Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

प्रथम पृष्ठ ( Home )

मर्नैपर्ने एक दिन

 

 

सेप्टेम्बर महिनाको एघार तारिख सन् २००१। मङ्गलवारको बिहान। अमेरिकामा चारवटा हवाइजहाजले उडान भरे र आफ्ना निर्धातिर बाटाहरू बदले। आकाश खुला थियो। बिहान आनन्ददायक थियो तर इरादाहरू खतरनाक थिए। मानवजीवनको इतिहासमा आजको दिन सधैँलाई अङ्कित हुनेवाला थियो। यस्तो घटना हुन लागेको थियो, जसमा हरेकको जिन्दगी निमेषमै पल्टिनेवाला थियो।

चारवटा प्लेनहरूमध्ये एउटाको निशाना चुक्यो। कहीँ खेतमा गएर प्लेन खस्यो। जति जिन्दगीहरू थिए प्लेनमा सबै भष्म भए।

के र किन भयो सायद हामीलाई कहिल्यै थाहा हुँदैन?

कल्पनाको उडानबाट एउटा कथा जन्मन्छ "मर्नैपर्ने एक दिन" कथा त्यस उडानको जसले आफ्नो निशाना चुकायो।

०००

"अरे, रहमान ! किन यसरी अत्तालिएको ?"

"अब्दुल ! यो मेसिन त राक्षसजस्तै छ नि - थाहा छैन के हुने हो ! हेर् त, त्यहाँ, त्यो मान्छेको ब्याग खोल्दै छन्।" अब्दुल र रहमान अन्तिम चेकपोइन्टमा उभिएका थिए जहाँबाट उनीहरूलाई एक्सरे मेसिनमा छिर्नु थियो। "हेर् ! हामीले ह्यान्डब्याग राम्ररी तयार पारेका छौँ, कुनै मेसिन कराउँदैन। केही नसोच्, अनुहार उज्यालो राख् र आफ्नो पालो आउँदा गुड मर्निङ भन्न नभुल् नि।" काम्दै गरेको रहमानले अब्दुललाई सान्त्वना दियो। रहमान "अल्लाह ओ अकबर !" दोहोर्‍याउन लाग्यो दबेको आवाजमा। "देखिस् ? कुनै मेसिन कराएन त। जहाँ खुदा रहनुहुन्छ बाटामा, सबै काम सजिलै बन्छन्।" प्लेनको गेटतर्फ जाँदै गर्दा अब्दुलले रहमानको हौसला बढाइरहेको थियो।

"तारिक र अजीज देखा परेनन् नि" रहमान अझै काम्दै थियो।

"रहमान ! यो के भएको तँलाई आज। बिहान हामीले सँगै खुदाको प्रार्थना गर्‍यौँ। हामी जे गर्दै छौँ खुदाकै आदेशले हो। हिँड्, सुर्ता नगर् र सीधा नजर राखेर अगाडि बढ्। सबै थोक हाम्रो प्लानअनुसार नै भैरहेको छ। तारिक र अजीज हामीभन्दा अगाडि छन् र हाम्रो खास सामान प्लेनभित्र पुगिसकेको छ।"

अब्दुल, रहमान, तारिक र अजीज चारजनाले आजको अन्तिम दिनको कार्य पूरा गर्नेवाला थिए। मर्नेवाला थिए साथै दुनियाँलाई पाठ पनि सिकाउनेवाला थिए। तीन वर्षदेखि यस दिनको योजना बनिरहेको थियो। अमेरिकाका प्रतिष्ठाका चिह्नहरू आज ढल्नेवाला थिए। योजना साह्रै कुशलतापूर्वक तयार गरिएको थियो। चारवटा प्लेनहरूले मिसाइलका रूपमा वासिङटन र न्यूयोर्कमा आगो बाल्नेवाला थिए।

अब्दुलको समूहलाई सबैभन्दा गाह्रो काम परेको थियो अमेरिकाका प्रमुखलाई खुदाको दरबारमा पुर्‍याउनु।

करिब आधा घण्टा भएको थियो होला। पूर्वबाट उडेको प्लेनले पश्चिमतिरको गति लिइसकेको थियो र आफ्नो उचाइ हासिल गरिसकेको थियो। प्लेन आधाभन्दा धेर खाली थियो। जति यात्री थिए, सबै आरामदायक यात्राको कल्पनामा नै डुबेका थिए। अचानक एउटा घोषणा भयो। अब्दुलको हातमा माइक्रोफोन थियो। यस क्षणका लागि उसले कैयौँपटक रिहर्सल गरेको थियो।

"मेरो नाम अब्दुल हो। अब म नै तिमीहरूको क्याप्टेन हुँ। यो प्लेन हाम्रो कब्जामा छ। खुदाको आज्ञाले आज हाम्रो अन्तिम दिन हो। आज हामीसँगै खुदाको दरबारमा जान्छौँ। तिम्रा दुवै पाइलटहरू खुदाको दरबारमा पुगिसकेका छन्। सबै फ्लाइट-अटेन्डेन्ट्सहरूलाई हामीले चुप गराएका छौँ। यो प्लेन अब वासिङटन जाँदै छ। खुदाको दरबारमा आज अमेरिकाको प्रमुखको पनि भर्ना हुनेछ।"

एउटा सन्नाटा छायो। प्लेनको इन्जिनको आवाजमात्र आइरहेको थियो। कति राम्रो बिहानी, यति राम्रो यात्रामा पनि यस्तो हुन सक्छ र !

सायद कसैले मजाक गरेको होला !

प्लेनको पछिल्लो भागमा एन्ड्रयु म्युजिक सुनिरहेका थिए र तातो कफीका साथ मर्निङ न्युजको बिजिनेस सेक्सन हेरिरहेका थिए। तेत्तीस वर्षको आयुमा उनले राम्रै सफलता हासिल गरेका थिए। अफ्नो कम्पनीको नयाँ उत्पादन धूमधामसित लन्च गर्न लस एन्जेलस जाँदै थिए।

घोषणा सुनेर एन्ड्र्यु स्तब्ध भए। यो कुनै प्र्याक्टिकल जोक हो कि क्या हो ? आँखा उठाएर हेरे -तीनजना मानिसहरू उभिइरहेका थिए। सफा-सुग्घर, राम्रा कपडा लगाएका तर तीनैजनाका हातमा खन्जर थियो। सायद खन्जर रगतले भिजेका देखिन्थे।

एन्ड्र्युले कलेजमा साइकोलोजी पढेका थिए र बिजिनेसमा सफलता साथ प्रयोग पनि गरेका थिए। सोचे- अलिअलि कुरा गर्दा वास्तविकता थाहा भैहाल्छ।

"अरे अब्दुल भाइ ! यो कस्तो मजाक हो, हाम्रो इच्छा त लस एन्जेलस जाने छ है, खुदाका घरमा होइन !"

"तिम्रो इच्छा आज हाम्रो नियन्त्रणमा छ र त्यही खुदाको सदिच्छा हो। यदि कसैले विरोध गर्‍यो भने, यो खन्जर देख्या छ, खुदाको नाममा हुलिदिन्छु। रगतको खोलो बग्ने छ र पुग्नेछ खुदाको द्वारमा।" जबाफ दिँदादिँदै अब्दुलले खन्जर दाँतका बीचमा च्यापेर टाउकामा जेहादको पट्टी लगाउन थाल्यो।

"हेर ! हामीले तिमीहरूको केही बिगारेका छैनौँ। तिमीहरूलाई जे चाहिन्छ वा जे शर्त छन् ती त पूरा हुन सक्छन् नि। हामी त साधारण मान्छे हौँ। हामीलाई छाडिदेऊ सायद खुदा अझ धेरै प्रशन्न हुनुहुनेछ।"

"हामीलाई केही चाहिन्न। हाम्रा शर्त पनि केही छैनन्। हामीलाई जे चाहिएको छ त्यो हामीले पाएका छौँ, खुदा हामीबाट प्रशन्न छन्। आज प्रलयको दिन हो र हामी खुदाका दूत हौँ।"

एन्ड्र्युलाई यिनीहरू मर्न तयार छन् र कुराकानीले केही काम काट्दैन भन्ने लागिसकेको थियो।

"तिमीले के पाउँछौ अब्दुल ? तिमीहरूका पनि आमा-बाबु, स्वास्नीछोराछोरी होलान्। के तिम्रा ती आफन्तहरूले तिमीहरूलाई फेरि जिउँदो देखेर खुसी हुँदैनन् होला त ? किन केही शर्त नराख्‍ने ? चाहे जे माग। पाएपछि यात्रीहरूलाई छाडिदेऊ र यस प्लेनलाई अर्कै देशमा लैजाऊ।" एन्ड्र्युले अन्तिम प्रयास गरे।

"ओई तँ को होस् ? खुब बाठो ठान्छस् आफूलाई ? आमा-बाबु, स्वास्नी, छोराछोरी सबैको समर्थन छ हामीलाई। फेरि केही बोलिस् भने सबभन्दा पहिले तँलाई नै खुदाकहाँ पुर्‍याइदिउँला नि।" ठूलो स्वरले अब्दुलले एन्ड्र्युलाई चुप गरायो।

एन्ड्र्यु आफ्ना सिटमा अलिक लम्बिए, अब्दुल र उसका साथीहरूले नदेखून् भनेर। एन्ड्र्युले आफ्नो मोबाइल निकालेर घरको नम्बर डायल गरे। फोन चलिरहेको थियो।

"हाइ हनी ! आइ लभ यु। सुन ! मसित समय धेरै छैन, यो फोन कहिले बन्द हुने हो थाहा छैन। चारजना जस्ता छन् खन्जर बोकेका छन्। पेस्तोल कोहीसँग छैन। एउटाको कमरपेटीमा बम बाँधेको जस्तो छ।"

"ओहो एन्ड्र्यु ! यो के भो ? कसरी भो ?"

"लीसा ! हनी ! पचास यात्री छन् प्लेनमा। मेरै छेउमा एउटा जोनी छ, अलिक टाढा गुरजीत बसेको छ, सरदार हो, केसरी रङको पगरी लगाएको छ। हामीले चुपचाप इसारामा केही सल्लाह गरेका छौँ। हाइज्याकरहरूले प्लेनलाई वासिङटनमा झार्न खोज्दै छन्, हामी त्यो हुन दिनेछैनौँ।"

"एन्ड्र्यु ! मलाई डर लागिरहेको छ।" लीसाको पेटमा भएकी बच्चीले हङ्गामा मचाउन थालिसकेकी थिई।

"लीसा ! समय थोरै छ। मेरो एउटा कुरा सुन्छ्यौ ? आज मैले यी हाइज्याकरहरूबाट एउटा कुरा जानेँ र बुझेँ, त्यो हो 'कुरबानी'। हाम्री छोरीको नाम पनि 'कुरबानी' राख्‍नु ल ! राख्छ्यौ ?"

फोन काटियो। टाढा-टाढा लीसाका आँखाहरू आँसुले भरिएर पोखिइरहेका थिए। लीसा फोनमै कराइरहिन् - "एन्ड्र्यु ! म तिमीलाई माया गर्छु। सधैँसधैँ गरिरहन्छु। म तिमीलाई सधैँ पर्खिरहन्छु चाहे यो दुनियाँमा होस् वा अरू कुनैमा ........।"

सङ्घर्ष सुरु हुनेवाला थियो। कसैगरी पनि ठीक-ठाक योजना गर्ने समय थिएन। जोनीले पहिले प्लेन उड्डयनका केही पाठहरू सिकेका थिए र उनले पाइलटको क्याबिनसम्म पुग्न जरुरी थियो। एन्ड्र्युले कप्तानको जिम्मेवारी आफ्ना टाउकामा लिए र अरू यात्रीहरूलाई खन्जरले आक्रमण गरेमा तुरुन्तै कम्बल वा सिराने अगाडि राखिदिने सल्लाह इसाराले नै दिए। अघिल्तिर थिए अब्दुल, रहमान र तारिक खन्जर लिएर बसेका। एन्ड्र्यु, जोनी र गुरजीतलाई अगाडि बढ्नु थियो र उनीहरूलाई वशमा राख्‍नु थियो।

गुरजीतले तरिका सोचे। सायद हाइज्याकरहरू गुरजीतप्रति केही सहानुभूति देखाऊन्। कतै गुरजीतको जुँगा, दारी र टाउकाको फेटा देखेर हाइज्याकरहरूलाई देखावटी नै भए पनि आफ्नोपन महसुस गराओस् र सायद गुरजीतको टुटे-फुटेको हिन्दी-पन्जाबी-उर्दू बोली उनीहरूलाई मन परोस्।

गुरजीतको काया ठूलो थियो। अग्ला र चौडा पनि थिए। अनुमति माग्ने समय थिएन। गुरजीत उठे र अलि गडबडीवालै भाषामा भए पनि बोल्दै, निर्भय, निश्चिन्त भएर, एकएक पाइला नाप्दै अब्दुलतिर बढ्न लागे। र पछि लागे एन्ड्र्यु, जोनी र अरू केही यात्री।

अब्दुलले केही सोच्ने समय नै पाएन। एकाएक यत्रा मान्छे किन अघि बढ्दै छन् - यस जुलुसलाई त रोक्नैपर्छ। उसले खन्जरलाई मज्जासँग हावामा हल्लायो र जोडले करायो- "त्यहीँ रोकिऔ, त्यहीँ रोकिऔ ........ "

यो जुलुस रोकिनेवाला थिएन।

अब्दुलले गुरजीतमाथि खन्जरले प्रहार गर्‍यो। गुरजीतले झट् आफ्नो फेटा अघि पारे। खन्जरको निशाना चुक्यो र गुरजीतको दाहिने हातमा चोट लाग्यो। रगत बग्न थाल्यो र तल झरेको केसरी रङको फेटा रातो हुँदै गयो।

एन्ड्र्यु र जोनीले रहमान र तारिकसँग मुकाबिला गरे।

"जोनी ! तिमी तुरुन्तै पाइलट क्याबिनमा पुग त।" एन्ड्र्युले जोनीलाई हुकुम दिए र आफू रहमान र तारिकसितको लडाइँमा व्यस्त भए। अब्दुलको झरेको खन्जर एन्ड्र्युको हात लाग्यो।

"गुरजीत फेटा खोल त, त्यसको पेटी बनाएर यी बदमासहरूलाई बाँधौँ।" एन्ड्र्यु बोल्दै थिए, त्यसै बेला तारिकको एउटा खन्जर एन्ड्र्युको छातीमा घुस्यो।

जोनी पाइलटको क्याबिनतिर लागे।

क्याविनको दैलो खोल्नेबित्तिकै जोनी पछारिए। दुवै पाइलटका लहुलुहान लासले भुइँमा अवरोध खडा गरिरहेका थिए। पछारिँदै जोनी पाइलटको सिट छेउमा पुगे।

प्लेन अरू मच्चिन थाल्यो। प्लेनका दुइटै इन्जिनलाई आगाको ज्वालाले निलिसकेको थियो र कालो धूवाँ निस्किरहेको थियो। प्लेन आकाशबाट झर्दै थियो। तलतिरको जमिन राम्ररी देखिइरहेको थियो।

अजीजलाई बाधा आइपर्‍यो। एकापट्टि प्लेनलाई निर्दिष्ट निशानामा लानु थियो अर्कापट्टि यो जोनी नामको जन्तु टप्कियो। अजीजले छेउमा राखेको खन्जरले जोनीलाई प्रहार गर्‍यो। त्यै खन्जर जसले दुईजना पाइलटका घाँटी रेटिएका थिए।

जोनी घाइते भए तर खन्जर अजीजको हातबाट छुटेर दुई पाइला पर खस्यो। हातैहातको लडाइँ हुन थाल्यो। तर भाग्यले साथ दियो जोनीलाई। अजीज लड्यो भुइँमा खसेको खन्जरको धारमा। अजीज कै खन्जरले अजीजको घाँटी काटियो, रगत बग्यो र काटिएको घाँटीबाट आवाज आयो "ओ खुदा ! ....... म आउँदै छु।"

प्लेन जमिनबाट करिब पाँचसय फिट माथि थियो होला। जमिनमा खेत देखिइरहेका थिए, अलिक टाढा रूखैरूख भरिएको जङ्गल देखिइरहेको थियो। सहरबाट टाढा ....... तल कुनै हलचल थिएन।

अचानक जोनीले केही घरहरू देखे। अरे ! यो त स्कुलजस्तै छ। केही केटाकेटी मैदानमा खेलिरहेका पनि थिए। स्कुलमा थुप्रै केटाकेटी होलान्। यो प्लेन स्कुलमा त खस्तैन ! "हे जेजस ! यो प्लेनलाई केही अगाडि बढाइदेऊ।" जोनीले आफ्ना ईश्वरसँग अन्तिम प्रार्थना गरे।

प्लेन जङ्गलमा गएर खस्यो, न स्कुलमा खस्यो न वासिङटन पुग्यो। जति प्लेनमा थिए, सबै पुगे खुदाका घरमा। आगाको ज्वालामा कहीँ अल्लाहको पुकार हुँदै थियो, कहीँ जेजसको त कही वाहे-गुरुको।

अब्दुलका हात टाउकामा बाँधेको पट्टीमा थिए, गुरजीतका आँखा केसरीरङको फेटामा र एन्ड्र्युको नजरचाहिँ 'कुरबानी' हेरिरहेको थियो।

           ***

 

 

 

 

 


प्रथम पृष्ठ ( Home )