Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

प्रथम पृष्ठ ( Home )

पराजित क्षण

 

 

उनी उठिन्। आफ्ना लुगा मिलाइन् र दैलो खोलेर बाहिर निस्किन्। म त्यसैगरी  पल्टिइरहेँ। कोठा बाहिरको बरन्डामा मैले उसको आवाज सुनेँ "ट्याक्सी !"

मैले कुनै ट्याक्सी पोर्टिकोमा रोकिएको, ट्याक्सीको दैलो खुलेको, बन्द भएको, फेरि स्टार्ट भएको र हिँडेको आवाज पनि सुनेँ; तर म आफू न त हल्लिएँ न त उठेँ नै।

त्यस समय सायद मेरो दिमाग जाम भएको थियो क्यारे। या सायद भित्रको समस्त चेतना केही क्षणका लागि पङ्गु भएको थियो। कोठाबाहिर या भित्र जे भइरहेको थियो ती सब कुरा मेरा आँखाले देखेर पनि देखेका थिएनन्। कानले सुनेर पनि सुनेका थिएनन्। अचम्मको बेहोसीमा थिएँ  म।

धेरैबेरपछि त्यो मेरो बेहोसी टुट्यो र थाहा पाएँ उनी गइसकिछन्। कोठामा उनको सासको गन्ध अझै मगमगाइरहेको थियो। उनको लिपस्टिकको चिन्ह मेरो सेतो सर्टमा चम्किरहेको थियो, तर स्वयम् उनी त्यहाँ उपस्थित थिइनन्।

मस्तिष्कलाई जोड दिएर सोच्ने प्रयास गर्न लागेँ- कसरी उठेर गइन् उनी ? किन गइन् ? यसै गरी जानु थियो भने किन आइन् ?

बेलुका उनको फोन आउँदा म झन्डै तर्सिएको थिएँ। आठ वर्षपछि मैले त्यही रिसिभर झुन्ड्याएर सुनाएको पुरानो 'हेलो' सुनेको थिएँ। एकदम चिनेको पनि थिएँ आशाकै आवाज थियो। तैपनि अविश्वासवश मेरा मुखबाट निस्किइहाल्यो "को ?"

"अच्छा जी, अब म को भएँ ?"

अब कुनै सन्देह, शङ्का र अविश्वास थिएन।

"अरे, तपाईँ कहिले आउनुभयो ?"

"ग्रामेटिकल्ली रङ, 'आउनुभयो' होइन 'आइस्' भन्नुहोस् हजरत।" चञ्चलता र सौखको तरिका ठ्याक्कै त्यस्तै थियो जस्तो पच्चीस वर्षपहिले हुने गर्थ्यो।

"ए, हो त।" आफूलाई नियन्त्रित गर्दै मैले भनेँ।

मेरो टेलिफोन ड्रइङरुममा थियो; जसको छेउमा कोठालाई डाइनिङ रुम भने पनि त्यसलाई हामीले लिभिङ रुमका रूपमा प्रयोग गरिरहेका थियौँ। त्यही छेउको लिभिङ कम डाइनिङ रुममा मेरी पत्‍नी, तरुनी छोरी र कलेजमा पढ्दै गरेको छोरो बसिरहेका थिए; त्यसैले फोनमा उनले देखाएको सौखिनतामा मैले त्यहाँ बसेर वाहवाह गर्न सम्भव थिएन। सायद उनले मेरो स्थिति अनुमान गरेर होला कुरा सक्दै भनिन्- "फोनमा कुरा हुन सम्भव छैन होला सायद। म  एक दिनमात्रका लागि आएकी। भोलि बिहानैको ट्रेनबाट मलाई फर्किनु छ। म तिमीलाई भेट्न चाहन्छु।"

उनले भन्नुभन्दा पहिले नै मेरो दिमागले सोचिसकेको थियो कि भेट त हुनैपर्छ, र हुन्छ पनि। त्यसैले द्रुतगतिमा काम गरिरहेको मेरो मस्तिष्कले समस्याको समाधान निकालिहाल्यो।

"यसो गरौं न ! म आठ बजे आबसार पुग्छु, तपाईँ पनि त्यहीँ आउनुहोस्। डिस्कस गरौँ र फाइनल सेप दिऔँ।"

"............. " उताको मौनताले यतातिर मेरो परिवारको उपस्थिति थाहा पाइसकेको थियो।

"आबसार थाहा छ होला नि तपाईँलाई; गोपीनाथ मार्गमा भएको प्राइभेट गेस्टहाउस क्या ! एकपल्ट गएका थियौँ नि तपाईँ र म ?"

"म पुग्दै छु, ठीक आठ बजे।"

मैले फोन राख्‍नेबित्तिकै पत्‍नीले सोधिन् "कसको फोन थियो ?"

"कोलकाताबाट शिशिरबाबू आउनुभएको छ। भोलि बिहानको पहिलो ट्रेनबाट फर्कँदै हुनुहुन्छ। मैले वहाँलाई कोलकातामा कम्पनीको ब्रान्च खोल्नलाई भनेको थिएँ। त्यसैको प्लान डिस्कस गर्न खोज्नुभएको छ।"

"घरैमा आउँदै हुनुहुन्छ त ?"

"होइन, गेस्टहाउसमा; मैले त्यहाँ जानुपर्छ।"

"अहिल्यै ?"

"अँ" जुत्ताका खुकुलिएका लेस फेरि बाँध्दै भनेँ मैले।

"कश्यपसाहेबको डिनर चाहिँ ?"

"तिमी छोराछोरी लिएर जाऊ, मेरो तर्फबाट माफी माग्नू।"

"वहाँले नराम्रो मान्नुहुन्छ।"

"अब तिमीले नै सम्झाइदेऊ न। कम्पनीको ब्रान्च खोल्न कति दिनदेखि लागेका छौँ उहाँको पछि हामी। चिठीले मात्रै केही हल भएको छैन। मुखामुख कुरा भएपछि मात्रै केही निर्णयमा पुग्न सकिएला।" श्रीमती चुप लागिन्।

"गाडी घरमै छाडेर जाँदैछु। तिमीहरूले लिएर जानू।"

"तपाईँ कसरी जानुहुन्छ ?"

"म बसमा जान्छु।"

"कम्पनीको ब्रान्चसम्बन्धी कुरा गर्नलाई बसबाट जान ठीक हुन्छ र ? तपाईँ नै गाडी लिएर जानुहोस्; हामी ट्याक्सीमा जान्छौँ।

"लौ न त, म ट्याक्सी लिन्छु; तिमीहरू गाडी लैजाऊ। कश्यपका घरछेउछाउमा तिमीहरूले फर्किनलाई ट्याक्सी भेट्दैनौ।"

त्यसपछि साढेसात बजे म यहाँ आइपुगेको थिएँ। कोठा लिएर बसिरहेको थिएँ। प्रतीक्षा गरिरहेको थिएँ आशाको। एकएक पल बोझिल भइरहेको थियो तर भित्रबाट उठेको उत्साहले भित्रको बोझलाई महसुस हुन दिइरहेको थिएन।

उनी सवा आठबजे आइन्। उनी कोठामा पस्नेबित्तिकै मैले उनलाई अँगालामा बाँधेँ। कति मादक थियो त्यो आलिङ्गन, वर्षौदेखि छुट्टिएका दुइटा शरीरहरूको स्पर्श।

"चिया चल्छ ?"

"चल्छ।"

इन्टरकमबाट दुईवटा चियाको अर्डर दिएँ मैले। चिया पिउँदा हामी आमने-सामने हुने गरी कुर्सीमा बसेका थियौँ। मैले उनका शरीरमा बुढ्यौलीका चिन्हहरू उम्रन लागेको देखेँ। उनको आँखामुनि हलुका कालोपन छाइसकेको थियो। प्रशस्त मेकअपले पनि चाउरी पर्न तयार परेको छालाको वास्तविकता लुक्न सकिरहेको थिएन। तर आज पनि उनी त्यत्तिकै आकर्षक थिइन् जति पच्चीस वर्षपहिले हुने गर्थिन्। अहिले पनि मेरो मनचाहिँ चियाको कप भित्तामा बजारेर उनका सारा रसहरू एकैसाथ पिउँलाजस्तोगरी उत्ताउलिरहेको थियो। तर शिष्टताको जुन आवरणले शरीर ढाकेको छ त्यसलाई तुरुन्त उक्काएर फ्याँक्न पनि सम्भव थिएन।

"कहिले आयौ ?"

"कहाँ ?"

"यहाँ।"

"भर्खर त आउँदै छु।"

"यहाँ भनेको नूरपुरमा।"

"आज बिहान आएकी थिएँ। वर्माजीका एकजना साथी बितेछन्। त्यसबेला हामी विदेश गएका थियौँ। वर्माजी त अझै पेरिसमै हुनुहुन्छ; त्यसैले दुःख मनाउन मैले नै आउनुपर्‍यो।"

"त्यसो भए भोलि बिहानै फर्कने किन हतार ?"

"भोलि मेरी छोरीको एडमिसन छ कलेजमा।"

"त्यति ठूली भैसकी ?"

"अँ, दिन बित्न के बेर लाग्छ र ? यो अगस्टमा एक्काइस् पूरा गरी।

चिया पिएर म उठेँ र दैलाको छेस्किनी लगाइदिएँ। उनले छक्क परेर छेस्किनी लगाएको हेरिरहिन् तर केही भनिनन्। दैलाबाट गएर म डबल बेडमा ढल्किएँ। दुवै हात फैलाएर उनलाई छेउमा आउने निम्तो दिएँ। उनीले आफ्नो पर्स चियाको टेबलमा राखेर मेरो छेउमा आएर बसिन्।

मेरो धैर्यको बाँध टुट्यो। कसेर उनलाई आफूमाथि लडाएँ; मेरा हातहरू उनका शरीरमा दौडन लागे। मेरो कसिलो बन्धनबाट उम्कने कोसिसमा उनको अनुहार रातो भयो। विस्मय र घबराहट, कुनै अनिष्टको आशङ्कामाझ म उनीमाथि खनिएँ। सायद यो उनका लागि अप्रत्याशित थियो र उनी यसका लागि तयार थिइनन्।

"गोपाल, प्लिज ! प्लिज ! म एकदम अनइजी फिल गरिरहेकी छु। एक मिनट त हट, प्लिज।"

शिष्टताको आवरणलाई धुजाधुजा हुनबाट बचाउनलाई कृतसङ्कल्प, मध्यम वर्गको प्रतिनिधि म, उसको आवाजमा निहित याचनालाई अवहेलना गर्न सकिनँ। एकाएक बढेको मेरो सास अचानक साधारण गतिमा फर्कियो र मेरो अँगालोले उनलाई मुक्त गरिदियो। उठेर भागिनन् उनी। डबल बेडबाट उत्रेर कुर्सीमा पनि गइनन् उनी; मेरै छेउमा त्यहीँ बसेर आफ्ना कपडाहरू मिलाइन्। टाउकामा आएका कपालहरूलाई पछाडि फर्काइन्; कानमाथि अड्काइन् र भनिन् "कस्तो कामुकता हो यो ?" म चुप लागेँ।

"म जतिपल्ट नूरपुर आएकी छु, त्यतिपल्ट हामीले आफ्ना लागि केही न केही समय चोरेका छौँ। यसैगरी कहीँ एकान्तमा बसेर सँगै चिया पिएका छौँ। आज के भयो तिमीलाई; यस्तो त तिमीले कहिल्यै गरेनौ ? मैले त तिमीले मलाई समेत बलात्कार गर्छौ भनेर कहिल्यै सोचिनँ।"

"बलात्कार त अझै पनि गर्दिनँ, आशा !"

"त्यसो हो भने यो तिम्रो सास अचानक बढ्नु, तिम्रा हातमाथि तिम्रै नियन्त्रण नहुनु, यसले के जनाउँछ ?"

"म भन्छु" उठेर बसेँ म पनि। "आशा, यो मैले जे गर्दै थिएँ वा गर्न चाहेको थिएँ, त्यो सब हामी पच्चीस वर्षअघि पनि गर्न सक्तथ्यौँ। त्यसबेला सायद यो सब गर्नुभन्दा आफूलाई संयमित राख्‍न धेरै गाह्रो थियो। त्यसबेला हामीले केही गरेनौँ; किनभने म चाहन्थेँ- तिम्रो विवाहित जीवन कुनै 'गिल्ट'को सिकार नहोस्। हाम्रो विवाह हुननसक्ने कुरा हामी दुवैलाई थाहा थियो र अलग-अलग जीवन बिताउने कुरालाई हामीले नियति मानेका थियौँ। बिहेपछि पनि हाम्रो मित्रता कायम रह्यो; यो त तिम्रो खुबी हो, नत्रभने मैले त त्यसै दिन तिमीलाई गुमाइसकेको थिएँ; जुन दिन तिम्रो वर्मासँग बिहे भएको थियो।"

उनीले एकटक मतिर हेरिरहिन्। "वर्माको के अधिकार थियो तिमीमा, ऊ तिम्रा बुबाको खोज थियो त्यति नै हैन त ? उसले मैलेजस्तो मरेर तिमीलाई चाहेको थिएन। मेरो जस्तो अगाध माया गरेको थिएन; मेरो जस्तो ऊ तिम्रो दुःख-सुखमा सामेल थिएन। फेरि पनि उसले तिमीलाई मबाट खोसेर लग्यो। मैले तिम्रो यो शरीरलाई, जुन ती दिनमा जवानीको वेगले परिपूर्ण थियो, उसका लागि नछोई राखेको त थिइनँ; तर जुठो यसकारण पारेको थिइनँ कि पवित्रताको संस्कार जुन तिम्रो रगतमा थियो त्यो मैलो नहोस् र विवाहित जीवन ग्लानिको आगामा नपिल्सिइरहोस्।"

"म जान्दछु गोपाल ! यसको कदर पनि गर्छु; त्यसैले त बिहे भएपछि पनि तिमीसँग भेट्न आतुर रहन्छु। बिहेपछि तिमीले मलाई जहाँ बोलायौ, त्यहाँ म निसङ्कोच आएँ। तिमीबाट मलाई कुनै खतरा भएन। आज पनि छैन। तर आज जुन कामुकता तिम्रो अनुहारमा देखियो नि; त्यसले म भयभीतभन्दा पनि बढी विस्मित छु।"

"कामुकता त घटिया शब्द हो आशा। तर सायद यसको अर्को पर्याय पनि छैन। म कहिल्यै सेक्स-स्टार्भ्ड थिइनँ। दुई जवान छोराछोरीको बाबु, आफ्नी पत्‍नीसँग सम्पूर्णरूपमा सन्तुष्ट व्यक्ति सेक्स्-स्टार्भ्ड हुनै सक्तैन। म पनि छुइनँ। तर हामीले हाम्रो सम्बन्धमा कतै न कतै एउटा रेखा त कोर्नुपर्छ। वर्मालाई मैले पच्चीस वर्ष तिम्रो शरीरको भोग गर्न दिएँ। तिमीले उसलाई जति सुख दिनुथियो, दियौ। उसलाई सन्तान दियौ, घर-गृहस्थी सम्हाल्यौ। मैले पच्चीस वर्षपहिले जुन इच्छा दबाएको थिएँ; त्यसलाई मार्न यी पच्चीस वर्षहरू पनि असमर्थ रहेका छन्। यत्रो लामो समयले पनि त्यसको घाँटी दबाउन सकिरहेको छैन। जबजब तिमी मेरा छेउमा हुन्छ्यौ; पराजयको भावनाले मलाई पिरोल्छ। त्यसैले हरेकपल्ट एकान्त खोजेर, तिम्रो शरीरलाई छोएर महसुस गर्न खोजिरहन्छु, म्यानेज गर्छु।"

"तर यो ग्लानि त अब अझ धेरै असह्य हुने भयो नि।"

"के कुराको ग्लानि ? पति वर्मालाई पच्चीस वर्षसम्म सबै थोक दिइसक्यौ। मित्र गोपाललाई उसको अधिकारबाट बन्चित भएको सजाय पनि पच्चीस वर्षसम्म प्राप्त भइरह्यो। कतै त यो सजायको अन्त्य हुनु पर्‍यो नि।"

"हुन्न ! गोपाल हुन्न !! तिम्रो जुन रूपको म कल्पना पनि गर्न सक्दिनँ, त्यस रूपलाई देखेर म कति घायल हुन्छु, कति छियाछिया हुन्छु; त्यसको अनुमान त गर।"

फेरि उफ्रेर च्यापेँ मैले आशालाई। मेरो सासको गर्मी फेरि देखिन थाल्यो। मेरा हातहरू त्यसै गरी चञ्चल भए तर त्यसैबेला उनले प्रार्थना गर्दै भनिन् "एक मिनट प्लिज, मात्र एक मिनट; म बाथरुम गएर त आऊँ।"

उनी उठिन्, दैलो खोलिन् र बाहिर निस्किइन्। शरीरको बढेको आवेग भए तापनि मेरो मस्तिष्कले दिवानापनको हद छुन पाएन। तत्काल उनका पछाडि कुद्‌ने निर्णय गरिनँ र उठेर कुर्सीमा पछारिएँ।

बाहिर उनले ट्याक्सी बोलाएको, ट्याक्सी आएको, गएको आवाज सुनिरहेँ र थाहा छैन कुन आवाजको प्रतीक्षामा अझैसम्म यहीँ बसिरहेको छु।

          ***

 

 


प्रथम पृष्ठ ( Home )