Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

प्रथम पृष्ठ ( Home )

ममता

 

 

बडीआमा बचनीका आँखीभौँ प्रवचनका लागि बाहिर निस्कन दैलो खोल्दाखोल्दै तन्किए। एउटा बिरामी कुकुरको छाउरो सँघारमै टाउको अड्याएर सुतिरहेको थियो। बडीआमाको कैँचीजस्तो मुख तुरुन्त चलिहाल्यो "मरून् मोराहरू ! सुँगुरका छाउराहरू। यस टोलका केटाहरू सुतेपछि उठ्नुनपरोस्। पैदा गर्ने मोरीहरू पनि देख्तैनन् छोराछोरीहरूले टोलमा के गरिरहेका छन्। कोखबाट निकाले अनि फ्याँके गल्लीमा। गरे मोराहरूले मेरो धर्म भ्रष्ट।"

टोलका महिलाहरू बडीआमाको स्वभावसँग राम्रै परिचित थिए। अतः उनको आवाजमा कसैले ध्यान दिएन। एउटै पनि अनुहार कुनै घरका झ्यालबाट कुरा के हो भनेर बुझ्न निस्केन। बडीआमाले कुशल योद्धाझैँ यताउता हेरिन् र तरवार हावामै चल्दै गरेको अनुभव गरेर आफ्नो ध्यान छाउरातिर केन्द्रित गरिन्।

"चच्- चच्- चच् ....... हट।" बडीआमाले त्यसलाई भगाउन रट लगाइन्। "पर हट्..... ओइ भागिहाल् त।"

तर छाउरो टसमस भएन। यहाँसम्म कि कसले बोलाउँदै छ भनेर टाउको उठाएर पनि हेरेन।

एकछिन अहिंसात्मक प्रयत्‍न गरेपछि बडीआमामा हिंसात्मक भावना उठ्यो। भित्रबाट कुचो  लिएर आइन्। कुचो चलाउनुभन्दा पहिले एकपल्ट फेरि कोसिस गरिन् छाउरो कुटाइ नखाई उठोस् भनेर। कुचो अलिकति हल्लाएर भनिन् - "उठ न हौ कुजात ! एकपल्ट हानेँ भने चूँचूँ गर्दै भाग्छ होला।

कुचाको स्पर्शले छाउराको शरीरमा हलचल भयो। त्यसले ठूलो कठिनाइका साथ मुन्टो उठाएर अत्यन्त करुणापूर्ण दृष्टिले बडीआमालाई हेर्‍यो र उसको टाउको पूर्ववत् सँघारमै गएर लड्यो। त्यसका गलाबाट रोएको झैँ आवाज आयो "क्वाँ कूँ... कूँ... कूँ.. .....।" भिक्षा माग्दै गरेका गेरु वस्त्रधारी साधु बचनीका दैलामा पुग्दा उनका 'अलख निरञ्जन'का दुईशब्द गलामै अड्के। "के गर्दै छ्यौ मैया। कुचो नहान। सक्छ्यौ भने प्राणरक्षा गर। आत्मा त सबैमा समान हुन्छ। यो यहाँबाट उठ्न सक्तैन। यसलाई लिन यमदूतहरू आउँदै छन्।" "रामराम बाबा !" बडीआमाले श्रद्धाभावले साधुतिर हेरिन्। "रामले कल्याण गरून्, माई ! यसलाई नीलोतुथो दहीमा मिसाएर देऊ। नगरपालिकाका मान्छेले विष ख्वाएछन्। यो एकछिनको मात्रै पाहुना छ। यसकी आमा यसका दुई दाजुभाइसहित इनारका छेउमा उत्तानो परेकी छे। हाय ! यसकी आमा भए यसलाई दाँतले च्यापेर लैजान्थी होला ! राम...... राम !"

साधु अगाडि बढे। जीवनरक्षाको उपदेश दिनु उनको कर्तव्य थियो।

बडीआमा बचनीका हातबाट कुचो खस्यो। "यसकी आमा भएकी भए ...... " यो वाक्य उनका नसामा पसिसकेको थियो। छाउरालाई नाघ्दै, जीवनमा पहिलोपल्ट दैलो खुलै छाडेर बचनी बजारतिर दौडिन्। उनका हातमा पित्तलको बटुको थियो।

बडीआमा बचनी विधवा थिइन्। टोलका महिलाहरूको उनीसँग कुनै सहानुभूति थिएन। यसको कारण पनि बडीआमाको बोली नै थियो। नारद मुनिका सबै करतुत बडीआमाका जीवनका अभिन्न अङ्ग थिए। जुन घरको पानी बडीआमा पिउँथिन्, त्यस घरमा सासु-बुहारीको जुत्ता-चप्पल हानाहान हुन्थ्यो। जहाँ उनी आधा घण्टा बस्थिन् त्यहाँ श्रीमान्‌श्रीमतीको तँतँमम भैहाल्थ्यो। छोराछोरी आमाबाबुसँग बाझ्थे भने दाजु-बहिनीमा मनमुटाव हुन्थ्यो। त्यति हुँदाहुँदै पनि बडीआमालाई आफ्ना घरमा आउन नदिने साहस टोलभरिका कसैमा हुँदैनथ्यो। कारण थियो, सबैका दुःखमा बडीआमा नै काम आउँथिन्। कसैको बच्चो बिरामी भयो, उनी जान्थिन् डाक्टर बोलाउन। कसैको गाइभैँसी ब्यायो बडीआमा नै सुपको पानी उमाल्थिन्। कसैका घरमा शोक भयो, बडीआमा धुरुधुरु रुन्थिन्, आफ्नै आफन्त मरेजस्तै। बडीआमा टोलकै जीवनीको त्यो भाग थिइन् जसलाई निकाल्दा पूरा जीवनी विशृङ्खलित र निरर्थक लाग्थ्यो। घटनाहरूलाई जोड्ने सिक्री थिइन् बडीआमा बचनी।

कुनै समय निकै धनी थिइन् बचनी। टोलका वृद्ध महिलाहरूलाई थाहा थियो बडीआमा कुनै बेला जुत्ताबिनाका मोजा लगाएर गल्लीमा घुम्न निस्कन्थिन्। जीउमा झिँगा बस्न दिन्नथिन्। तर दिन बिग्रेपछि कसको के लाग्छ र ! सम्पत्तिका नाममा चार-छवटा भाँडा मात्र बाँकी थिए। दुईटा सुतीका सारीहरू थिए बडीआमासँग। एउटा धोएपछि अर्को लगाउने गर्थिन्। श्रीमान्‌को सम्पत्तिमध्येबाट त्यही घर थियो जसमा उनी बस्थिन्। एउटा दोकान थियो बजारमा जसको भाडाबाट बडीआमाको छाक टर्थ्यो।

बडीआमा बचनीको आवाज कर्कश थियो र स्वभाव अक्कडो। गाली त उनी लोग्नेमान्छेसरह बक्थिन्। टोलका केटाहरूसँग त उनको पूर्वजन्मकै वैर थियो। यो यस्तो अद्‌भुत कुरा थियो बडीआमाको स्वभावको- अद्‌भूत विसङ्गति। टोलका जति केटाहरूलाई उनी काखमा खेलाएर हुर्काउँथिन्, तिनै केटाहरू आठ-दस वर्षका भएपछि बडीआमा फुटेका आँखाले पनि हेर्न सक्दिनथिन्। बडीआमाको तिनीहरूसँग दुस्मनी सुरु भइसक्थ्यो। अन्जान अबोध शिशुलाई काखमा लिएर उनी ठूला केटाहरूलाई गाली गर्थिन्, तिनीहरूको मृत्युको कामना गर्थिन् र तिनका आमाहरूलाई सराप्थिन्।

वास्तवमा बडीआमालाई जिस्क्याउने परम्परा नै बनेको थियो र चलिआएको थियो टोलमा। कहीँ कुनै केटो ठूलो हुन्थ्यो, त्यहीँ ऊ त्यो परम्पराको एउटा अङ्ग बन्दथ्यो। बडीआमालाई "माई फात्ताँ" भनेर जिस्क्याउँथ्यो र बदलामा धाराप्रवाह गाली खाएर खुसी हुन्थ्यो। बडीआमा पक्रिनलाई पछिपछि दगुर्थिन् र ऊ कुनै घरमा छिरेर खाटमुनि लुक्थ्यो। तर यस्ता घटनाक्रम निरन्तर चलिरहन्थे। कहिलेकाहीँ पक्राउ खाँदा पनि बडीआमाले हात उठाउनुभन्दा पहिले नै फेरि गर्दिनँ भनेर कान समातेपछि बडीआमा तुरुन्तै छाडिदिइहाल्थिन्। यो नुस्खा पनि सबैलाई थाहा थियो, त्यसैले कसैले धेरै डराउनुपर्ने कारण नै थिएन।

बजारबाट फर्केर बडीआमाले भित्री सङ्कोचलाई जबरजस्ती दबाएर छाउरालाई उठाइन्। दहीमा नीलोतुथो घोलेर छाउरालाई खुवाइन् र तल राखिन् अनि खरानीपानीले आफ्ना हातहरू धोइन्। एकछिनपछि छाउराले उल्टी गर्‍यो। खाएको विष बाहिर निस्क्यो र छाउरामा प्राण फर्किन लागेको जस्तो देखियो। बडीआमा मुढामा बसेर छाउराको कष्ट हेरिरहेकी थिइन् साथसाथै नगरपालिकावालाहरूलाई गाली पनि गरिरहेकी थिइन्।

०००

प्रवचनमा बडीआमाको अनुपस्थिति त नहुने कुरो थियो। प्रवचन सकिएपछि उनका एकदुईजना भक्त-साथीहरू कारण सोध्न आउँदा बडीआमाका घरका झ्याल-दैला खुलै देखे र बडीआमालाई भित्र बसेर कुकुरका छाउरालाई दूध पिलाइरहेको पनि देखे।

"नीं फोल चन्दरिये" कुन्तीले अनायास भनी।

"मरिस् नि तँ बचनी। धर्मकर्म त कुवैमा हालिस्।" कर्मदेइले पनि थाम्नै सकिन आफूलाई। "अरे पापिनीहरू ! बाँचे जीवन छ। मरून् नगरपालिकावालाहरू ! यसलाई विष दिएछन्। म त प्रवचनमा आउनै लागेकी थिएँ र गल्लीका फटाहा केटाहरूले मेरा दैलामा यसलाई राखिदिएका रहेछन् भनी सोच्दै थिएँ। त्यसै बेला एकजना महात्माजीले यसकी आमा र दुईवटा भाइ मरिसके भन्नुभयो। यसमा अलिकति प्राण बाँकी थियो। म बजारतिर दौडिहालेँ। दही तुथो ल्याएर दिएँ। उल्टी गरेर अनि बाँच्यो यो।"

"तर बुद्धू औरत ! तैँले जे गरेको थिइस् त्यो त सब गयो एउटा छाउराका लागि। अब तेरो कुन बाबु यहाँ बसेको छ जसले तँलाई हरिद्वार पठाओस् र तँ गङ्गा नुहाएर पवित्र हुन पाउलिस् !"

बडीआमा बचनीले यति टाढासम्म त सोचेकै थिइनन्। छाउराको प्राण सङ्कटमा थियो र उनलाई दया लाग्यो। अब बडीआमालाई चेत फिर्‍यो र उनी भित्र धर्म-भय जागृत भयो र "मेरो भाग्य फुटेको" भन्दै छाउरालाई उठाएर बाहिर गल्लीमा फ्याँकिदिइन्।

कर्मदेई कुन्तीलाई त्यहीँ छाडेर आफ्ना घरतिर दौडिन् र गङ्गाजलको बोतल लिएर आइन्। बडीआमा बचनीका जीउमा अभिषेक गरेर बाँकी रहेको घरभरि छर्किदिइन्। बडीआमालाई अलिकति पवित्रता महसुस त भयो तर बारम्बार भन्दा पनि न कुन्तीले मुढा लिन मानिन् न कर्मदेईले बस्न स्वीकार गरिन्। उनीहरूले त्यहाँ बस्नु भनेको वर्षौँ लगाएर कमाएको धर्म नष्ट गर्नु मात्र हुन्थ्यो। यति पनि बडीआमा बचनीको माया लागेर कर्मदेइले गरिन् पो नभए अरूका लागि त्यत्रो मूल्यवान् गङ्गाजल कहाँ खर्च गर्थिन् र !

उनीहरू दुईटी हिँडेपछि बडीआमा बचनी व्याकुल हुन थालिन्। उनलाई बारम्बार रुन आइरहेको थियो। "हे भगवान्‌ ! मैले यो के गरेँ ? कहाँबाट टप्कियो गेरुवा महात्मा ? न म उसका कुरा सुन्थेँ, न मेरो धर्म भ्रष्ट हुन्थ्यो। मर्थ्यो मोरो छाउरो। सैयौँ कुकुर-बिराला मरिरहन्छन्। दन्डी स्वामीले त्यस दिन प्रवचनमा बताएका पनि थिए कि कुकुरलाई छोयो भने सिधै नरकवास हुन्छ। मलाई नै किन परेको थियो, बुद्ध देवता हुन् ? ....... हाय ! अब म के गरूँ ?" बडीआमा बडबडाइरहिन्।

तर उनको क्षोभ कम हुन सकेन। बडीआमाले बाहिरपट्टिको झ्याल बन्द गरिन् र पानीका दसेक घैँटा घोप्ट्याएर भुइँ दुईपल्ट पखालिन्। अनि खस्रो बालुवाले गोडा दसेकपल्ट हात पनि माझिन्, यहाँसम्म कि हातै राता भए। त्यसपछि बडीआमाले चूल्हाको खरानी जीउमा दलिन् र नुहाइन्।

"हे बजरङ्गबली ! सहनशील भइदेऊ। हे बलवीर ! आफ्नो गदाले मेरा पापहरू काट। हे अन्जनी-सुत ! यस बूढीको अपराध क्षमा गर।" भन्दै उनले घरका चारै कुनामा अगरबत्ती जलाइन्।

बडीआमाबाट त्यस बेलुकीको खाना पाकेन। दियो-बत्ती बाल्न पनि मन लागेन। तिनै बडीआमा जसलाई आधा घण्टा मात्र पनि आफ्ना घरमा बस्दा पैताला चिलाएर खपिनसक्नुहुन्थ्यो, आज साढे तीन घण्टादेखि घरमै थुनिएकी थिइन्। जाडाका दिन, बडीआमाको बेलुका नुहाएको बूढो शरीर र त्यसमाथि चिसो घर। जाडाले बडीआमाका दाँत बज्न लागे।

भित्तामा अडेस लागेर बसेकी बचनी बडीआमालाई यस देहले यस्तो चिसो सहन सक्तैन जस्तो लाग्यो र उनी उठिन्। क्षोभ र वितृष्णाको त्यही अनुभवमा उनले संस्कारवश एउटा बटुकामा अलिकति आँटा हालेर गिलो बनाइन् र दियाको आकारमा ढालिन्। रुवाको एउटा डल्लो लिएर बाती कातिन् र आलमारीमा राखेको घिउको डिब्बामा भिजाइन्। दियो बालेर मूर्तिको अगाडि राखिन् र त्यहीँ अगाडि बसिन्। बसीबसी सोचिरहिन्। लोक-परलोक, पाप-पुण्य, पश्चात्ताप-प्रायश्चितसँग सम्बन्धित प्रवचनहरूमा सुनेका अनेक कथाहरू, अनेक घटनाहरू उनका मस्तिष्कमा खेलिरहे। कहीँकतै समाधान भेटिए हुन्थ्यो जसमा छाउरालाई छोएर बनेको दूषित शरीर पुनः पवित्र होस्। उनको श्रापित धर्म फेरि जागृत होओस्। यही अलमलमा कतिबेला आँखा लाग्यो थाहा भएन।

रात आधाभन्दा बढी बितिसकेको थियो। पूरा टोल गहिरो निद्रामा सुतिरहेको थियो। चारैतिर सुनसान सुसाइरहेको थियो। फेरि दैलामा छाउराको क्वाँक्वाँले बडीआमाको निद्रा खुल्यो।

"मरी जा हरामी, कतै गएर। अब मेरो ज्यान लिएर मात्र जान्छस् ? साले ?" भन्दै बडीआमा रिसले आगो भइन्। कृष्ण कन्हैयाको मूर्तिअगाडि राखेको दियो शान्त भइसकेको थियो। अँध्यारामा अभ्यस्त बडीआमाले पर्खालमा अड्याएको कुचो टिपिन् र दैलातिर हान्निइन्। छाउराको कूँकूँ निरन्तर आइरहेथ्यो।

बडीआमाले दैलो खोलिन्। लाग्यो तिनै साधु महात्मा उभिएका छन्। अँध्यारामा आँखा च्यातेर हेर्दा पनि कहीँकतै देखिएनन्। छाउराको कूँकूँ मात्र सुनिइरहेको थियो। उनलाई फेरि महात्माले भनेझैँ लाग्यो- "यसकी आमा भए त ...........।"

बडीआमाले कुचो त्यहीँ राखेर भित्र पसिन् र टुकी सल्काइन्। हातमा टुकी लिएर दैलोबाहिर आएर दुई कदम गल्लीमा पनि आइन्। तर त्यहाँ कुनै साधुमहात्मा थिएनन्।

अचानक उनलाई पैँतीस वर्ष पहिलेको तुफानी रात सम्झना भयो। यस स्मृतिले पहिलेका पाँच-सात वर्ष बडीआमालाई निकै रुवाएको र सताएको थियो तर पछिल्ला तीसेक वर्षदेखि उनले यस स्मृतिलाई ठूलै आत्मबलले आफूभित्र पुरेर राखेकी थिइन्। यही स्मृतिको चिहानले नै उनीभित्रबाट चिढ्याइँ ओकल्थ्यो। बडीआमाको पूजा-पाठ, प्रवचन-वार्ता पनि त्यही चिहानमा माटो हाल्ने निरन्तर प्रयास थियो जसले गर्दा फेरि त्यही स्मृति फेरि नजागोस्।

त्यस बेला बडीआमाका श्रीमान् जीवित थिए। उनको घर सुखले भरिएको थियो। घरका आँगनमा केटाकेटीका तोतेबोलीहरू गुन्जायमान हुन्थे। घरका कोठाहरू उनीहरूको हँसाइले परिपूर्ण हुन्थे। तर एक दिन ...... अबोध शिशुले कोठाको कुनै कुनाबाट दुईवटा काला गोलीहरू टिपेर खाएको थियो, जुन गोलीहरू बचनीकी नोकर्नीले मुसा मार्नका लागि कुनाकानी फ्याँकेकी थिई। एकै छिनमा बच्चाको हालत खराब हुन थाल्यो। आत्तिएर उनले चौपालमा बसेका आफ्ना श्रीमान्‌लाई बोलाएकी थिइन् र अझ आत्तिएर उनका श्रीमान्‌ले दौडधूप गरेर वैद्य, डाक्टर र धामी तीनैजनालाई लिएर आएका थिए। तर कुनै उपचार काम लागेन र जाडाले कठ्याङ्ग्रिएको त्यस रातको तेस्रो प्रहरमा बच्चाको प्राणपखेरु उडेको थियो।

बडीआमाले ढोका बन्द गरी छाउरालाई भित्र ल्याइन्। त्यो जाडाले कामिरहेको थियो। बडीआमाका घरमा एउटै मात्र ओढ्ने थियो। तर उनीभित्र अब सङ्घर्ष थिएन, संस्कार थिएन। उनले स्वाभाविक ढङ्गले बरन्डामा भएको खटिया तानिन् त्यसमा भएको ओछ्यान खोलिन् र छाउरालाई लिएर सुतिन्।

एक छिनका लागि उनलाई लाग्यो उनी बडीआमा बचनी नभएर आमा बचनी हुन्, आफ्नो बच्चाकी आमा हुन् र बच्चा आमाको छातीमा टाँसिएर सुतेको छ।

***

 

 

 


प्रथम पृष्ठ ( Home )