Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

प्रथम पृष्ठ ( Home )

नरकको आगो

 

 

यहाँ पनि नरेशले मलाई मा दियो। ...... के मेरो जन्म यतिका लागि भएको हो कि म पाइला-पाइलामा नरेशबाट माथ खाइरहूँ - नरेशसँग कस्तो सम्बन्ध हो मेरो - बुझ्न सकेको छैन। जब नरेश दुःखी हुन्छ..... म पनि हुन्छु ...... किन हुन्छु ? ...... र जीवनको हरेक क्षेत्रमा म उसबाट परास्त छु अभिशप्त छु। अब त लाग्न थालेको छ- नरेश बालि हो र म सुग्रीब ! ऊ छेउमा आउनेबित्तिकै मेरो आधा व्यक्तित्व उतिरै तानिन्छ र म ....... अधूरो झैँ हुन्छु।

मलाई हरेक काममा नरेशको आवश्यकता परिरहन्थ्यो..... आज पनि परिरहन्छ; तर नरेशलाई मेरो आवश्यकता कहिल्यै नहुनुचाहिँ विडम्बना नै हो। ऊ आफैँमा सम्पूर्ण व्यक्ति हो; जीवनका हरेक कामहरू सोचेर बुद्धि पुर्‍याएर गर्छ। उसका अगाडि त मलाई सजिलै जसले पनि बुद्धिहीन घोषणा गर्न हिचकिचाउँदैन।

नरेशको रूखोपन। हिउँजस्तो शीतल व्यवहार। ..... उसलाई क्यालकुलेटर मात्रै पनि त भन्न सकिन्न। ऊ संवेदनशील छ र त लेखक छ। तथापि उसको लेखनी पनि यति संयमित र साधिएको हुन्छ कि तिनमा भावनाको समुद्रजस्तो कुनै वस्तु देखिन्न। उसका रचनाहरूमा भावनाहरू त्यति मात्रै हुन्छन् जति विषय-अनुकूल हुनुपर्ने हो।

एक प्रकारले सोच्दा नरेश मेरो हो नै को र ? फेरि उसले मेरा लागि जे गर्‍यो...... किन गर्‍यो ? उसको मजबुरी  के थियो ? कुनै बोझ वा दबाब ? यस्तो केही त थिएन। आजसम्म मेरा लागि जे गरेको छ, त्यो सब किन ?  मसीहा  बन्न चाहन्छ ? के सम्झिन्छ आफूलाई ?

फेरि मजस्ता मूर्ख साथीहरू पनि त भेटिन्छन्। भावनाका समुद्रमा गोता लगाउँदै र .... सहायताका लागि पुकार्दै। ....... ऊ आफैँ 'तटरक्षक' बन्ने कोसिस गर्दैन। मैले नै उसलाई कैयौँपटक मसँग डाह गर्छस्, ईर्ष्या गर्छस्' भन्ने आरोप लगाइसकेको छु। तर ऊ मसँग किन ईर्ष्या या स्पर्धा गर्छ ? आखिर 'मसँग के छ जो नरेशसँग छैन ? अँ, कुनै समय थियो जतिबेला मसँग 'बोबी-फिल्म' जस्तो मोटरसाइकल थियो। अनि नरेशसँग एउटा पुरानो साइकल थियो। बस एउटा साइकल। तर फटाहाले एकैपल्ट पनि मेरो 'मोटरसाइकल' तिर लोभी नजर लगाएन। उल्टा मैले नै उसतिर कातर दृष्टिले हेर्नुपर्थ्यो।

"राजेश, तिमीले कहिल्यै सोचेका छौ कि तिमीसँग यो 'मोटरसाकल' कति वर्षदेखि छ ? र ..... र यो मसिन चलाउन मलाई आजसम्म आएन। यदि यो 'मोटरसाइकल' मसँग हुन्थ्यो भने -तिमीले एक महिनामै चलाउन सिकिसकेका हुन्थ्यौ, तिमीलाई एक महिना मै चलाउन आइसकेको हुन्थ्यो। त्यसमाथि मेरो 'मोटरसाइकल' तिमी चलाइरहेका हुन्थ्यौ र म पछाडि बसेको हुन्थेँ। ठीक होइन त ?"

नरेशले एकैछिनमा मलाई कति सानो बनायो। साँच्चै त हो। नरेशका जे थिए, ती उसका किताबहरू, उसको टेपरेकर्डर, पर्स र पर्समा राखेका पैसा थिए। ती सबैमा म कति सजिलै हक जमाउँथेँ। सोच्ने कोसिस गर्दै छु, मेरो कुनै चीजको उपयोग नरेशले गरेको होस् तर सम्झना छैन। अहिले चालीसको भएँ, कसरी यति छिटै मेरो स्मृति कमजोर भयो ?

कमजोरी यो बेला मेरो नसानसामा छाएको छ। एकपल्ट फेरि मैले नरेशको कुरा मानिनँ। मलाई उसले तोताराम अङ्कलको चक्करमा नफस्नू भनेर लाख सम्झाएको थियो। उनलाई देख्‍नेबित्तिकै उसले राम्ररी चिनिहाल्यो - "राजेश ! नराम्रो नमान् है...... तेरा यी अङ्कल तोताराम छन् नि, यी सुगा थोर गिद्ध धेरजस्ता लागिरहेछन्। मैले भन्या मान् साथी यिनबाट जोगिई। तेरा छेउमा त आफ्नै बन्छन् तर अरूका अगाडि तेरो चिहान खन्न बेर लगाउँदैनन्। यिनलाई कहिल्यै विश्वास नगर्नू साथी ! ....... यिनले तेरो बिग्रँदो घरलाई बचाउन त बचाउँदैनन् नै, त्यसलाई ठीकसँग भत्किन पनि दिँदैनन्।"

मानिनँ नरेशको कुरा। जानीजानी मानिनँ र सुम्पिदिएँ आफ्नो नौका तोतारामलाई। ...... पुलिस 'लकअप'मा ल्याएर बसाए उनले। नरेशले त "म त भन्दै थिएँ नि" समेत भनेन। उसले यस्ता शब्दहरू कहिल्यै भनेन र मलाई पनि भन्ने मौका नै दिएन।

नरेशका बारेमा मलाई सधैँ एउटा ऊहापोहजस्तो भइरहन्छ। मैले आजसम्म यो निधो गर्न सकेको छैन, नरेश आफ्नो हो कि पराया ? ऊ मेरा काम सबै गरिदिन्छ र पनि मलाई उसले मलाई नै ध्वस्त पार्न भित्रभित्रै चाल चलेजस्तो किन लाग्छ ?

हाम्रो पहिलो भेटमा नै कसरी नरेश मेरो 'बोस' भएको थियो र म उसका प्रत्येक कुरा बिनाप्रतिरोध मान्न विवश थिएँ। जसरी कर्ण जन्मदै कवचकुन्डल लिएर जन्मेको थियो, त्यसैगरी नरेश पनि सायद आफूभित्र चुम्बक लिएर जन्मेको थियो। उससँग जसको भेट हुन्थ्यो, उसैतिर तानिन्थ्यो।

हाम्रा कक्षामा दुईजना त केटीहरू थिए। गर्मीले पिल्सिएको 'क्लासरुम'मा शीतल पवनको झोँका। ज्योति र तिलोत्तमा ....... दुईजनामै होड लागिरहन्थ्यो नरेशसँग को बस्ने भनेर। तिलोत्तमा प्रायः 'क्लास'मा ढिलो आउँथी, त्यसबेला सम्ममा ज्योति नरेशसँग टाँसिइसकेकी हुन्थी 'फेविकोल'झैँ। तिलोत्तमा बडबडाइरहन्थी। ज्योतिले आफ्ना घरबाट पन्जाबी खाना ल्याउँथी भने तिलोत्तमाले बङ्गाली। नरेश दुईखाले खानाको मजा लुट्थ्यो। मजा पनि दुईजनासँगै लुट्थ्यो होला। लाख सोध्दा पनि कहिल्यै केही भन्दैनथ्यो।

म यदि कुनै कन्यासँग केही क्षण बिताएर आउँथे, पूरा विवरण दिन्थेँ। ती कन्याको इतिहास र भूगोलको पूरा रहस्य उसको अगाडि खोलिदिन्थेँ। तर यो 'गुरु घन्टाल' लाख सोधे पनि हाँसेरै टार्थ्यो। आफ्ना दुइटी प्रेमिकाहरूबीचको ठाकठुक कसरी टार्थ्यो कुन्नि ?

एक दिन गम्भीरता ओडेर मैले उसलाई सोधेँ "साँचो भन् त नरेश तँ यी मध्ये बिहे कोसँग गर्छस् ?"

"कोमध्ये ?" नरेशले एकपल्ट फेरि अनुहारमा सोझोपन देखायो।

"यिनै दुइटीको कुरा क्या ? ज्योति र तिलोत्तमा।"

"ए यी दुअटी !"

"अँ अँ, यिनै दुइटी। यिनीहरूकै बारेमा सोधिरहेको छु। यीमध्ये कोसँग अलि सिरियस छस् ?"

"म दुवैसँग सिरियस छु तर बिहे कुनैसँग पनि गर्दिनँ।"

"यसको मतलब के भयो ?"

"राजेश, कुनै केटीसँग कुरा गर्नुको अर्थ उससँग बिहे गर्नुपर्छ भन्ने त होइन। तँ आफ्नो गाउँले मानसिकताबाट कहिले बाहिर निस्कन्छस् ?"

"त्यसोभए तँ उनीहरूका लागि यो सब किन गरिरहेको छस् ? र तिनीहरू तेरा बारेमा किन झगडा गरिरहन्छन् ?" मैले छाडिनँ।

"यो कुरा उनीहरूसँगै सोध् न। उनीहरू एकआपसमा झगडा गर्छन् भने, यसमा मेरो के दोष ? फेरि काम त म तेरो पनि धेरै गर्छु, यसको अर्थ....... तँसित पनि बिहे गर्नु मैले ?"

एकपल्ट फेरि मलाई बुद्धू बनायो। जनायो मेरा लागि केकति गर्छु भनेर। के म उससँग मगन्तेजस्तो माग्छु ? मेरो काम गर्दे भन्छु ?

नरेशसँग जीवनका धेरै सम्झनाहरू जोडिएका छन्। विश्वविद्यालय, पढाइ, बदमासी, स्टेज सो, बस्ने घर। कति कुरा सम्झूँ ! प्रत्येक सम्झनामा नरेश कहीँ न कहीँ जोडिएकै छ। पहिलोपल्ट नरेशलाई विश्वविद्यालयमा भेटेका बेला म डेरा खोज्दै थिएँ। कुरैकुरामा हामी दुईजनै बैङ्कमा जागिर गर्छौँ भन्ने कुरा पत्ता लाग्यो। जागिर एउटै बैङ्कका नाम फरक। नामले के फरक पार्‍यो र, काम त्यही हो, एउटै। पढाइ त ऊ पनि सन्ध्याकालीन कक्षामा गर्दै छ, मजस्तै। फेरि फरक कहाँ छ ? तर अलिकति फरक त त्यहीँ देखियो। मलाई त पहिलो सेमेस्टरमा कुनकुन पेपर छन् भन्ने कुरा नै थाहा थिएन, तर नरेश पेपरका पुस्तकहरू र लेखकहरूको सूची कण्ठै सुनाइरहेको थियो।

यतिमात्रै त फरक थिएन। मसँग मोटरसाइकल थियो। नरेशले यस्ता चिजका बारेमा सोच्न पनि सक्तैनथ्यो। फेरि त्यही मोटरसाइकलले साइलेन्सरबाट निस्केको धुवाँले जस्तो मेरो मुख किन कालो बनायो ? मलाई राम्ररी याद छ, कसरी बिर्सन सक्छु र ? त्यसदिन नरेशले साइकल ल्याएको थिएन। पक्कै अब उसले मसँगै घर जानु पर्यो मेरो मोटरसाइकलमा। उसले उसकी एउटी आन्टीकहाँ मलाई पेइङ गेस्ट राखिदियो। एउटा अर्को उपकार। क्लासमा ज्योति र नरेशका बीचमा के कानेखुसी भयो कुन्नि आफ्नो चिरपरिचित भङ्गिमा लिएर मेरा छेउमा आयो, "राजेस ! यार, ज्योतिलाई बसस्टपसम्म पुर्‍याइदिऔँ  ल।"

मेरो दिमागको 'फ्यूज'नै उड्यो। मोटरसाइकल चाहिँ मेरो तर सहायताको अनुरोध चाहिँ ज्योतिले नरेशसँग गरी। फेरि सोचेँ- ठीकै छ, पुर्याइदिऊँ न त। युनिभर्सिटीबाट बसस्टपसम्म पुग्न करीब पाँचसात मिनट त लागिहाल्थ्यो। मोटरसाइकलमा तीनजना बस्दा ज्योतिले मसँग टाँसिएर बस्नुपर्थ्यो। उसका उठेका छातीहरूको स्पर्शको कल्पनाले मेरो जीउमा तनाव उत्पन्न हुन लागेको थियो।

मैले छिट्टै हुन्छ भनिदिएँ र ज्योतिलाई इसाराले मेरा पछाडि बस्न भनेँ। ज्योति एकछिन अलमलिई। फेरि नरेशलाई बस्न लगाई र ऊ पछाडि उससँग टाँसिएर बसी। छातीको स्पर्श- 'माइ फुट'। मैले ज्योति र नरेशलाई आजसम्म यस घटनाका लागि क्षमा गर्न सकेको छैन। जीवनका हर क्षेत्रमा मलाई होचो देखाइएको छ।

पुरी 'आन्टी'। उनैकहाँ त मलाई पेइङ गेस्ट बनाएको थियो नरेशले। आन्टी मिसेज रागिनी पुरी र म राजेश पुरी ........ बीचमा नरेशका लागि ठाउँ कहाँ थियो र ? फेरि आन्टी थिइन् पारपाचुके गरेकी। आन्टी बेलुका जब पातलो नाइटी लगाएर दूध लिएर आउँथिन् मेरा लागि एकदम फिल्मीदृश्य लाग्थ्यो। मेरो पहिलो जीत आन्टीको मन, शरीर र घरमा मेरो कब्जा भएको थियो र आन्टीका घरमा नरेशको आवत-जावत् बन्द भएको थियो।

नरेशले फेरि केही भनेन। चुप्पै बस्यो। एक शब्द बोलेन। ऊ हड्बडायो र मैले त्यसबाट आनन्द लिन सकिनँ। उसले मसँग मेलजोल र बातचित कम गर्‍यो, या भनौँ बन्द नै गर्‍यो।

उसको बिहेको निम्तो 'पुरी आन्टी'को नाममा हुलाकद्वारा आइपुगेको थियो। तर मलाई आफ्नो बिहेमा नबोलाउने मनस्थिति उसले स्पष्ट बताएको थियो। म भौँतारिदै हिँडिरहेँ। पुनम ! मलाई त कहिल्यै चिनाएन पनि। यी दुईजना त कहिल्यै सँगै घुम्दा पनि घुम्दैनथिए। फेरि यिनीहरूको बिहे हुने भो कसरी ?

पुनमलाई पनि लेख्‍ने सोख थियो। नरेश त जन्मजात लेखक नै थियो। कहाँ पछि हट्थ्यो र ? मैले पनि पन्नामा कलम चलाउन सुरु गरिसकेको थिएँ। नरेश त कथा र उपन्यास दुवै लेख्थ्यो तर मलाई मेरो औकात थाहा थियो। कथा र उपन्यास लेख्‍नु मेरो क्षमताभन्दा बाहिर थियो। फेरि के गर्थेँ ? के लेख्थेँ ? कविता ? अँ कविता। आजभोलि कविता लेख्‍नु त सबभन्दा सजिलो काम भएको छ। "हेर राजेश, कवितामा तुक नभए बेतुके हुन्छ ..... र कुनै पनि बेतुके कुरो कसरी कविता हुनसक्छ र ?"

बस् एकैछिनमा, नपढीकन मेरा रचनालाई बेतुके बनाइदियो। ...... उसका कथाहरूमा चाहिँ कति न तुक भएजस्तो। बकवास, मात्र बकवास। तर उसको कथा 'नील समुद्र' पढेर त मेरा आँखा पनि रसाएका थिए। त्यस कथाकी नैन्सीको परिवारको अवस्थाले त अहिलेसम्म मलाई हल्लाउँछ। ...... नरेश मभन्दा राम्रो लेखक कसरी भयो ? भगवान्‌ पनि उसकै साथ दिएर किन हाँसिरहेका छन्?

म उसमाथि मजैले हाँसेको थिएँ। खूब हाँसेको थिएँ। मैले अनूसँग विवाह गरेको थिएँ। पहिलो पल्ट नरेशको सल्लाह नलिई कुनै काम गरेको थिएँ। खासभन्दा उसको सल्लाहबिना त म सेम्पू र टुथपेस्ट सम्म पनि किन्दिनथेँ। फेरि एकाएक के भयो कि जीवनकै सर्वाधिक महत्त्वपूर्ण निर्णयअघि म नरेशकहाँ गइनँ, उसले मलाई आफ्नो बिहेमा बोलाएन..... मैले उससँग बदला लिएँ।तर बदला त नरेशले लिएको थियो र आफ्ना खुट्टामा बन्चरो मैले हानेको थिएँ।

आफ्ना लागि नरेशका सल्लाहबाट ल्याएका वस्तुहरूले अहिलेसम्म साथ दिइरहेका छन्। तर मेरो रोजाइकी अनुपमा ? सारा जीवन छिन्न-भिन्न भयो। जीवनमा केही रहेन। उसले त मेरा दुई पुत्रहरूलाई पनि लगेकी थिई। नरेशले नै मेरो जेठो छोरोलाई फर्काएर ल्याएको थियो। थाहा छैन अरू कति उपकार गर्छ। म मरेकै त थिइनँ नि, फेरि किन मलाई उपकारले थिचेकोथिचै गर्छ ?

म आफैँ उससामु रुँदै गएको थिएँ। नरेशले त मसँग बोल्न पनि छाडिसकेको थियो। मेरै आँखाको अगाडिचाहिँ अँध्यारो सुरुङ थियो। यस अँध्यारो सुरुङबाट निकालेर मलाई प्रकाशको किरण देखाउन नरेशले बाहेक कसले सक्थ्यो र ? मेरा अरू साथी नभएका चाहिँ होइनन् तर नरेशमा निर्भर रहने मलाई आदत बसिसक्या छ।

नरेशले पहिलो सन्तानका रुपमा पुत्री भेटेको थियो- अन्तरा। मेरामा जन्मिएको थियो गुड्डू। म जीवनभर कोलम्बसको चरित्रबाट प्रभावित रहेको छु। कोलम्बस सम्भवतः पहिलो व्यक्ति हो जसको गल्तीले विश्वले महान् देश भेट्टायो। आफ्ना छोराको नाम मैले कोलम्बस नै राखिदिएँ। मनमनै यो क्षेत्रमा जीत हासिल गरेकामा प्रसन्नता उर्लिरहेको थियो।

अनुसँग अनबन हुँदा एकपल्ट फेरि नरेशसामु गएको थिएँ। बरफजस्तो चिसो। एकैपल्ट पनि बाझेन। कुनै प्रश्न सोधेन। पूरै ध्यान दिएर मेरो कुरा सुन्यो। अकाट्य तर्कहरूबाट मलाई मेरा गल्तीहरूसँग अवगत गरायो। अनुसँग गएर भेट्यो र मलाई भन्यो - 'जसरी पनि घर बचाएर राख्‍न कोसिस गर।' तर म घरलाई कसरी बचाउँथेँ ? नरेशको जस्तो परिपक्कता ममा कहाँ थियो र ? मेरो पारपाचुके भयो। नरेश मसँगै थियो। कागज (तलाकनामा) मा सही गरेपछि उसले मलाई विचित्रको दृष्टिले हेर्दै भन्यो- 'राजेश, बुझ्न सक्या छैन, तँलाई घर फुटेको बधाई दिऊँ या ...... तँप्रति सहानुभूति प्रकट गरूँ ?' यति लामो समयसम्म राम्रो हुने 'एक्टिङ' कसरी गर्न सकेको यसले ?

जीवनका हरेक दुःखका क्षणहरूबाट पनि सुखका क्षणहरू छानेर निकाल्छ यस व्यक्तिले। अनि म ? म हरेक सुख भएर पनि दुःखै तिर तानिइरहेको हुन्छु। उसका सबै मित्र- सम्बन्धीहरू पनि उसलाई हरेक कार्यमा साथ दिन्छन्।

सिर्डी जाँदा बाटामा कार दुर्घटना भएर नरेशकी पत्‍नी पूनमको देहान्त भयो। त्यस हालतमा पनि नरेशले नेत्रदान गरेर आफ्नो क्षमता देखाइदियो। पत्‍नीको मृत्युको पाँच महिनापछि उसको सम्झनामा 'साहित्यिक पुरस्कार' सुरु गर्‍यो - 'पुनम शुक्ला कथा-सम्मान'।  ढोँगी। उमेरभरि धुर्त्याइँ गरिरहन्छ, राम्रो हुने नाटक गरिरहन्छ।

...... र म..... यस्तै उमेरभरि नरकको आगामा जलिरहन्छु !

 

               ***
 

 

 

 


प्रथम पृष्ठ ( Home )