|
|
|
|
कनुप्रिया
कनुप्रिया केटी नभएर एउटी पहाडी नदी थिइन् जसले आफ्ना सुरमा बहँदा सबैलाई बगाएर लान्थिन्। सबै आफैँमा समेटेर पनि सबैभन्दा टाढा। एउटा यस्तो बरको रूख जुन जति बाहिर देखिन्थ्यो त्यसभन्दा धेरै बढी जमिनभित्र थियो। जसका छायामा थाकेका मानिसहरू सुस्ताउन सक्थे र बाटो बिराएकाले शान्ति र विश्राम पाउँथे। यसका फैलिएका हाँगाहरूले तारा भरिएको आकाशलाई अगाँलामा बाँध्ने सामर्थ्य राख्थ्यो। कनुप्रिया नाम कसरी राखियो उनलाई थाहा छैन तर उनको नाम कनुप्रिया भएको कारण उनका दुईवटा गुच्चाजस्ता आँखाहरू खेलेका बेलामा हरिया, पहेँला, खरानी अलगअलग रङमा चम्किन्छन् भनेर केटाकेटीले जिस्क्याउँथे। हजुरआमा लौरो लिएर बानरसेनाका पछि कुद्नुहुन्थ्यो। अनि रुँदै गरेकी कनुलाई फुल्याउँदै भन्नुहुन्थ्यो- "मेरी प्यारी छोरीलाई बिहे गर्न बाँसुरीवाला आफैँ आउनेछन्, अनि तँ नै भन् त ! तँ कसरी प्रिया मात्रै भइस् ? तँ त कनुप्रिया भइस् नि ! कन्हैयाकी प्रिया।" आफ्नो उमेरका बीसवटा वसन्तहरू बाँसुरीवालाको प्रतीक्षामा बिताई कनुले र एक दिन उसको बिहे निश्चित भयो सुबोधसँग। सुबोध बिहे गरेर तुरुन्तै इङल्यान्ड गइहाले। कनुलाई यो पनि नबताई कि इङ्ल्यान्ड जानु थियो र बिहे गरेको, कि कनुसँग युगौँयुगको नाता भएर ? कनु एक्लै बसेर कहिले कृष्णको फोटाका कानहरूमा स्टेथोस्कप लगाइदिन्थिन् त कहिले सुबोधका ओठमा बाँसुरी। दुइटै अस्वाभाविक लाग्थे र कनुका प्रश्नहरू अविवाहित रहन्थे, अनुत्तरित। त्यसै पनि कनुको बचपनदेखिकै आदत थियो प्रश्न गर्ने, वस्तुहरूलाई चिन्ने, कसैले नभने दिनरात सोच्ने जबसम्म उत्तर आफैँ हिँडेर आफ्नो छेउमा आउँदैनथ्यो। एउटा जिद्दी आदत। मानिस मरेपछि कहाँ जान्छन् ? फेरि फर्केर किन आउँदैनन् ? कसैले उनीहरूलाई पक्रेर थुन्छ कि ? आदिआदि। हजुरआमालाई सोध्यो भने सधैँ एउटै जबाफ- "सबै तिनै नीलो छातावाल काला कृष्णको इच्छा हो।" कनुलाई धेरै मन लाग्थ्यो ती मनमौजी भगवान्सँग भेट गर्न। उनीले त आफ्नो मनले जे लाग्यो त्यही गर्छन्, कसैले थुन-छेक गर्दैन। कनुलाई त सधैँ छेकबार। कनु यसो नगर, त्यहाँ नजाऊ, त्यहाँ नबस। राम्री नानीले यसो गर्नुहुन्छ, यसो हुन्न। कनुलाई दिक्कै लाग्थ्यो राम्रा नानीहरूको यो खेलले। आखिर किन ? मान्छे उसलाई बच्चै सम्झिरहन्छन्। ठूलालाई त कसैले भन्दैन। यस्ता राम्रा ठूलाठालुले यति धेरै गाली गरिरहनु हुन्न भनेर। कनुको सधैँ सोच्ने र बुझ्न खोज्ने बानीले हजुरआमालाई, बाबालाई, सबैलाई सताएको थियो। हजुरआमालाई दिक्क लागेपछि कनुलाई बाबासँग पठाइदिनुहुन्थ्यो। अब हजुरआमा इनसाइक्लोपिडिया त हुनुहुन्नथ्यो नि सबैथोक जान्ने। त्यसै पनि पाँच वर्षीय कनुसँग पहिल्यै हार मानिसक्नुभएको थियो। "हजुरआमा ! तपाईँ कति ठूली हो ?" "पचपन्नकी" हजुरआमाले हाँसेर भन्नुभयो। "पचपन्न भनेको के हो ?" "पाँच र पाँच" "ए ! त्यसैले त तपाईँ झन्डै मजत्रै ठूली? अनि त तपाईँको र मेरो यत्रो मित्रता छ।" कनुले अलिअलि कुरा बुझ्दै थिइन्। "आमा त हामीभन्दा थुप्रै ठूली हुनुहुन्छ हगि ? पूरै पच्चीसकी। धेरै घाममा नबस्नू त अब।" हजुरआमाका सुकेका लप्सीजस्ता चाउरी पर्दै गरेका हातहरूलाई सुमसुम्याउँदै कनुले चिन्ता प्रकट गरिन्। उनलाई पक्कै विश्वास थियो कि अब पाँच वर्षमा उनी हजुरआमाजत्रै ठूली हुन्छिन् र आमा-बुवा, सबैले उनको कुरा सुन्नुहुन्छ। बिहानमात्रै त उनले तीस सम्मको गिन्ती मास्टरजीलाई सुनाएकी थिइन् र खुब राम्ररी औँलामा अनि गुच्चासित गनेर थाहा पाइसकेकी थिइन्, पच्चीसबाट तीस पाँचले मात्रै धेर हुन्छ भनेर। अचारका लागि सुकाएका लप्सी लिन आउनुभएकी आमाले यी कुरा सुन्नुभएथ्यो र मज्जाले हाँस्दै बाबालाई पनि बताउनुभएको थियो। सुनेर बाबा पनि नहाँसी बस्न सक्नुभएको थिएन। "जोड-घटाउमा त ठ्याक्कै तिमीतिर गएकी छ तिम्री छोरी" आमालाई जिस्क्याउँदै बाबाले भन्नुभएको थियो। अर्को दिन कनुले आमालाई पक्रिहालिन्? "आमा ! आकाश जम्मै नीलो किन भएको ?" आमाले टार्न भन्दिनुभयो कि- भगवान्ले आकाश बनाउँदा वहाँसँग नीलोमात्रै रङ थियो, त्यसैले। अचानक कनुका थुप्रै समस्याहरू समाधान भए। पानी र आकाश दिउँसो हल्का नीलो र राती गाढा नीलो, किन सबैतिर जहिले पनि नीलैनीलो ? भगवान्ले पक्कै पनि नीलो रङ सकेर होला, घाँस हरियो बनाउनु परेको। अग्ला पहाड, समुद्र, बादलहरूमा उफ्रँदैँ, दौड्दै, कुद्दै जहाज ठूली कनुलाई उनका ठूलाठूला प्रश्नहरूसँगै लिएर आखिरमा इङ्ल्यान्ड पुगीछाड्यो। भर्खर नुवाइधुवाइ गरेकी नारीझैँ देश साँच्चै मनमोहक लाग्थ्यो। यस माहौलमा पनि एउटा ताजापन, एउटा दूरी थियो, कनुको आफ्नो स्वभावजस्तै। उनको मनको गर्मी आफैँ बाहिर निस्कन त सक्तैनथ्यो तर खोलो बनेर निस्क्यो भने आफ्ना छेउछाउका हरेक चीजलाई भिजाउने सामर्थ्य राख्थ्यो। कनुका उत्सुक आँखाहरूले पूरै वातावरणलाई पिइदिए। सबैथोक कति नयाँ र नौलो थियो? बैसाखीहरूमा हिँड्दै, दौड्दै तिनले लामो करिडोरको एक छेउदेखि अर्का छेउसम्म आफ्नो सुबोधलाई खोजे। अचानक, फैलिएका दुई हातहरूले उनलाई रोके। "तिम्रा सामानहरू हेर्न सक्छु ?" "किन नसक्नु ?" कनुले आफूलाई यो अप्रत्याशित हमलाबाट बचाउँदै भनिन् र यन्त्रवत् गह्रौँ सुटकेस अफिसरको अगाडि राखिदिइन्। तर उनका चञ्चल आँखाहरू उड्दै गरेको गौँथलीजस्तै छेउछाउका हरेक चीजमा डुल्न लागे। "यसलाई खोल।" आवाजको साङ्लामा अल्झिएकी कनु पुनः धरातलमा आइन्। यताउति खोज्दाखोज्दै पर्सको एउटा कुनामा चाबी भेटियो। कनुले चाबी तालामा घुसारेर घुमाउन लाग्दा अकस्मात् एउटा भयले उनलाई समायो। बस्, चौबीस घण्टा पहिले नै त हो, बाबाले कपडाहरू बारम्बार निकाल्दै, पट्याउँदै, गन्दै सुटकेसमा राखेको र भाइलाई त्यसमा बसाएर बन्द गरेको, त्यो पनि घर पुर्याएर मात्रै खोल्ने चेतावनीसहित। अफिसरका आँखामा हेर्नलाई सानी कनुले आफ्नो लामो गर्दन अझ लम्ब्याएर, कुर्कुच्चा उचाल्दै, अलिकति सङ्कोचले लजाउँदै भनिन्- म यसलाई खोल्न त खोलिदिन्छु; तर तपाईँले बन्द गरिदिने बाचा गर्नुहुन्छभने मात्रै; किनभने न मलाई यो खोल्न आउँछ न बन्द गर्न। अझ यति धेरै भरिएको त पटक्कै आउँदैन। बयस्क कपडामा बेरिएकी त्यस केटीमाथि अफिसरलाई समेत दया लाग्यो। "ल ल, छोडिदेऊ, यति मात्रै भन कि यसमा ड्रग वा कुनै त्यस्तो अवैध सामान त छैन ?" "छैन।" कनुले ठूलो राहत र विश्वासले जवाफ दिइन्। "तिम्रो जहाज कहाँकहाँ अडिएको थियो ?" "जेनेभामा मात्रै।" नमीठो मनले जबाफ दिइन्। उनलाई बाहिर निस्कन हतार थियो। सुबोध कतिखेरदेखि पर्खिरहनुभएको होला र त्यसै पनि ढिलो पुग्ने कनुको बानी नै थिएन। बाबाले भन्नुहुन्थ्यो- 'तिमीले समयको कदर गर्यौ भने समयले तिमीलाई इज्जत दिन्छ।' "तिमीले त्यहाँ घडी आदि किनिनौ ?" अफिसरले फेरि सोधे। अब चाहिँ कनुलाई अफिसर खुस्केको हो कि जस्तो लाग्न थालिसकेको थियो। "होइन बाबा ! मसँग तीन पाउण्ड मात्रै छ। तपाईँ नै भन्नुस् यसले घडी आउँछ ?" कनुले प्रश्नमाथि प्रश्न तेर्स्याइन्। "तिम्रो आफ्नो घडी कहाँ छ ? कि घडी नै लगाउँदिनौ ?" कनुले आफ्नो हाततिर ध्यान दिइन्। साँच्चै घडी त त्यहाँ थिएन। पक्कै फुकालेर गोजीमा राखेँ हुँला। गोजीमा हात हाल्दा घडी त्यहाँ पनि थिएन। अर्को गोजीमा हात हाल्दा त्यहाँ पनि थिएन। भुइँमा रहेको सेन्डविचको बाकस उठाइन्। आधा खाएको सेन्डविचसँगै नयाँ दुलहीका सबै गहना त थिए तर घडी थिएन। बिस्मित् कनुले अफिसरलाई भनिन्- "मेरो चीज कहिल्यै हराउँदैन। यतै कतै होला, आफैँ भेटिन्छ।" अफिसर पनि उनको अबोध लापरवाहीले अलि घबरायो। "यो जम्मै असली हो ?" "म कहिल्यै नक्कली लाउँदैलाउँदिन। साँच्चै भन्नु हो भने म कस्तै गहना पनि लाउँदिन।" "यो सबै तिमीले पासपोर्टमा लेखाएकी छौ ?" उनले अलिक चिन्तित भएर भनिन्- "तपाईँ नै लेखिदिनू न। सम्हालेर है, केही नखसाउनु होला, आपसमा अल्झिएका छन्।" खुल्ला बट्टा अफिसरतिर बडाएर कनुले भनिन्। अबचाहिँ अफिसर साँच्चै डरायो। "होस्होस् छोडिदेऊ। तिमी जानसक्छ्यौ।" उसले बट्टा बन्द गर्यो, कनुप्रियालाई दियो र सुटकेस उचालेर ऊसँगै बाहिर निस्क्यो। "तिमी एक्लै पहिलो पल्ट आएकी हो ?" "हो।" "कसलाई भेट्न आएकी ?" "आफ्ना श्रीमान्लाई। अब हामी यहीँ बस्ने, एउटा राम्रो डिग्री लिउन्जेल र त्यसपछि पूरै यूरोप, अमेरिका आदि घुम्न जाने।" कनुको आवाजमा बालसुलभ उत्सुकता थियो। "ल ल।" उनको स्वप्न-शृङ्खलालाई भत्काउँदै अफिसरले भन्यो? "तिमी आफ्नो श्रीमान्लाई चिन्छ्यौ, होइन ?" कनुका आँखामा आश्चर्य, अविश्वास र उपहासका ज्वाला एकैपल्ट देखापरे र अफिसर डराएर तीन कदम पछि हट्यो। "किन चिन्दिन ?" "तिमी यसभन्दा धेर केही बोल्दिनौ कि क्याहो ?" दोस्तीको हात बढाउँदै उसले कनुप्रियातिर हेर्यो। तर कनुका आँखाहरू त सुबोधलाई खोज्न चाहन्थे। अफिसरले सुटकेस बाहिर बरन्डामा राखेर फर्किनलाई घुम्यो। उसले बुझ्यो यहाँ दुर्घटनाचाहिँ हुनसक्छ तर गन्जाजोल हुन सक्तैन। कनुप्रियाका आँखाहरूमा, क्रान्तिकारीजस्तो, योगीजस्तो, अबोध शिशुजस्तो, सत्यको सागर उर्लिरहेको थियो। कनुप्रियाको आँखाको जिद्धीपन, केही गर्ने चाह, अफिसरलाई राम्रो लागेको थियो। "बेस्ट अफ लक।" उसले फर्केर जाँदाजाँदै भन्यो। अब कनुका अगाडि सिमेन्ट र कङ्क्रिटको घना जङ्गल थियो। मानिसहरू हतारमा यताउति कुदिरहेका थिए। हजारौँ आवाजहरू चारैतिर चरा उडेजस्तो उडिरहेका थिए। कनुले सबै देखिरहेकी थिइन्; सुनिरहेकी थिइन्; सुबोधबाहेक। सुबोध, जसका लागि कनु, उसकी पत्नी कनु, यहाँसम्म एक्लै आइपुगेकी थिइन्। उनै सुबोधको, टाढा-टाढासम्म कहीँ अत्तोपत्तो थिएन। के गर्नु ? कसो गर्नु ? कनुले केही सोच्न सकिरहेकी थिइनन्। "कहाँ जाने हो बहिनी ?" भनेर सोध्दै कसैले उनको पिठ्यूँमा हात राख्यो। यो अप्रत्यासित सहानुभूतिले कनु तृप्त पनि भइन् र हडबडाइन् पनि। कुनचाहिँ भावना धेरै बलियो थियो भन्न गाह्रो छ। "मेन्सफिल्ड" "म रग्बी जाँदै छु। हिँड न त, तिमीलाई मेन्सफिल्डसम्म पुर्याइदिउँला। धेरै टाढा छैन।" "हजुर पर्दैन। वहाँ आउँदै हुनुहुन्छ होला।" कनुको बोली सहज र मीठो थियो। ती अजनबीको आफ्नोपनले कनुप्रियाको मनलाई च्वास्स छोयो। "तिमी किन फोन गर्दिनौ ? भाइ वहाँबाट हिँडे कि हिँडेनन् ?" "हजुरले ठीक भन्नुभयो।" कनुले गोजीबाट नम्बर निकालिन् र सँगै रहेको तीन पाउन्डबाट एक पाउन्डको सिक्का पनि। "तपाईँ नै यसको खुद्रा दिनुस् न ल !" सहृदयी सरदारजीलाई उनमाथि दया जागेर आयो सायद उनकी बहिनी पनि यही उमेरकी अबोध र नासमझ थिइन् होला। "यसलाई आफ्नो गोजीमा सम्हालेर राख बहिनी ! परदेशमा एक्लै छ्यौ तिमी।" कनुप्रियाका आँखा रसाए। उनलाई कसैको उपकार लिन कहिल्यै राम्रो लागेन। विशेषतः स्नेह र सहानुभूतिको त अझ होइन। किनभने त्यो यस्तो ऋण थियो जसलाई तिर्न उनी सदैव आफूलाई असमर्थ पाउँथिन्। तर आज उनलाई जन्मौँदेखि छुट्टिएको दाइले ऋणी त बनाइहाल्यो। यी अपरिचितका आवाजमा यस्तो स्नेह? यस्तो ख्याल र यति आग्रह थियो कि कनुले चाहेर पनि नाइँ भन्न सकिनन्। दस पेनीको त्यो सिक्का कहिले उनको हत्केलामा आयो, कतिबेला उनी टेलीफोन बुथतिर घुमिन्; कतिबेला नम्बर घुमाइन्, कनुलाई केही थाहा भएन। अर्कातिरबाट आवाज आइरहेको थियो- 'डा. सुबोध त आज छुट्टीमा हुनुहुन्छ र कुनै व्यक्तिगत कामले लन्डन जानुभएको छ।' कनुले आश्वस्त भएर फोन राखिदिइन्। ढिलो-चाँडो उनका बाँसुरीवाला उनलाई लिन आउनेवाला थिए। फोन राख्नेबित्तिकै उनका आँखाहरू धन्यवाद दिनलाई देवदूतजस्ता दाइलाई खोज्न थाले तर देवदूतहरू भुइँमा कतिबेर पो टिक्छन् र ? अनुहारको भीडभाडमा त्यो नवपरिचित अनुहार कता हरायो कता ! कनुले लामो पर्खाइका लागि आफूलाई छेउकै एउटा बेन्चमा सेटल गरिन्। मुस्किलले दुई पल बितेको थियो होला, अगाडिबाट आउँदै गरेका नवयुवकले निहुरेर उनलाई नमस्कार गरे- "मलाई चिन्नुभयो ? भन्नोस् त म को हुँ?" आएका नवयुवक बारम्बार सोधिरहेका थिए। कनुका आश्चर्यचकित आँखाहरू यस मिलनसार देशको एउटै कुरा पनि बुझ्न सकिरहेकी थिइनन्। पहिले सहृदयी सरदारजी अनि त्यसपछि यो पहेली प्रस्तुत गर्ने यो अपरिचित। अचानक स्मृतिको बिजुली चम्क्यो, तुवाँलो हट्यो र सुबोधका काकाका छोराहरूका अनुहारहरू एकपछि अर्को बर्सातका थोपाहरूजस्तो उनका आँखाअगाडि टप्किन लागे। "ध्रुव भाइ !" विश्वस्त कनुले हाँस्दै भनिन्। "अरे भाउजू, तपाईँले पहिले मलाई कहिल्यै देख्नुभएको थिएन, फेरि कसरी चिन्नुभयो ?" लुकी-डुम खेलमा अब कनुलाई पनि आनन्द लाग्न थालेको थियो। "मसित, जादूको चस्मा छ नि त।" कनुको वाक्य पूरा हुन नपाउँदै दुवैजना मज्जाले हाँसे। "अनि जनाब कहाँ लुक्नुभएको छ ? कनुले यताउति सुबोधलाई खोज्दै भनिन्। ध्रुव भाइले केही भन्नै नपाई अगाडिको भित्तापछिबाट सुबोध निस्केर आए र उनीपछाडि एक, दुई, तीन गर्दै बीसपच्चीसजना मान्छेको ताँती लाग्यो? एकपछि अर्को। "स्वागत भाउजू !" "वेलकम होम कनुप्रिया !" कनुले बुझिरहेकी थिइनन् यो माया र अपनत्वको जबाफ कसरी दिने। "धन्यवाद, धन्यवाद !" कनु आभारले दबिएकीदबियै थिइन्? त्यसैबेला एउटा कडा अनुहार, लम्बा-चौडा शरीरसहित ठिक्क अगाडि आएर उभियो। "म तिम्रो जेठाजु हुँ र यी तिम्री जेठानी। हाम्रा गोडा छोऊ।" कनुका हँसिला तरल आँखाहरूमा विद्रोह उत्रियो। पहिले जेठाजुजस्तो माया र व्यवहार त गर अनि यो अधिकार त म स्वयम् नै दिइहाल्छु नि। अहिलेका लागि यो परिचयको 'नमस्ते' नै काफी छ। जोडिएका हातहरूसित दम्पतीतिर हेरिरहेकी विनम्र कनुले केही भन्नै सकिनन्। सामान कतिबेला कुन कारमा गयो कनुलाई पत्तै भएन; अँ, उनले आफूलाई चाहिँ एउटा कारमा जेठाजु, जेठानी र सुबोधसँग पाइन्। ध्रुव भाइ कारको स्टियरिङमा भएकोले लाग्थ्यो कार उहाँकै हो। "त, तिमीले साहित्य पढेकी छौ ?" गर्विलो आवाजले कनुको इन्टरभ्यु लिइरहेको थियो। "हजुर कोसिस गरेकी छु।" "सेक्सपियरका कुनकुन नाटक पढेकी छौ ?" "यो शब्दको उच्चारण कस्तो हुन्छ ?" आदि आदि निरर्थक शब्द, यताबाट उता मोडिँदै, स्क्रिच गर्दो कारजस्तै, जताततैबाट आएर कनुका कानमा ठोक्किइराखेका थिए। नचाहिएका कर्कश आवाजहरू। थाकेकी कनुको माया लागेर निद्रादेवीले झट्ट उनलाई आफ्नो आँचलमा लुकाइन्। एउटै पनि जवाफ नपाएपछि जेठाजूले बन्दुक सुबोधतिर फर्काए "यो कुन बच्चीलाई उठाएर ल्यायौ ?" अर्को बिहान चहलपहल थियो। पाहुनाहरूले घर भरिएको थियो। कनुले आफू सुतेको कोठाबाहेक घरको कुनै कुना पनि देखेकी थिइनन्। "आरामले सुत्यौ ?" बाथरुमबाट टाउको निकालेर अर्धनिद्रामा भएकी पत्नीलाई मायालु पाराले सोधे सुबोधले- "खाजामा के लिन्छ्यौ ?" "म बनाउँछु नि।" धेरै सुतेर लजाएकी कनुले भनिन्। "पर्दैन ! पर्दैन ! एकछिन अझ आराम गर। अहिले साढे छ त बज्दै छ। मलाई एक राउन्ड लिन अस्पताल जानु छ। लुगा मैले वासिङ मेसिनबाट धोइदिएको छु। तिमीले सबैजनालाई खिचडी बनाउनु। सबै सामान, मसला आदि भान्सामै राखेको छ।" कनु बिजुलीजस्तै ओछ्यानबाट निस्किइन् र दुई मिनेटभित्रमा लुगा फेरीओरी भान्सामा पुगिसकेकी थिइन्। चिया खाने लहर थियो त्यहाँ। अनगिन्ती देवर र जेठाजुमध्ये कसैले खिचडी पनि बसाइसकेका रहेछन्। काम छिटै सकिँदै गइरहेको थियो। सेखुर फोरेस्ट डुल्न जानुपर्ने। यति धेरै केटाहरूका बीचमा एउटी देउरानी पनि थिइन्। अँ, एउटी जेठानी हुनुहुन्थ्यो तर कनुलाई जेठानीदेखि धेरै डर लाग्थ्यो। हिन्दुस्तानमा धेरै जेठानीहरूको सामना गरिसकेकी थिइन् कनुले। 'रङ अलि गहुँगोरो छ। अलिक अग्ली पनि छे। उठ्ने-बस्ने कुनै तरिका छैन। अहिले केटाकेटी नै छ, दुईचार दिन घरमा कन्ट्रोलमा रही भने आफैँ सिकिहाल्छे र आफैँ घुलमिल हुन्छे' आदि जस्ता टिप्पणीबिना यहाँका मान्छेको खाना त परै जाओस् पानी पनि पच्दैनथ्यो। त्यसै पनि दूरबिनको मुन्तिर राखेको कीराजस्तै अब्जेक्सनमा बसिरहन कनुलाई राम्रो लागेन र त्यहाँबाट चुपचाप आफ्नो कोठामा गइन्। बिस्तारै कपडा सुकाउनका लागि वासिङमेसिन खोलिन् र भेटिन् विदेशी भूमिमा पहिलो आहूति, आफ्नो प्रिय साढे छ गजको कान्जीबरम् साडी आधुनिक प्रविधिलाई सहन गर्न नसकेर लजाएर डेढ गजमा सीमित भएर मुख लुकाएर बसेको। कनुका अनेकन् प्रयासले पनि त्यसको चाउरिएको र खुम्चिएको व्यक्तित्व आफ्नो पूर्ण-रूपमा आउन सकेन। कनुप्रिया जागिन्। यसरी त भएन अब चार्ज आफैँ लिनुपर्यो। भिजेको कपाल तौलियाले सुकाएर बाहिर निस्कँदा सबैका आँखा उनीमै केन्द्रित थिए। आफ्नो कपालको जादू त कनुलाई थाहा थियो तर यो स्तम्भित मौनताले उनी अलि धेरै नै लजाइन् र विचलित भइन्। लरखराउँदै गरेकी कनुले नमस्कार भनेर एउटा बन्द राखिएको दराजको पल्ला त्यत्तिकै खोलिन् र अनायास केही खोज्न थालिन्। त्यसैबेला कथित जेठाजुले पछाडिबाट आएर कानमा खुसुक्क भने- "यी कपालहरूलाई खुल्लै छोड्ने गर। कति सुन्दर देखिन्छ्यौ ? बित्थामा यिनलाई चुल्ठामा बाँधेर किन राख्छ्यौ ?" कनु फनक्क फर्किइन् र केही नबोली कम्मरमा मनपरी गरिरहेका कपालहरूलाई कसेर चुल्ठामा बाँधिन्। अर्को दिनको बिहानी खुसीले भरिएको थियो। इङल्यान्डको रूप यौवनको उत्कर्षमा थियो। चारैतिर गुलाबका लहरहरू बास्ना फैलाइरहेका थिए। बिजी, लिजी र पुटेनियाले सजिएका, बरन्डामा झुन्डिएका ह्याङ्गिङ बास्केटहरू आफ्नै फूलका बोझले भुइँसम्म झुन्डिइरहेका थिए र हराभरा लन कोठाको गलैँचाभन्दा नरम र आनन्ददायक लाग्दथ्यो। कनुलाई लाग्यो बटुकी बाहिर ल्याऊँ, ओसले नुहाऊँ, हराभरा घाँसमा नाङ्गो खुट्टा दौडिऊँ, लडीबुडी गरूँ र त्यहीँ बादल ओढेर सुतौँ। उसो त कनुले गरुन् त के गरुन् ? पाहुनाहरू आ-आफ्ना घर गैसकेका थिए। सामानहरू पनि यथास्थान मै व्यवस्थित थिए। अस्पतालको सिटिङरुममा बसेका आप्रवासी भारतीयहरूका हूल एसियन कार्यक्रम हेर्न आतुर देखिन्थे। कनुका उत्सुक आँखाहरू स्क्रिनमा गएर अड्किए। ठूलठूला अक्षरमा लेखिएको थियो "आफ्नै घर सम्झनुहोस्" कनुको गला अवरुद्ध भयो। आँखा तिरमिराए। यो ठाउँ, आफ्नो घर ? एउटै चिनेको अनुहार देखिँदैन ? उदासीका बादलहरूले उनलाई चारैतिरबाट घेरे। आफ्ना घरमा त आमा, हजुरआमा, काकी, दाजु, बुबा सबै हुन्छन्। कसरी मान्नु यसलाई आफ्नो घर ? यो एक्लो घरमा टाढाटाढासम्म कुनै आवाज नै आउँदैन। कोहीकोही बेला त यति धेरै सुन्ने हुन्छ कि फोनमा बोल्दै गरेको आफ्नै आवाज नौलो लाग्न थाल्छ। भरिएका आँखा नजर बचाएर पुछ्न लागिन् तर उनले थाहै नपाई कसैले उनलाई पढिरहेको थियो, हेरिरहेको थियो। "म अतिया सरिफ हुँ। मेरा श्रीमान् यसै अस्पतालमा काम गर्नुहुन्छ। म यहाँ आउँदा पनि तिमीलाई जस्तै एक्लोपनाले सताएको थियो। बेलुका मेरा घरमा आऊ न, गफ-गाफ गरौँला, म मेरो भनौँला, तिमी तिम्रो भनौली। मलाई आपा पनि भन्न सक्छ्यौ, तिमी मेरी बहिनी आनियाजस्तै त छ्यौ, जो आफ्नी बाजी बिना ससाना कुरामै रोइहाल्ने ! दिदीको मायालु काउकुतीले कनुका सबै आँसु हाँस्न थाले। तुरुन्तै अर्को दिन कनु दौडेर दिदीकहाँ पुगिहालिन्। मीठो रोटी-दालको सुगन्धले कनुको रिसाएको भोकलाई फकायो। आपाले कनुलाई मनग्गे माया दिनुभयो र दिनुभयो प्रशस्त उपदेश पनि, अनि दिनुभयो छेउको किराना पसलको नम्बर, पोट्याटो पिलर, स्रेडर, बेलना र अरू केके हो केके ! कनुलाई पहिलोपल्ट वास्तवमै आफू कनुप्रिया भएजस्तो लाग्यो, त्यसैले त बाँसुरीवालाले आफैँ दिदी पठाइदिएका। "म आफैँ हिँडडुल गर्दा तिम्रो हालखबर बुझ्छु। फोन पनि गर्छु र त्यत्तिकै टप्किन्छु पनि। " "अवश्य ! बाजी।" कनुले गद्गद् हुँदै भनेकी थिइन्। अनि फेरि बाजी त टुप्लुक्क टप्किनुभएको थियो भोलिपल्ट बिहानै। कनु त सुदामाजत्तिकै बौलाएकी थिइन्। कहाँ बसाउनु ? के खुवाउनु ? "हजुर चिया लिने कि कफी ? तातो कि चिसो ?" "अरे बाबा ! एकछिन बस्न त देऊ।" बाजीले हाँस्दै भन्नुभएको थियो। "ल चिया पिऔँ न त।" कनुका गोडामा पखेटा लागे। दौडेर गइन् कित्ली बसाइन्। उनका केटाकेटीका जस्ता आँखामा जोसिलो कुतूहल थियो। आफ्नी बाजीका बारेमा सबैथोक जान्न चाहन्थिन्। ए ! तपाईँ लाहोरबाट, हामी त अजमेरका हौँ। अजमेर र लाहोरको कुरा गर्दागर्दै दुवै जनालाई चार घण्टा बितेको पत्तै भएन। अचानक बाजीले भन्नुभो "अब चिया खुवाऊ न त।" "अरे ! राम ! मेरो कित्ली" कनुलाई मानौँ करेन्ट लाग्यो। उनी तीरको गतिमा किचनमा पुगिन्। कितलीको नाममा बस एउटा प्लास्टिकको ह्यान्डल बडो दयनीय र लाचार भएर कनुको प्रतीक्षा गरिरहेको थियो। कनुका आँखा चम्किए। यति सुन्दर रङ ? उनीभित्रको कलाकार सबैथोक बिर्सेर छेउमा भएको ट्रे र चक्कू लिएर कला-सृजनामा तल्लीन भयो। पछाडि उभिएकी बाजी पनि मन्त्रमुग्ध हेरिरहनुभएको थियो। सिद्धहस्त कलाकारका हातहरू सजिएर ट्रेमा दुईवटा सुन्दर सूर्यमुखी फूलहरू मुस्कुराउन थाले। बाजीले बहिनीलाई अँगालामा बाँध्नुभयो, निधारमा चुम्बन गर्नुभयो र भन्नुभयो "तिमी साँच्चै राम्री छौ, प्यारी छौ। ल अब म तिमीलाई चिया खुवाउँछु।" "अहँ चिया त मै बनाउँछु।" कनुले लजाउँदै भनिन् र दुवै दिदीबहिनी मज्जाले खित्का छोडेर हाँसे। "महिनाहरू दिनजस्तै बितिरहेका थिए। न्यानो बिहानीलाई कनु चियाको चुस्कीसँगै पिइरहेकी थिइन्। "अब के गर्ने विचार छ।" छुट्टी बिताउन आएका जेठाजुले कनुतिर फर्केर सोधे। "नुहाउन जान्छु।" कनुले अल्छीलाग्दो स्वरमा जबाफ दिइन्। "मैले आजको होइन, भविष्यको कुरा गरेको। एम.ए. गरेकी छौ। कुनै नोकरी गर्न सक्छ्यौ। तस्बिर बनाएर बेच्न सक्छ्यौ। सुबोधलाई थोरै भए पनि आर्थिक मद्दत हुन्छ। तिमी आएपछि खर्च बढेका छन्। भोलि घरगृहस्थी बढ्छ। एउटै तलबबाट कसरी गुजारा चल्छ ? तिमीले आफैँ सोच्नु-बुझ्नुपर्छ। पढेलेखेकी छ्यौ। बिहेको अर्थ श्रीमान्सँग सुत्नु र मस्ती गर्नु मात्र होइन नि !" नाङ्गा शब्दहरूको प्रहारले कनुका गाला राता भए। बुझेकी थिइनन् उनले यो सब उनले के सुनिरहेकी थिइन् र किन सुनिरहेकी थिइन्। हिजै जस्तो त हो आफ्नो नयाँ जिन्दगी सुरुवात गर्दै सुबोधले साथी भएर वाचा गरेका थिए- हरेक समस्या, हरेक बाधा र दुःखलाई मिलेर बुझ्ने, सुल्झाउने र सहने। यही हो त एकआपसमा समझदारीको प्रयास ! अर्काले आफ्नो घर नै नङ्ग्याओस् ! कनुले त अर्काका कामका लागि आफ्नो प्रयासमा त कहिल्यै कमी ल्याइनन्। फेरि सुबोधले किन उनलाई यसलायक सम्झेनन् ? लाज र ग्लानिले उनी भुइँमा भासिइरहेकी थिइन् तर जमिनचाहिँ फुटिरहेको थिएन। विवेक र सन्तुलन खोज्दै सामान्य हुने प्रयासमा सहज भएर बोलिन् -"तपाईँ हाम्रो पाहुना हुनुहुन्छ। बैठक र अतिथि-गृहका ढोका तपाईँका लागि सधैँ खुल्ला छन् तर कृपा è |