछा पनि....... तर यस्तो भात........ बास्ना आउने र रुवाजस्तो मुलायम र लामा-लामा सिता। ठूलो गाँस मुखमा हालेर उनले सोधे- 'यो कुन भात र कुनचाहिँ माछा हो दिदी ?' दिदी अगाडि नै हुनुहुन्थ्यो, भन्नुभयो- "चामल बासमती हो र माछाचाहिँ रोहू।" दिदीले त्यसबेला भन्नुभयो- "जेठाजु खानेकुराको सोखिन हुनुहुन्छ र यस्तै किसिमको बास्ना आउने चामल र माछामासु सधैँ खानुहुन्छ। दरबारीलाई त्यसबेला थाहा भयो- मान्छे-मान्छेमा फरक भएजस्तो चामल-चामलमा पनि फरक हुँदो रहेछ। उनले भरपेट खाए र दिदीलाई कृतज्ञताको आँखाले हेरे। दिदी उनलाई वेसुध भएर खाएको देखेर आफैँ पनि आह्लादित भइरहनुभयो। वहाँले आमाबुवाको खबर सोध्नुभयो र वहाँहरू बिरामी र दुर्बल हुनुहुन्छ भन्ने जानेर दुःखी हुनुभयो। फेरि सोध्नुभयो – "घरमा खाने कुरा के छ ?" दरबारीले भने- "आठ दिन अघिसम्म त केही थिएन। भर्खरै मडुवा काटिएको छ; त्यसैले रोटी छ रात-दिन।" दिदीलाई केही अचम्म भएन। वहाँलाई थाहा थियो यस्तै हुन्छ भन्ने- धानको फसल काटेपछि, चामल नसकिउन्जेल भात....... गहूँको फसल हुँदा गहूँ नसकिउन्जेल रोटी ....... यस्तै चना, मकै र खेसरीसँग पनि हुन्थ्यो। दिदीको अनुहारमा मलिनता छायो। दरबारीको टाउको सुमसुम्याउँदै भन्नुभयो- "सबैको दिन फिर्छ - मुन्ना, तिम्रो पनि एक दिन फिर्छ। राम्रो ध्यान दिएर पढ्नू, तिमीले पक्कै एक दिन राम्रो काम भेट्छौ।" दरबारी दिदीको अनुहार हेर्याहेर्यै भए, के साँच्चै यस्तो हुन्छ ? त्यसपछि दिदीले भन्नुभयो – "अब पाँच-छ महिना यहीँ बस्छु, जेठानीको छोरो जन्मेको छ। घरको जम्मै काम मेरै जिम्मामा छ। खाना पकाउनुदेखि उनको जिउमा तेल घस्नेसम्म। के गर्नु, गर्नैपर्छ; तिम्रा भिनाजु पनि बेरोजगार छन् र म गरीबका घरबाट आएकी हुँ भन्ने कुरा सबैलाई थाहा छ।" दिदीको अनुहारमा विवशता र थकान स्पष्ट देखिइरहेको थियो। फेरि थप्नुभयो "तिमी कमसेकम हरेक आइतबार आउने गर्नू। जेठाजु पनि खाना खान आउनुहुन्छ; तिमीले वहाँलाई राम्ररी ढोग-भेट गर्नू र गफ गर्नू।" जेठाजु आउँदा मन नलागीनलागी खुट्टा छोएर प्रणाम गरे दरबारीले। दिदीले जेठाजुलाई सुनाउँदै भन्नुभयो "आज यहीँ बस दरबारी, भोलि जानू।" दरबारीले दिदीका जेठाजुको अनुहार हेरे, कुनै आपत्ति देखेनन्। सायद, गोडा छोएको असर होला। त्यहीँ बसे उनी। अरू दुईतीन छाक राम्रो खान पाउने लोभ त छँदै थियो। कुनै सहरमा रात बिताउने उनको यो पहिलो अवसर थियो। खासगरी यस्तो क्वार्टरमा जहाँ टोइलेट, बाथरुम, बिजुली पानी...... सबैथोक सजिलै उपलब्ध थियो। धेरै मजा लाग्यो उनलाई, मनमनै प्रार्थना गरे "हे भगवान् ! हामीलाई पनि यस्तै जीवन मिल्दैन ?" क्वार्टरका छेउमा सहरकै एकमात्र सिनेमा हल सरस्वती टाकिज थियो। उनले अहिलेसम्म सिनेमा हेर्न पाएका थिएनन् तर धेरैपल्ट आशाले हललाई धेरैबेरसम्म उभिएर हेरेका थिए। विशेष गरी 'सो' हुने बेलामा टिकट काट्नका लागि मच्चिएको भागदौड देखेर मनमा कौतूहल हुन्थ्यो कि पक्कै पनि सिनेमा यस्तो चीज हो; जो सहजै उपलब्ध हुँदैन। उनी हलको टुप्पामा राखेको लाउडस्पिकरको सोलीबाट बज्ने नयाँ फिल्मी गीतहरू ध्यान लगाएर सुन्थे र त्यसैमा सन्तोष मान्दथे। 'मेटिनी सो'को बेला भएपछि त आवाज क्वार्टरमै आउन थाल्यो। झ्याल छेउमा बसेर उनले आफ्ना कान त्यतैतिर फर्काए। आनन्दको लहर उनको मनमा उठ्यो। अचल, स्थिर गाउँको तुलनामा सहर कति चलायमान र गुञ्जायमान हुन्छ हगि ? दिदीका जेठाजु कार्यालयबाट बेलुका घर आउँदा थुप्रै खालका तरकारी र फलफूलहरू लिएर आउनुभयो। दिदी वहाँ आउनुभन्दाअगाडि नै भान्सामा जानुभयो अनि त भान्साबाट क्षुधा-ग्रन्थिलाई जाग्रित गराउने बास्नाहरू आउन थाले। एकैछिनपछि वहाँले तात्तातो प्लेट ल्याएर राखिदिनुभयो जसमा खाने निमन्त्रणा समाहित थियो। प्लेटमा भएको एउटा खाद्यसामग्री उसले चिनेको थियो- हलुवा, अर्काको नाम दिदीले पनीरको पकौडा भन्नुभएको थियो। साँच्चै गजबको स्वाद थियो त्यसमा। यति खाइसकेर चिया दिइयो। रातीको खानामा घ्यू दलेको रोटी र दुई-तीन प्रकारका स्वादिष्ट सब्जीहरू थिए। राती पनि कतै अँध्यारो छजस्तो लागेकै थिएन। घरभित्रबाहिर उज्यालैउज्यालो थियो र सबै चीजहरू दिउँसो जत्तिकै देखिइरहेका थिए। गाउँमा त टिमटिमाउँदो दियाको क्षीण उज्यालोबाहेक सबै ठाउँ अन्धकारमात्र रहन्छ। उनलाई राम्रो निद्रा पर्यो..... यही सोचिरहे कि यो एउटै दुनियाँमा पनि यस्ता भिन्न संसार छन् र यहाँ बस्ने मान्छे पनि भिन्न छन्। बिहान शौचालय गएपछि फूर्ति अनुभव भयो उनलाई; गाउँमा त लोटा बोकेर कमसेकम तीन माइल त पैदल जानुपर्थ्यो। कोही बेला दिसाले च्यापेका बेलामा पनि नरोकी सुखै थिएन। आज उनले धुन पनि प्रशस्त पानी उपयोग गरे। एकलोटा पानीले दिसा धुँदा जहिले पनि थोरै हुने। उनले नुहाउँदा पनि त्यसै गरे। माथि सावर थियो। दैलो राम्ररी लगाएर सावर पूरै खोले। यसरी बन्दकोठामा नाङ्गै नुहाउने उनको यो पहिलो अवसर थियो। कताकता आफैँसँग लाज पनि लागिरहेको थियो। उनले पूरै जीउमा दुईपल्ट साबुन लगाए। थाहा थिएन आज कतिदिन पछि उनले साबुन छोएका थिए। कपडा लगाइसकेपछि दिदीले भन्नुभयो "खाजा ल्याउँदै छु खानू है !" वहाँले थाल र बटुकामा पुरी, सब्जी र खीर ल्याइदिनुभयो। दरबारी खाँदै थिए र उनलाई रोमाञ्च भइरहेको थियो। यो कस्तो सौभाग्य ! यहाँका मान्छे चारचार पल्ट खान्छन् त्यही पनि अलग-अलग खानेकुरा; जब कि उनलाई एउटै खालको रुखो खाना दिनको दुईपल्ट पनि जुर्दैनथ्यो। उनले सुनेका मात्र थिए समयअनुसार खानाको नाम पनि भिन्नाभिन्नै हुन्छ रे....... ब्रेकफास्ट, लन्च, स्न्याक्स, डिनर...... आज त्यही चरितार्थ भएको उनले देखे। खाजा खाएर स्टेसन जानलाग्दा दिदीले भन्नुभयो "खाना खाएर बाह्र बजेको प्यासेन्जरमा जाऊ। जेठाजु मासु लिन जानुभएको छ।" मासुको नाममा नै उनको मुखमा पानी आयो र उनीभित्र अधैर्यले बास गर्यो। आफ्ना घरमा मासु नखाएको कति महिना भएको थियो, थाहा छैन। उनी रोकिए र धीतमरुन्जेल मासुभात खाए। हिँड्न लाग्दा उनको हातमा पाँच रुपैयाँ दिएर दिदीले भन्नुभयो- "आइतवार-आइतवार आउने गर है दरबारी !" दिदीको त्यो स्नेहमयी र रागात्मक सम्भाषण-मुद्रा दरबारीको हृदयपटलमा अङ्कित भयो। अब प्रायः उनी प्रत्येक आइतवार आउन थाले। कहिले रातै बास बस्थे भने कहिले खाई-पिई सकेर त्यसै दिन फिर्थे। दिदी खुसी हुनुहुन्थ्यो। यसरी आउने-जाने गर्दा एक दिन उनले- दिदीका जेठाजुले आफूलाई आँखा तरेको थाहा पाए। उनका अनुहारमा रोष देखिन थालेको थियो। एक दिन दिदीले उनलाई एउटा थैलो दिँदै भन्नुभयो "यसलाई लिएर जाऊ मुन्ना, घरमा काम लाग्छ।" त्यस थैलामा प्रशस्त साबुन, तेल, विस्कुट, चनाचुर आदि राखिएका थिए। दिदीले सायद, आफ्नो भागबाट बचाएर राख्नुभएको थियो। आमाले यी सबै सामान देखेर भन्नुभएको थियो- "यो राम्रो गरिनस् तैँले। चेलीका घरबाट पनि कसैले केही लिन्छन् ? तेरो त बानी नै बिग्रिसक्यो, अलि सुधार् है आफूलाई।" दरबारी छक्कै परे। उनले त यी सब कुरा देखेर आमा खुसी हुनुहुन्छ जस्तो लागेको थियो। तर आमा थाहा छैन, कुन ढुङ्गाद्वारा बनिनुभएको थियो ! उनले देखे- साबुन र सर्फ हुँदाहुँदै पनि वहाँहरूले सोडा वा खरानीले लुगा धोइरहनु भयो र टाउकामा कालो माटो दलेरै नुहाइरहनुभयो। दरबारी एक्लै ती सबै सामानको उपयोग गर्दै रहे। इनारमा उनी जब साबुनले नुहाउँथे, मान्छे छक्क पर्दै हेर्थे; मानौँ त्यो साबुन चोरेर ल्याएको होस्। त्यसो त चोर्नु पनि दरबारीका लागि अब वर्जित काम थिएन। साहू महाजनबाट डेढा- सवाईमा लिएको ऋणको पनि भाका नाघ्थ्यो र कैयौँ दिनसम्म भोकले आन्द्रा बटारिन्थे। दरबारी ठूला जोताहाहरूका खेतबाट मकै, चना, आलु, सखरखण्ड, चिनियाँ बदाम आदि उखेलेर ल्याउँथे। आमा-बुबा उसको काम देखेर टाउको समाउनुहुन्थ्यो। वहाँहरू भोकै बस्नुहुन्थ्यो तर ती चीजहरूलाई कहिल्यै हात लाउनुहुन्नथ्यो। दरबारी आफैँ अफसोस पनि गर्थे; आफैँलाई सराप्थे र रोक्थे पनि तर उनी आमाबुबाको जस्तो भोक सहन सक्तैनथे। उनलाई त्यस बेला लाग्थ्यो, यस्तै स्थिति रहे कुनै दिन उनी खुङ्खार चोर वा डाँका अवश्य बन्नेछन्। उनले बुझेका थिए, भोकमरी र लाचारी नभए आफूले गलत काम कहिल्यै गर्ने थिएनन्। दिदीका घरमा जान थालेदेखि उनको यो गलत आदत केही सुध्रिन थालेको थियो। चोरी-चकारी भन्दा त उनलाई नवादा जानै ठीक लाग्थ्यो। एकदुई साँझ भरपेट खाएपछि पाँचछ दिन त त्यसै बितिजान्थे। तर दिदीका जेठाजुका कर्के नजरले अब यो पनि सजिलो कुरा थिएन। यसपल्ट दरबारी दिदीकहाँ जाँदा असमञ्जसबाहेक थुप्रै अड्चन र बाधाहरू आए। ट्रेन निकै लेट थियो र दिदीको घर पुग्दानपुग्दै गर्मीको घाम ज्वालाजस्तै भइसकेको थियो। आइतबार भएकाले होला सायद, दिदीलाई उनी आउने पूर्वाभास थियो। दिदी झ्यालबाट बाटातिर हेरिरहनुभएको थियो। उनलाई देख्नेवित्तिकै वहाँ घरबाट निस्केर बाहिर आउनुभयो र केही अगाडि नै उनलाई रोक्नुभयो। एउटा रूखको छायामा लगेर भन्नुभयो- "म तिम्रै बाटो हेर्दै थिएँ मुन्ना। तिम्रो आवत-जावतलाई लिएर जेठाजु निकै उल्टा-सीधा बोल्दै थिए। यही कुरालाई लिएर मसँग भनाभन पनि भएको छ। तिमी आज घरमा नआऊ। तिमीलाई पनि उनले केही भने भने मलाई सह्य हुनेछैन।" एकछिन दरबारीलाई लाग्यो कतै यो भुङ्तेलाई अघिल्लो पल्ट दिएको सामानको पत्तो त लागेन ? दिदीको विवशतालाई केहीबेर पढे दरबारीले र भने "ठीकै छ दिदी ! म फर्कन्छु यहीँबाट....... सुर्ता नगर्नुहोस्। तर मेरा कारणले आफ्ना जेठाजुसँगको सम्वन्ध नबिगार्नुहोस्। तपाईँले यिनीहरूसँगै बाँच्नुपर्छ। भिनाजु बुद्धिमान् र चतुर भए अर्कै कुरा हुन्थ्यो। तपाईँ जानुहोस्। म अगाडिको घरमा पानी मागेर पिएर जान्छु।" दिदीले भन्नुभयो "किन त्यहाँबाट, म आफ्नै घरबाट पानी लिएर आउँछु, कसैले देख्तैनन्; सबै सुतेका छन्।" दिदीले तुरुन्तै पानीमा चिनी घोलेर ल्याएर दिनुभयो। रूखको छायामुनि उभिएरै उनले पानी घटाघट पिए र खुट्टा चिस्याउन पानी खुट्टामा खन्याउन लागे। दिदीले देख्नुभो - तावाजस्तो तातो भुइँमा दरबारी नाङ्गो खुट्टाले हिँडेर आएका थिए र उनका पैँतालामा फोका उठेका थिए। भोकले के गराउँदैन र ? बिचरालाई यिनै खुट्टाले कोइलामा हिँड्दै फर्केर जानु पनि छ। दिदीलाई चस्स पोल्यो- मानौँ दरबारीका खुट्टाका फोकाहरू दिदीका हृदयमा सरेका छन्। अवरुद्ध गलाबाटै भन्नुभयो- "मुन्ना ! बाटैबाट फर्काएकामा माफी देऊ है। यस्तो गर्मीमा पिल्सिएर आइपुग्यौ; तर तिमीलाई एकछिन आराम गराउन पनि सकिनँ। कत्रो अपराध गरिरहेकी छु तिमीमाथि........ म मरेँ भने पनि मलाई हेर्न नआउनू है।" दरबारीले देखे, दिदीको अनुहारको भाव। त्यस बेलाको- 'आइतबार-आइतबार आउने गर है मुन्ना !' भन्दा यसबेलाको 'अब नआऊ है मुन्ना'मा धेरै सान्निध्य, अपनत्व र घनिष्टताका भावहरू छल्किएका छन्। दरबारीले पूरा आदरसाथ भने "हुन्छ दिदी ! अब म आउँदिनँ तर भगवान्का लागि यस्तो कुरा नगर्नुस्..........।" दिदीका आँखाबाट तपतप आसुँ चुहिन थाल्यो। एउटा अपराधबोधले दरबारीको हृदयमा हाहाकार मच्चियो। "तपाईँ रुँदै हुनुहुन्छ दिदी......... मैले तपाईँलाई रुवाएँ ......... दोषी त म हुँ ......... नरुनु दिदी ....... साँच्चै तपाईँको भाइ कतिसारो पेटू भएको दिदी, तपाईँको इज्जतको वास्तै नगरी खान आएकोआएकै गर्छ। तपाईँका जेठाजुको आपत्ति मनासिव छ दिदी।" दिदीले उनको टाउको मुसार्दै भन्नुभयो "म कति लाचार छु मुन्ना ! आफ्ना घरमा खाने छुट पनि म दिन सक्दिनँ। साँच्चै मेरो भाइ ! मलाई विधाताले सामर्थ्यवान् र आत्मनिर्भर बनाइदिए; म मेरो पूरै जिन्दगी तिमीले खाएको हेरेर गुजार्छु। साँच्चै दरबारी ! तिमीले खाँदै गरेको मलाई साह्रै राम्रो लाग्छ .......... तिमीले खाँदा लाग्छ, मानौँ अन्न वास्तवमै पुजित र प्रतिष्ठित भएको छ।" दिदीका गोडा छोएर दरबारी फोकैफोका भएका खुट्टाले पैदल फर्किए। दिदीले उनका गोजीमा दस रुपैयाँ हालेर भन्नुभयो "कुनै दोकानमा केही खानू ल ....... अनि सुन दरबारी, यो भोकलाई पछार्नु छ भने पढाइमा कहिल्यै कन्जुसी नगर्नू।" त्यसपछि खाने आशा बोकेर दरबारी कहिल्यै दिदीकहाँ गएनन्। लगभग एक वर्षपछि दिदीलाई भेट्न गए तर एउटा खास उद्देश्य लिएर। पुग्नेवित्तिकै उनले भने "दिदी ! म खान आएको होइनँ। तपाईँलाई भेट्न आएको र तुरुन्त फर्किहाल्छु। तपाईँ भन्नुहुन्थ्यो पढाइ ठीकसँग गर्नू, 'म राम्ररी पढ्दै छु' भनेर देखाउन आएको र मेट्रिक पास गरेँ ....... हेर्नुस्, यो मार्कसिट।" दिदीले अलिकति विस्मय, अलिकति हर्ष र केही गर्वले हेरिरहनु भयो। दरबारीले फनक्क फर्केर भने- "ल त दिदी जान्छु है।" "दरबारी !" राग दरबारीकै सुरमा दिदीले बोलाउनुभयो। दौडेर उनको हातबाट मार्कसिट लिनुभयो र एउटा दृष्टि कुलयोगमा लगाउँनुभयो फेरि उसको सोझोपनमा मुग्ध हुँदै, अँगालामा बाँध्नुभयो र भन्नुभयो- "तिमीले यति राम्रो खबर सुनाएका छौ। तिम्रो मुख मीठो नपारी जान दिऊँ ? यति ठूलो अपराध गराउँछौ आफ्नी दिदीबाट ?" "त्यसोभए यसो गर्नुस् दिदी ! छिट्टै एक चम्चा चिनी लिएर आउनुहोस्; फेरि तपाईँका जेठाजुले देखे भने ?" "देख्न देऊ, आज म कसैसित डराउन्न। आज तिमी बिजेता बनेर आएका छौ। हो दरबारी ! भोकमा तिमीले एक चौथाई विजय त गरिसक्या छौ। दिदीले उनलाई बसाएर जे जस्तो घरमा उपलब्ध थियो, खुवाउन थाल्नुभयो। दरबारीले भुङ्तेको यो क्वार्टरमा फेरि कहिल्यै नखाने निधो गरेका थिए। तर दिदीको स्नेहअगाडि उनको निश्चय कहाँ टिक्यो र ? सबै बिर्से उनले ........ आखिर भोक त उनलाई लागेकै थियो। उनले खाँदै गर्दा दिदीका जेठाजु प्रकट भए। उनीसँग दरबारीकै उमेरको एउटा केटो थियो, दिदीको कान्छो देवर। पहिले त दरबारी तर्से, लाग्यो- गाँस गलामै अड्किन्छ होला। तर आज उनका आँखामा गर्जन थिएन। राम्रो मुडमा देखिन्थे। आरामसँग बसेर उनले दरबारीलाई सम्बोधन गरे, "यसलाई चिन्छौ ? यो मेरो कान्छो भाइ हो........ यसले मेट्रिक परीक्षा दिएको थियो ....... सेकेन्ड डिभिजन पास गरेको छ। एउटा छौ तिमी, एक नम्बरका पेटू....... साला ! खाली खानैको चक्करमा रहन्छौ ....... आवारागिरी गर्छौ। पढाइ-लेखाइ गरेर पनि के फाइदा ....... मेहनत नगरी पास त गर्ने हैन। मेरो यो भाइलाई हेर र शरम मान ........। दरबारीले बचेको खाना छिटोछिटो खाए। हात धोएर निकैबेर त्यत्तिकै बसिरहे। मनमा यही विचार गरिरहे कि यो मान्छेलाई मार्कसिट देखाऊँ कि त्यसै भ्रममा रहन दिऊँ। दिदीले जेठाजुको भाषण भित्रैबाट सुनिसक्नुभएको थियो। दरबारीले जबाफ नदिएको देखेर दैलामा आएर भन्नुभयो "मुन्ना, दाजुलाई आफ्नो अङ्कपत्र देखाऊ त।" दरबारीले अङ्कपत्र गोजीबाट झिकेर देखाइदिए। जेठाजुका आँखाहरू आश्चर्यले विस्फारित भए। दरबारीले सेकेन्ड डिभिजन नभएर फर्स्ट डिभिजनमा पास गरेका थिए..... फर्स्ट डिभिजन मात्र नभएर हाइ फर्स्ट डिभिजनमा। उनलाई अपार खुसी लाग्यो....... दरबारीलाई देखेर उनलाई पहिलोपटक यति खुसी लागेको थियो। भने "अरे तिमीले त कमाल गर्यौ, म त तिमीलाई एक नम्बरको बेकामे र पेटू सम्झिन्थेँ। ....... तर तिमी त एकदम तेजिला निक्ल्यौ।" उनले गोजीबाट बीस रुपैयाँ निकाले र आफ्ना भाइलाई दिँदै भने "जाऊ सरस्वती टाकिजमा दरबारीसँग सिनेमा हेर्नू र मिठाइ खानू।" पहिले त दरबारीलाई आफूलाई गरिब सम्झेर सराप्ने-धिक्कार्ने अनि अन्डरएस्टिमेट गर्ने अहम् मान्छेको अफर अस्वीकार गरूँजस्तो लाग्यो, तर सिनेमा हेर्ने उनको चिरसञ्चित आ& |