Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

प्रथम पृष्ठ ( Home )

हवन शेष

 

 

        त्यस जनवरीको पहिलो दिनको जस्तो हिमपात त त्यस क्षेत्रमा करिब सय वर्षदेखि भएको थिएन होला। समाचारमा हिउँको आँधी आउँछ भन्ने थियो। तर आँधी यस्तो अचम्मको आउँछ भन्ने आस कसैलाई थिएन। त्यसैले हवनको निम्तो आउँदा कार्यक्रममा परिवर्तन गर्ने कुरा कसैले झिकेन। त्यसै पनि अचेल जाडाको मौसम हुनाले हिमपात त भई नै रहन्छ।

        बिहान सबै आफ्ना घरबाट हिँड्दा आकाश मेघाच्छन्न नै थियो, केही होलैजस्तो। तर यस्तो भयङ्कर स्थितिको कल्पना कसैले गरेका थिएनन्। अब त बाहिरको स्थिति खराब भैसकेको थियो। वेगवान् सरसराउँदो बतास र हिउँको दनादन वर्षा रोकिने छाँटै थिएन। चारैतिर सेतैसेतो, सेतोबाहेक त रङ नै बाँकी नभएजस्तो। सडक, घरहरू, रूख-विरुवा, पृथ्वीको प्रत्येक भाग हिउँले पोतिएको थियो। समस्त वातावरणमा आँधीको भयावहपन व्याप्त थियो भने सेतो रङको सात्विकताले त्यस भयावहपनमाथि अनौठो सौन्दर्य थपेको थियो।

  गुड्डोले सधैँझैँ यसपालि पनि जनवरीको पहिलो दिनमा हवन गराएकी थिइन्। परिवारका सबै सदस्यहरू भेला भएका थिए। घरका कोठाहरूमध्येको ठूलो बैठक कोठामा हवनको व्यवस्था गरिएको थियो। यो सहरी फ्ल्याटको बैठक नभएर सहरबाट केही टाढा हरियाली भएको ठाउँमा लिएको घरको बैठक थियो।

     गुड्डोको घर साँच्चै ठूलो थियो। राजू र उसकी श्रीमती पनि सँगै बस्थे। गुड्डोकी प्यारी सानी नातिनी थिई, उर्वशी। ऊ गुड्डोको काखमा बसेर सबैलाई टुलुटुलु हेरिरहेकी थिई। तर बेलाबेलामा केही न केही उपद्रो गर्न पनि भ्याइहाल्थी। कोहीबेला हवनसामग्री छर्नतिर लाग्थी भने कोही बेला हवनको आगो छुन निरन्तर प्रयास गरिरहन्थी र हजुरआमाले उसलाई अँठ्याएर काखमा बसाउँथिन्।

  हवन हुन्जेल बाहिर कस्तो मौसम छ भनेर कसैले ध्यान दिएका थिएनन्। मन्त्रपाठ सकिएपछि सबै महिलाहरूले मिलेर भजन गाए र त्यसपछि शान्तिपाठ भयो। घरभित्रको समस्त वातावरण नै घ्यू, धूप, चरु र हवनको धुवाँको सुगन्धले सुवासित थियो। यही बास्नालाई गहिरो श्वासमा तानेर प्रसादमा पाइएको सुजीको चिल्लो र दानादार हलुवा खान सबैलाई मजा आइरहेको थियो। मानौँ भर्खर परेको फर्र गर्ने हिउँ उनीहरूको हातमा पर्नेबित्तिकै मनतातो हलुवा भएको छ।

   हेर्दाहेर्दै टेबलमा खाना पनि तयार भैसकेको थियो। पुरी पकाएको बास्नाले हवनको सुगन्धलाई छोप्नै लागेको थियो। सबैजना टेबल वरिपरि झुम्मिन लागे। गुड्डोले दहीबडा, काउलीको सुख्खा तरकारी, रसवाला आलु, अमिलो चना र अमिलै फर्सी बनाएकी थिइन्। यी सबै चीजहरू पुरीसँगै खानका लागि बनाइएका थिए। खाना टेबलमा राखिसक्नेवित्तिकै सबजना खानामा यसरी झम्टिए मानौँ यसैका लागि अरू सबै कुरा सहेर बसेका थिए। तनिमा-अनिमा, राधिका-कनिका सबैका फुच्चा-फुच्चीहरू खूब होहल्ला गरिरहेका थिए। तनिमाका श्रीमान् अनुज, हवनकी लेखिका र केही अन्य अलिक पर अलग्गै कुरा गर्न लागेका थिए, टेबल छेउमा केही ठाउँ खाली होस् र अरूले पनि खाइसिध्याऊन् भनेर।

  अनुजले सुरु गरे, "मैले भर्खरै 'हवन' पढी सिध्याएँ। मलाई आफ्नी सासूको विषयमा थुप्रै कुरा थाहा भयो जो पहिले बुझेको थिइनँ।"

  लेखिका छक्क पर्दै, चुपचाप सुनिरहेकी थिइन्। अनुजले फेरि थपे- "साँच्चै वहाँको चरित्रको बारेमा थुप्रै कुरा बुझेँ।

  लेखिकाले ध्यान दिएर उसतिर हेरेर भनिन् 'तर........... '

  "विशेष गहनाको कुरा.......... "

  "के अरे ?"

  "गुड्डोले आफ्नी छोरीलाई गहना घर लिएर नजान भन्छिन् सासूले उतै राख्छिन् भनेर। अब मैले बुझेँ तनुले किन सबै गहना यहाँ ल्याउन चाहेकी थिई।"

  "तर मलाई यी सब कुरा त थाहा छैन। मैले त आफ्नै कल्पनाले....... "

  "यो कसरी हुन सक्छ र, यहाँ त हुबहु बोल्ने तरिका पनि....... "

 

  उनी अक्क न बक्क भएर अनुजलाई हेरिरहेकी थिइन्। पिङ्की टुप्लुक्क आएर गफमा मिसिन पुगिन्। रिसाउँदै भनिन् "यस यू ह्याब बीन वासिङ डर्टीलन्ड्री इन द पब्लिक। तैँले पिङ्कीले गुड्डोलाई घरबाट निकालेको देखाइस होइन ? मैले कहिले निकालेँ उसलाई ? तैँले जसरी घरबाट जबरजस्ती निकालेको कुरा गरेको छ त्यस्तो त भएकै छैन। साँचो कुरालाई यसरी नबङ्ग्या त।"

  "साँचो कसले लेख्या हो र ? मैले त कथा लेखेको न हो।"

  "कथै लेखेको हो भने हाम्रै कथा चैँ किन लेखेको ? अरूथोकै लेख्‍नू नि।"

  "मैले कथालाई कुनै अनुभवमा आधारित गर्न खोजेकी थिएँ जसमा सत्यताको रङ होस्, बास्ना होस् र विश्वसनीय लागोस् ..... कपोलकल्पित कथा मलाई मन पर्दैन... तिनमा जीवनरस हुँदैन।"

  "त्यसो भए जीवनरस भर्नलाई हाम्रै जीवन भेटियो त ?"

  तपाईँको जीवन ठूलो छ, व्यापक छ र त्यस्तै रहोस् पनि। म त एउटा चाखलाग्दो टुक्राको खोजीमा थिएँ, जसले एक किसिमको जीवन, तौरतरिकाको नमूना प्रस्तुत गरोस् वा प्रतिनिधित्व गरोस्.... त्यसैले केही .... "

  "हामी नै भेटियौँ तँलाई...... -"

  "होइन, तपाईँलाई होइन, म त छेउछाउमा खोज्दै थिएँ, जसलाई चिन्न सकूँ, बुझ्न सकूँ.... जुन मेरै अनुभवको छेउमा होस्।

  "त्यसैले हामी तेरा आफन्त भएर यही नोक्सानी भयो....... तैँले हामीलाई नै छेउछाउ ..........।"

  "होइन, मेरो मतलब यो होइन....... म त तपाईँलाई लेखकको रचना-प्रक्रिया बुझाउने प्रयास गर्दै छु। अनुभव त उपन्यासको महललाई उभ्याउने आधार मात्र हो। त्यसमा कल्पनाशिल्प... .... अर्थात् अरू धेरै थोक हुन्छ जो अनुभवइतर हुन्छ .... फेरि पनि प्रामाणिक भने त्यही हुन्छ..... अर्थात् कल्पना नै भए पनि त्यसमा प्रामाणिकता या सत्यको अंश होस्, सत्य जसलाई काव्यसत्य पनि भनिन्छ ...... घटना कसैसँग घटित भएको हुनुपर्छ भन्ने जरुरी छैन तर लेखकको अनुमानमा घटनीय होस्, जोसँग पनि घट्न सकोस्- तपाईँ, ममा व्यक्तिगतरूपमा घटेनघटे पनि, चिने जानेकामा नघटेको होस् तर सम्भाव्य होस्.... मैले भन्न खोजेको चाहिँ........ "

  वास्तवमा लेखिकाले आफ्नो कुरा बुझाउन सकिरहेकी थिइनन् र लेखकीय शब्दजालमा अल्झिरहेकी थिइन्। 'रचना प्रकृया' जस्तो संस्कृत-हिन्दी शब्द त्यो पन्जाबी अमेरिकी परिवारमा कसले बुझोस् र ? उनले त आफैँ पनि 'हवन' किन, कसरी र कैले लेखिन् भन्ने कुरा बिर्सिसकेकी थिइन्।

  'हवन' प्रकाशित भएको धेरै वर्षपछि यो कुराकानी भैरहेको थियो। उनी त उहिल्यै त्यस किताबबाट निस्केर अर्को उपन्याससँग बाँच्न थालिसकेकी थिइन्। तर परिवारका सदस्यले भने उनको ख्याति फैलिएपछि मात्र पढ्ने आवश्यकता अनुभव गरेका थिए। यसैले उनीहरू सबैलाई यी सबै कुरा ताजै थिए र लेखिकाले लेखेकै भए आफूले लेखेका हरेक हरफहरू याद त हुनैपर्ने हो भन्ठान्थे।

  पिङ्कीमा नै पनि यी सबै सुन्ने धैर्य थिएन "आफ्नो प्रसिद्धिका लागि कथा लेख्‍नु थियो भने हामीलाई नै चाँहि निशाना किन बनाएको ?"

  तनु लम्किँदै आई र अनुजलाई अँगालो मार्दै इत्रिँदै भन्न थाली "'हवन' पढेदेखि अनुज मसँग झगडा गरिरहन्छन्। तँ एस्ती, तेरी आमा उस्ती, तेरो खानदान यस्तो। यिनलाई सित्तैमा मसँग झगडा गर्ने मसला भेटियो। तपाईँले त हाम्रो डाइभोर्स गराउन लाग्नुभयो।"

  पिङ्कीले लेखिकाको काँध हल्लाएर भनिन् "मलाई भन् त, तैँले आफैँलाई पात्र किन नबनाएको ? हामीलाई नै किन बनाएको - तीन बहिनी छन्। चौथी कता गई - मरी - के भन्छेस् उसका बारेमा ?"

  लेखिकाले हाँस्दै भनिन्- "चौथीले बाँकी तीनजनाका बारेमा लेख्दै थिई।"

  "त्यही त आफूलाई एउटा पात्र बनाउनुपर्थ्यो र देखाउनुपर्थ्यो घरको फोहोर कपडा धुने काम कति घटिया हो।"

 

कहिले कसैसँग पनि ठूलो स्वरमा नबाझ्ने र नबोल्ने गीता जो अहिलेसम्म चुप लागेर बसेकी थिइन् विस्तारै लेखिका छेउमा आएर भनिन् - "तैँले यो काम चाहिँ राम्रो गरिनस् है। म त वहाँलाई कहिल्यै तेरो किताब दिन्नँ..... हाम्रा घरमा त तूफान मच्चिन्छ। म त वहाँदेखि लुकाएर राख्छु तेरो किताब। म आफू पढिसकेर चाहिँ घरमा नै राख्दिनँ, वहाँले भेट्नुभो भने ?"

  गुड्डो अहिलेसम्म पुरी पकाउन व्यस्त थिइन्। पुरीको थाल टेबलमा सजाउन आउँदा सबैजनाले लेखिकालाई घेरेको देखेर आफू पनि त्यतै सामेल भइन्।

  "तैँले मेरो र जुनेजाको अफेयर चाहिँ किन देखाएको - उसकी स्वास्नी ऊसँग झगडा गर्थी रे उसको मसँग अफेयर थियो भनेर - हेर्, बसीबसी समस्या भएन त - अब ऊ मलाई मद्दत गर्न पनि आउँदैन। उसले त 'मलाई बिनसित्तिमा बदनाम गरिदियौ' भन्छ।"

  "तर मलाई त थाहै छैन, मैले त गुड्डोको प्रेमीमात्र देखाउन खोजेकी थिएँ। यो उपन्यास रचनाको एउटा आवश्यकता थियो। त्यही मैले भनेँ नि- काव्यसत्यको कुरा। यस कुराको तपाईँसँग कुनै वास्तै छैन। अर्थात् यो त मात्र कल्पनाको कुरा थियो।

  किन ? तैँले त साँच्चैको डाक्टर देखाएकी छेस्..... म उसलाई चिन्दछु। उसले हाम्रो सहायता पनि गरेको छ ...... यी सब कुरा त ठीकै थिए तर तैँले त आफ्नै मर्जीले प्रेमसम्बन्ध पनि गराइदिइस् ......।"

  लेखिकालाई लाग्यो गुड्डोको मनभित्र कुनै तार झङ्कृत भयो। सायद केही 'दबिएका' कुराले 'हवन' मार्फत् अभिव्यक्ति पाएजस्तो। अनि उनले गुड्डोको शान्त पोखरीमा ढुङ्गा फ्याँकेर आनन्द लिइन्।

 

  एकातिर उनलाई सबैका टीकाटिप्पणीहरूले रमाइलै भइरहेको थियो, अर्कातिर दिक्क पनि लागिरहेको थियो। कसलाई के बुझाउनु र आखिर - जो आफैँ केही लेख्दैन उसले लेखनयात्रा, प्रक्रिया र सार्थकता कसरी बुझ्न सक्छ। कस्ता अनपढका बीच आइपुगेँ भनेर झर्को पनि लाग्यो उनलाई। जसलाई मनमनै अनपढ भन्ने साहस गरेकी थिइन्, तिनीहरू नै यस समाजमा पढेलेखेका मानिन्थे- डाक्टर, इन्जिनियर, संस्थानका ठूला पदवाला।

 

  हिमपात अझै पनि तीब्र नै थियो। चिसाले गर्दा झ्यालढोकाहरू पूरै बन्दै थिए। पुरी तार्ने कामले कोठामा धूवाँ र चिल्लो गन्ध भरिँदै गइरहेको थियो। मसलाको गन्ध त पहिलेदेखि नै थियो। खाना खाइवरी सबैजना हिँड्ने तयारीमा थिए तर एकफुट बाक्लो हिउँमा निस्कने आँट कसैको थिएन। यस्तो ठूलो तूफानको खबर त सूचना विभागसँग पनि थिएन। फेरि, अचानक तूफान न्युजर्सितिर मोडिएको थियो।

  एक सफल डाक्टरको दर्जामा पुगेका राजुले आमासँग भने "मलाई त अस्पताल जानु छ। ड्राइव वेबाट हिउँ त हटाउनै पर्‍यो नि।" ऊ हिँड्नैलाग्दा अणिमाले लेखिकातिर फर्केर भनिन् - "तपाईँले राजुलाई के गर्दिनुभयो ? विचरालाई ड्रगडिलर बनाइदिनुभयो। किन यसो गरेको ?"

"अँ, अनि राधिकालाई पनि मारिदिनुभयो।"

राधिका नै भन्दै थिइन् "मलाई थाहा छ त्यो राधिका मै हुँ तर मेरो पात्रलाई फेरेको छ।" राधिका डेन्टिस्ट भइसकेकी थिइन् र उनको प्र्याक्टिस राम्रै चल्दै थियो।

हाँस्तै थिइन् लेखिका "यदि त्यो फेरिएकी केटी हो भने त्यो तिमी नै हौ भन्ने कसरी लाग्यो तिमीलाई ?"

"किनभने गीताका दुइटी छोरी देखाइएको छ, मबाहेक अरू को हुन सक्छ र?"

"गजबको तर्क पो भयो यो त !"

त्यस बेला लेखिकाको छोरो अगाडि आएर भन्यो "ममीले राजुलाई त मेरो बचपनमा आधारित गर्नु भएको हो। म नै त्यसरी टिभी हेर्ने गर्थेँ। होइन ममी ?"

छोराले भनेको सुनेकोनसुनै गरेर लेखिकाले भनिन् "तर तिमीले आफ्नो नाम फेर्ने कुरा त कहिल्यै गरेनौ !"

"अँ तपाईँले अरू कसैको चरित्र मेरो चरित्रमा मिसाइदिनुभयो।"

"त्यसोभए त्यो चरित्र तिम्रो कसरी भयो ?"

छोरीको पक्षमा बोल्न अब गीता बीचमा पसिन् - "त्यही त। तैँले हाम्रा चरित्रहरूलाई जस्ताको तस्तै नलिएर फेरबदल गरेकी छेस्।"

"हजुरको भनाइमा मैँले आफ्नो परिवारको कथा लेखेकी हुँ, हैन? वास्तवमा यदि मैले परिवारको जीवनकथा लेखेकी भए, तपाईँहरूकै चरित्र उठाउँथे। तर मैले त उपन्यासमात्र लेखेकी थिएँ।"

"ल ठीक छ, उपन्यास लेखेकी भए हामीमाथि नै किन लेखेकी त?"

"तपाईँमा त लेख्या हैन, म त कथा लेख्दै थिएँ। त्यसका घटनाहरू तपाईँलाई आफ्नै घटना लागे भने अरूले पनि त्यसै भनेका छन् नि। मेरा घटनाहरूको छनोट जीवनरस मुताबिक हुनु थियो र नौवटै रस समाहित छन् त्यस जीवन रसमा..... बोल्नु-बाझ्नु, माया-प्रीति, हाँस्नु-रुनु, घृणा-भक्ति, वीरता-डरपोकपन, मोह-विरक्ति सबै। कुनै घटना कहिले त कुनै कहिले.....। जीवनको रङ ल्याउनु थियो नि त उपन्यासमा।

अब पिङ्की झन् रिसाउन थाली "तैँले अस्वीकार गर्न चाहिँ मिल्दैन है हाम्रो कथा होइन भनेर। नभए यस्तो समानता त हुने नै थिएन। यो तैँले ठीक गरिनस्। यसको फल तैँले भोग्नैपर्छ।"

लेखिकाको पनि पारो चढ्यो "तिमीले के भन्न खोजेको ?"

गुड्डोले भन्न लागिन् "ईश्वरले तँलाई सजाय दिन्छन्।"

"अरे यो त 'हवन' कै डाइलग दिनुभो नि त !" अचानक लेखिकाको मुहारमा मुस्कान फैलियो।

"अँ, मेरा संवादहरू तैँले 'हवन'का लागि लिइस् त म के गर्नु ! म त यसरी नै बोल्छु।"

 

पूरै परिवारले लेखिकालाई घेरेका थिए र सबैजना हिंसात्मक भैरहेका थिए। त्यस वेलासम्म चुप लागेर बसेका सतिन्द्र अचानक बोल्न लागे "होसियार है, होसियार। यसले आजकै कुरालाई पनि कथा बनाइदेली ! तिमीहरू कसैले पनि यसलाई आफ्ना निजी कुरा नगर्नू नि।"

गुड्डोले तुरुन्तै जबाफ दिइन् "घरको कुरा घरकै मान्छेसँग कसरी लुकाउन सकिन्छ र ? जे छ उसकै अगाडि छ।" फेरि थपिन् "अबदेखि घरको भेद नखोल्ने यसको कर्तव्य हुन आउँछ। घरको भेदीले लङ्का ढाल्छ। यो पनि विभीषण हो विभीषण !"

लेखिकाले अलिक ठूलो स्वरमा भनिन् "कुन लङ्का ढल्यो त ?"

"ढल्यो यही। दुनियाँले पढ्दै छ हाम्रो रामायण।"

"राम्रो भयो होइन र? तपाईँको कथा त अमर भयो। तपाईँलाई त खुसी लाग्नुपर्ने हो।"

तुरुन्तै गुड्डोको अनुहार उज्यालो भयो "अँ हो त। मेरा केही साथीहरूले तपाईँमाथि किताब लेखिएको छ भनेका थिए। राम्रै हो कसैमाथि किताब लेखिनु...... तर ...... मेरो नाम त फेरियो नि ?" पिङ्कीले भनिन् "के भयो त ? कथा त तपाईँकै हो। मलाई चाहिँ खल्लो किन लाग्यो भने तपाईँलाई यसले राम्रो चरित्रमा देखाई र मलाई चाहिँ खलनायिका बनाई जसले तपाईँलाई घरबाट निकाल्छे। भन्नू त, तपाईँलाई कहिले घरबाट निकालेँ मैले - तपाईँले ढाँट्नुभएको यसलाई।"

"ल ! मैले कैले घरबाट निकालेको भनेँ ? मैले त यससँग कुरै गरेकी छैन। यसले आफ्नै मनको कुरा लेखेकी हो। मैले तँलाई भनेँ र ?"

"अहँ, तपाईँले मलाई भन्नुभएन तर मलाई आफ्नी नायिकालाई घरबाट निकाल्नै थियो, जीवनका केही अरू पक्षहरू देखाउनका लागि। मलाई के थाहा थियो र...... "

गुड्डो फेरि भन्न लागिन् "तर यसले निकालेको चाहिँ हो है। धक्कै दिएर ननिकालेको भए पनि त्यस्तो स्थिति चाहिँ उत्पन्न भएको थियो।"

पिङ्की चिच्याउनै लागिन् "चुप लाग। बित्थामा मलाई बदनाम नगर। तपाईँलाई वहाँदेखि बोलाएँ। तपाईँका छोराछोरी सेटल भए, अब अरू के चाहियो तपाईँलाई ? सबभन्दा धेरै त तपाईँका छोराछोरी कमाउँदै छन्। घर किनेका छन् यत्तिका धनी भए। धन्यवाद दिन छाडेर..... यस्ता कुराले तपाईँको असलियत देखाउँछ। तपाईँ घटिया मान्छे हो।"

गुड्डोलाई पनि जोस आयो "मलाई घटिया नभन् है। म त ठूली हुँ। सबैलाई मैले काखमै राखेर पालेकी हुँ। आफ्नो स्थानमा बस्। म तँलाई यति त भन्न सक्छु। अझै पनि तेरो व्यवहार ठीक नभए म तँलाई सिकाउन सक्छु। होला अमेरिका यो तर अझै पनि म तेरी दिदी नै हुँ। तँलाई सिकाउने त मेरो हक नै छ, यस्तो कुरा नगर् है।"

पिङ्की "जैले पनि ठूली हुने धाक नलगाउनू है मलाई। यहाँ त यस्तो कुरो मानिँदैन। साना ठूला सब बराबर हुन्छन् यहाँ। यहाँ त छोराछोरीलाई समेत गाली गर्‍यो भने जेलमा हाल्न सक्छन्। तपाईँ कहाँको मूला हो र ?"

गुड्डो रुन थालिन्। अणिमाले आमालाई ढाढस दिँदै पिङ्कीसँग भनिन्- "आन्टी ! तपाईँले आमालाई यस्तो भन्नु हुने थिएन। तपाईँलाई थाहा छ, वहाँ जति नै बदलिए पनि पूरै अमेरिकी हुन सक्नुहुन्न। साना-ठूलाको फरक अझै पनि उहाँका लागि महत्त्वहीन भएको छैन। वहाँलाई यस्ता कुरा नराम्रा लाग्छन्। तपाईँभन्दा त वहाँ ठूली नै हो।"

पिङ्कीले वास्तै नगरी भनिन् "यहाँ बस्ने हो भने वहाँले आफूलाई बदल्नुपर्छ।"

 

पिङ्कीले जानीनजानी ठूलै चोट पुर्‍याएकी थिइन्। गुड्डो ठूली थिइन् र सानाबाट इज्जत पाउनु उनको अधिकार थियो। उनले आफूभन्दा ठूलालाई पनि यो अधिकार दिएकी थिइन् भने आफ्नो अधिकार उनी किन खोसिन दिन्थिन् ?

कुनामा एकापट्टि कान्जीवरमको कत्था रङको बोर्डर भएको हरियो साडी लगाएर र जूडा बनाएर चुपचाप बसेकी कनिका सबै खेलझगडा हेरिरहेकी थिइन्। गुड्डोलाई रोएको देखेर प्लेट टेबलमा राखेर छेउमा गइन्।

"तपाईँले यस कुरालाई नराम्ररी नहेर्नुहोला। अब मलाई नै हेर्नुस् न ! मलाई पनि आन्टीले उपन्यासको पात्र बनाउनुभएको छ। मेरो एउटा कालो ब्वाइ-फ्रेन्ड बनाइदिनुभएको छ। भन्नैपर्‍यो भने त म पनि धेरै थोक भन्न सक्छु। झगडै पनि गर्न सक्छु तर मलाई थाहा छ वहाँ आरामसित इन्कार गर्नुहुन्छ र मै फन्दामा पर्छु यो कुरा पनि साँचो हो कि म अरूभन्दा बेग्लै पनि त होइन। मेराजस्ता यहाँ निकै होलान्। त्यसो हुँदा यो कथा त थुप्रैको भयो नि त, हैन ?"

गुड्डो अचानक सजग भइन् र भनिन् "होइन कसले नराम्रो मान्छ र ? यसलाई कथा लेख्‍न आउँछ। यी सबै कुरा हामी माझ भएकै हुन्। फेरि खोइ त हामीले उपन्यास लेखेका ? यो कुरा मान्नैपर्छ कि यसले शून्यलाई धेरै कुराको थुप्रो बनाएकी छ। हामीहरू माझ केही न केही त सधैँ भइ नै रहन्छ। यसले बनाई र कथा भयो नत्र यत्रा कुरा कसलाई थाहा हुन्छ ?

लेखिकाले छक्क पर्दै कनिकालाई हेरिन् र सोचिन्- साँच्चै धेरै व्यावहारिक भइछ। त्यसै बेला कसैले झ्यालबाट हेरेर भन्यो "आँधी रोकियो है।"

अरूले यस किस्सामा औँला चोब्न नपाउँदै लेखिकाले श्रीमानलाई भनिन्- "खाना खाइयो अब घर जाऔँ।"

श्रीमान्‌ले भने 'हिउँ त अझै पर्दै छ'। तर लेखिका कोट लगाएर बाहिर बरन्डामा आइसकेकी थिइन्। फेरि श्रीमान्‌लाई भनिन् -सिमसिम त, धेरै बेरसम्म परी नै रहन्छ होला। कमसेकम हाइवे त सफा भयो नै होला। अहँ अब म यहाँ एक मिनेट पनि बस्दिनँ। नभए अनेक पात्रका भूत पैदा होलान् हेर्दाहेर्दै !"

श्रीमान्‌ले हाँसेर भने- "पात्रका भूत कि अवतार ?"

"एउटै कुरा भएन र ?"

"कसरी ?"

"भूत ?..... होइनहोइन अवतार !"

           ***

 

 

 

 

प्रथम पृष्ठ ( Home )