Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

प्रथम पृष्ठ ( Home )

चर्मराहट

 

 

यस बेला उसलाई आफ्नो नाम पनि सम्झना भइरहेको थिएन। उसका आँखामा आँसु आएका थिए, राता आँसु ! ऊ कहिले टाढासम्म फैलिएको भग्नावशेषलाई हेरिरहेको थियो र कहिले अगाडि बनेको कच्चा-पक्का मन्दिरलाई। त्यस भग्नावशेषबाट नौला आवाजहरू निक्लिएर हावामा लहराएजस्ता लाग्थे। पूरै वातावरणको तनाव घरिघरि उसका नसाहरूमा घुस्थ्यो। मन्दिरबाट आएको आवाजले पनि उसको तनावलाई शान्त पार्न सकिरहेको थिएन। छेउछाउका मानिसहरूको अनुहारमा अविश्वास र असुरक्षाको भावना तातो फलामले डामेजस्तो लागिरहेको थियो।

आजभन्दा तीस वर्षपहिले पनि उसले यस्तै अत्तालिएका र आत्तिएका अनुहारहरू देखेको थियो। क्षणभरमै घरका घनिष्ट मित्रहरू दुस्मन भएका थिए। त्यस बेला ऊ स्कुलमा पढाउँथ्यो। त्यस बेला उसको नाम थियो इन्द्रमोहन। स्कुलका लागि इन्द्रमोहन तिवारी। आफ्नो नाम उसलाई एकदमै प्यारो थियो। अङ्ग्रेजीमा आफ्नो नाम मजाले बताउँथ्यो - आइ एम तिवारी - अर्थात् म तिवारी हुँ र मज्जाले खित्का छोडेर हाँस्थ्यो।

त्यस बेलुका पनि ऊ खित्का छोडेर हाँसिरहेको थियो तर त्यसै बेला उसका बाबुले घाइते अवस्थामा घर प्रवेश गरे। उसकी आमा त बौलाही जत्तिकै छाती पिट्न थालिन्। ठूला दाइले लठ्ठी उठाएर भने- "आज दुईचारलाई त सिध्याइदिन्छु।" बाबुको शरीरका घाउहरू, दाजुको जोस, सोडावाटरका बोतलहरू, अल्लाह हो अकबर, सडकमा छरिएको काँच, हरहर महादेव, छुरेबाजीले घाइते भएका मान्छे, पुलिसको बर्दी, पुलिसको डन्ठा, पुलिसका गोलीहरू, साइरन, बुटका ठकठकहरू, कर्फ्यु, सबै थाहा छ उसलाई ! स्कुल बन्द हुनु सब्जी गायब हुनु, अनुहारहरूमा टाँसिएको डर, दिमागमा भएको भय, आफ्नाको दूरी, पराइको आफ्नोपन, केही पनि बिर्सेको छैन। फेरि उसको नाम !

उसलाई सानै उमेरदेखि धर्मबाट सञ्चालित नामहरूबाट घृणा हुन थालेको थियो। किन यो नाम, जात र धर्मको सिलसिला सकिँदैन ? किन कुनै बालकले आफ्नो नाम आफैँ राख्‍न सक्तैन?  किन जन्माउने व्यक्तिले दिएको नाम नै उसको जीवनभरिको पहिचान बन्छ ? किन बालकलाई ठूलो भएपछि पनि आफ्नो नाम आफैँ राख्‍नसक्ने गरी छाडि दिँदैनन् ? त्यस दिन उसले आफ्ना बाबुलाई भनेको थियो- "पिताजी ! मेरो नाम फेरिदिनुहोस् !"

पिताजीले हप्काएर उसको निधोलाई अझ बलियो बनाइदिनुभएको थियो। ठूलो हुनेबित्तिकै उसले आफ्नो नाम फेर्ने प्रण गर्‍यो र त्यही प्रण पूरा गर्ने समय आएको थियो। उसलाई फेरि लाग्यो नाम त उसको आफ्नो हो, जहिले मन लाग्छ, जस्तो मन लाग्छ फेरे भइहाल्यो नि। कुन मुस्किलको काम हो र !

नाम फेर्नु पनि नाम कमाउनुभन्दा कम कठिन काम हैन। कचहरीको चक्कर, गजटमा नाम निकाल्नु र समाचार पत्रहरूमा विज्ञापन दिनु आदि सब गरेपछि बल्ल ऊ आइ. एम. तिवारीबाट आइ. एम. हिन्दुस्तानी भएको थियो। अँ यही उसको नयाँ नाम थियो। अब ऊ कसैलाई आइ. एम.को अर्थ बताउँदैन। ऊ चाहन्छ सबैले उसलाई हिन्दुस्तानी भनेर बोलाउन्। मात्र हिन्दुस्तानी वा मिस्टर हिन्दुस्तानी। उसले प्रण गरेको थियो कसैलाई आफ्नो धर्म नबताउने।

पहिलो टक्करमै उसको प्रणको भग्नावशेष छरिएको थियो। नोकरीका लागि फारम भर्दा उसले एउटा स्तम्भमा भर्नुपर्‍यो - धर्म ! उसले धर्मको ठाउँमा लेखिदियो- नास्तिक ! धेरैपल्ट सोच्यो पनि हाम्रामा त धेरैजसो वामपन्थी छन् त तिनीहरूले नोकरीका लागि निवेदन दिँदा धर्मको ठाउँमा के लेखे होलान् ? के तिनीहरूको वामपन्थले धर्म लेख्‍ने अनुमति दिन्छ ? कि त्यो  वामपन्थको ढोँङ मात्रै हो। सबैले घर किनेका छन्। वामपन्थीले त सम्पत्ति आर्जन गर्नुहुँदैन हैन ? फेरि यो के गोलमाल ?

नास्तिक भएको दण्ड त उसले भोग्नुपरिहाल्यो। साक्षात्कारमा उसलाई एउटै पनि प्रश्न उसको पढाइ वा सक्षमताको विषयमा सोधिएन। प्यानलका हरेक सदस्यलाई ऊ नास्तिक किन भयो भन्ने कौतुहलमात्र थियो।..र ....नास्तिकबाद पनि कुनै धर्म हुन सक्छ र ?

आफ्नो मनमा उब्जेको उत्तेजनालाई उसले स्वर दिइहाल्यो- "सर ! धर्मले हामीलाई हजारौँ वर्ष पछि लान्छ। जब हामी कुनै क्यामेरा, फ्रिज वा कार किन्छौँ तब हाम्रो कोसिस यही रहन्छ कि  सबैभन्दा नयाँ किनौँ। तर जहाँ धर्मको कुरा आउँछ, त्यहाँ जुन धर्मका भए पनि धर्मवालाहरू पुरानोभन्दा पुरानो ग्रन्थको कुरा गर्छन्। आदिम मान्छेहरूद्वारा लेखिएको पुरानो कुराका लागि हामी काटमार गर्छौँ। के यो सही हो ? के नास्तिक हुनु यो स्थितिभन्दा बेस भएन र ?....... फेरि धर्म निरपेक्ष देशमा यो प्रश्नको औचित्य नै के छ र ?"

प्यानलका सदस्यहरूले उसका कुरा सुनिरहे तर उसले त्यो नोकरी पाएन। उसले बुझ्यो कि धर्मको हात नसमाती उसको  नौका पार लाग्नेवाला छैन।तर उसलाई कुनै पनि धर्ममा विश्वास छैन। त कुन धर्मको हात समात्‍नु ? जब सबै धर्मका मानिसहरू आफ्नो धर्मलाई सर्वश्रेष्ठ र अर्काको कमसल बताइरहेका छन् कतातिर हेर्ने हो उसले ?

नोकरी पाउनका लागि उसले आफ्नो जन्म-धर्मकै सहारा लियो। आफ्नो पासपोर्टमा पनि ऊ हिन्दू भयो। ऊ हिन्दुस्तानी मात्रै हुन चाहेको थियो तर नोकरीले उसलाई हिन्दू बनाएरै छाड्यो।

नोकरी भेटियो तर जेद्दाहमा। त्यहाँ त धर्मको अर्कै रूप थियो। स्त्रीहरूमा थुप्रै प्रतिबन्ध। तिनका अनुहार बुर्का र नकाबले छोपेका देखिन्थे। गैरमुसलमानहरूलाई पनि बुर्का लगाउनुपर्थ्यो। दिनमा पाँचपल्ट नमाजका समयमा पूरा सहर जड हुन्थ्यो। सबै दोकान बन्द।

त्यहाँ पनि उसले विभिन्न तहमा भेदभाव देख्यो। पहिलो फरक मुस्लिम र गैर-मुस्लिममा थियो। मुस्लिममा पनि सउदी र गैर-सउदीमा फरक थियो। अरबी र गैर-अरबी मुसलमानहरूमा अन्तर थियो। धनी र गरिब देशका मुसलमानहरूमा अन्तर थियो। फेरि गैर-मुस्लिममा पनि छालाको रङका आधारमा अर्थात् गोरा कालामा अन्तर।

जीवनमा पहिलो पल्ट जेद्दाहबाट ताएफ जाँदा उसले मुसलमानहरूका लागि आरक्षित सडक देख्यो। मण्डलको कमण्डलको अर्को रूप ! त्यहाँको धार्मिक पुलिसले तपाईँको 'इकामा' अर्थात् वर्क-परमिट हेर्छ। यदि इकामा हरियो रङको छ भने तपाईँ मुस्लिम हो र तपाईँ आरक्षित सडकबाट जान सक्नुहुन्छ। अन्यथा तपाईँले लामो चक्कर लगाएर अनारक्षित सडकबाट ताएफ पुग्नुपर्छ। त्यसै सडकबाट उसले बिल्डिङहरूको समूह देखेको थियो। त्यसलाई डिपोर्टी क्याम्प भन्दा रहेछन्। अर्थात् सऊदी अरबबाट निष्कासित मानिसहरूलाई राख्‍ने ठाउँ। अन्त्यमा एउटा उडानमा राखेर निष्कासितहरूलाई आआफ्ना देश पठाइँदो रहेछ। त्यस क्याम्पमा तपाईँ त्यतिबेला मात्र जान सक्नुहुन्छ यदि तपाईँ कि पुलिस हुनुपर्‍यो यात निस्कासित।

डिपोर्टी क्याम्पको विषयमा सोच्दा हिन्दुस्तानीलाई झन्डै काम छुट्यो। कस्तो व्यवहार हुँदो हो त्यहाँ मानिसहरूसँग ?

हिन्दुस्तानीलाई जेद्दाहमा सधैँ भयको वातावरणमात्रै छ जस्तो लाग्थ्यो। कुनै युद्ध नहुँदा पनि त्यहाँ सधैँ त्रासको वातावरण हुन्थ्यो। पुलिसमा पनि 'मुतब्बा' अर्थात् धार्मिक पुलिसको आतङ्क सर्वोपरि थियो। मुतब्बादेखि त सउदीका मानिस पनि डराउँछन्। अप्रवासी त उनीहरूलाई देखेर आत्तिन्छन् नै।

इराक-कुबेत लडाइँका बेलामा त यो डर एकदम गहिरो गाडिएको थियो। राम्रो तलब नपाएको भए उहिल्यै हिन्दुस्तानी आफ्नो मुलुक फर्किसक्थ्यो। पैसाले त कहीँ पनि कसैलाई पनि रोकिहाल्छ नि हैन ? पैसाको चमत्कार त उसले जेद्दाह र ताएफमा देखिसकेको थियो। बालुवामा रूख उमारिएको थियो।

इराकसितको युद्धको समयमा सी.एन.एन को अतिक्रमण सउदीमा पनि भएको थियो। सी.एन.एन.का कार्यक्रमको खुलापन त्यहाँका कठमुल्लाहरूलाई मन परेन। त्यसपछाडि स्टार टिभीको डिस एन्टेनामा राजपरिवारको चट्याङ पर्‍यो।डिस एन्टेनालाई सैतानको बटुको र एड्सको चाबी भनियो। कठमुल्लाहरूले डिस एन्टेना राख्यो भने एड्स हुन्छ भनेर भनिदिए। हिन्दुस्तानी आफ्नो एउटा साथीकहाँ गएर केबल टिभी हेर्ने गर्थ्यो।

हिन्दुस्तानीले त्यस बेला पनि धर्मको जटिलता बुझेको थिएन। एउटै धर्मका दुई देश पनि आपसमा लडाईँ गर्छन्। एउटा धर्मका देशहरू जम्मा भएर अर्को धर्मको देश ध्वस्त पार्न जुट्छन्। अर्थात् धर्म एकताको ग्यारेन्टी त भएन। पुत्रबाट पिताको हत्या धर्मले रोक्न सक्तैन। त्यसो भए धर्मका नामका हत्या किन ? के यो सबै आडम्बरमात्र हो ?

हिन्दुस्तानीको दिमाग लगाम नभएको घोडाजस्तो दौडिरहेको थियो। तर्क, वितर्क, कुतर्क सबैले उसका दिमागमा ज्वार-भाटा पैदा गरिरहेको थियो। "एक समय यस्तो थियो होला जति बेला मानिसहरूलाई भगवान्‌ केको नाम हो भनेर थाहै थिएन होला। मानिसहरूले भगवान्‌को आविष्कार गरेकै थिएन होला। फेरि कसैलाई भगवान्‌ भएको महसुस भयो होला र उसले पहिलो धर्मको घोषणा गर्‍यो होला। त्यसै गरी अर्काले दोस्रो भगवान्‌ अनुभव गर्‍यो होला। यही हिसाबमा धेरै धर्म जन्मे होलान्।" हिन्दुस्तानीले सोचको निष्कर्ष निकाल्यो "जबजब मान्छेले भगवान्‌ देख्छ र उससँग तारतम्य मिलाउँछ, तबतब सभ्यता टुक्रिन्छ।"

प्रकृतिले मानिसहरूको जन्म र मृत्युको तरिका एउटै राखेको छ। किन मानिसले मात्रै बच्चाको पालनपोषण र क्रियाकर्ममा अलगअलग तरिका अपनाउँछ ? आज जुन देशमा हिन्दुस्तानी बसिरहेको थियो, त्यहाँ त अर्को धर्मका मानिसहरूलाई आफ्नो इष्टदेवको मूर्ति राख्‍न वा पूजा गर्न समेत वर्जित थियो। तर पनि मानिसहरू लुकेर पूजाआजा गरिहाल्छन्। धर्मले मानिसहरूलाई यति ठूलो बल दिन्छ कि सरकारी आदेश पनि उनीहरूले बेवास्ता गर्न डर लाग्दैन।

नास्तिक हुने चक्करमा हिन्दुस्तानीले विवाह पनि गरेको थिएन। अब त पैँतीस-छत्तीसको भैसक्यो। तर उसलाई धार्मिक विधिले बिहे गर्नु छैन। आमा-बाबुले कोर्टको बिहेलाई स्वीकृति दिएनन्। र फेरि कोर्ट कचहरी पनि त धर्म सोधेर हैरान पार्छन्। साला कोर्ट कचहरी सबै धार्मिक भएका छन्।

त्यसैले जेद्दाहमा एक्लै बस्थ्यो हिन्दुस्तानी। उसका साथीहरूले उसलाई डर देखाइदिएका थिए, "बनेमलिक इलाकामा कहिल्यै नजानू नि ! त्यस इलाकामा सधैँ दुई नम्बरको काम हुन्छ। नक्कली पासपोर्ट र भिसा, यहाँसम्म कि इकामा पनि नक्कली। हिन्दुस्तानी छ्क्क ! यति धेरै पुलिस, असली पुलिस ! यस्तो डर ! तर पनि यति सारो नक्कली काम ! साँच्चै हिम्मतवाला मानिसहरूको कमी त कतै पनि हुँदैन।

त्यसताका हिन्दुस्तानीको नयाँ साथी भएको थियो सञ्जय। एउटा कम्पनीमा म्यानेजर थियो। 'अल-हमरा' नामक इलाकामा बस्थ्यो। उसकी पत्‍नी अपर्णा र छोरी थिई चयनिका। तीनैजना कुनै अप्ठ्यारोबिना जेद्दाहमा बसिरहेका थिए। अपर्णासँग प्राय उसको बहस भइरहन्थ्यो, "म भन्छु, जो मुस्लिम होइनन् तिनीहरूले बुर्का या आबाया किन ओड्नुपर्‍यो भन्या ?"

अपर्णा हाँसेर सहज तरिकाले हिन्दुस्तानीलाई सम्झाउँथिन्- "हेर्नुस् दाइ, हामी आबाया नओडी सडकमा गयौँ भने हामीलाई सबैले आँखा तरेजस्तो लाग्छ। किनकि हामी अरूभन्दा अलग्गै देखिन्छौँ। जब सबै मुस्लिम महिलाहरूले बुर्का लगाउँछन् भने हामी पनि आबायामा आफूलाई छोपिएको र सुरक्षित महसुस गर्छौँ। नत्र त लुगै नलगाई घर बाहिर निस्कएका छौँ जस्तो लाग्छ।"

हिन्दुस्तानी फेरि छक्क ! हिन्दुस्तानी नारीमा कति सहनशीलता छ। फेरि यहाँ त अमेरिकी र अङ्ग्रेज महिलाहरू पनि आबाया ओड्छन्। के यिनीहरूले अमेरिका या इङ्ग्लान्डमा पनि बुर्का लगाउँछन् ?..... त्यहाँका सरकारले बुर्का लगाउनैपर्ने आदेश जारी गरिदिए के यिनै महिलाहरू नै विद्रोह गर्दैनन् ? त के इनलाई पनि पैसाकै लोभ छ त ?

हिन्दुस्तानी आफ्ना देशमा पनि सिगरेट र रक्सी पिउँदैनथ्यो। त्यसैले जेद्दाहमा उसलाई केही कठिनाइ भएन। पूजा त ऊ घरमा पनि गर्दैनथ्यो भने यहाँ उसलाई त्यसको अभाव खट्किने त कुरै भएन। अहिले उसले एउटा कार पनि किनेको थियो। त्यसैले आउने-जाने कुनै अप्ठ्यारो थिएन। पेट्रोल त लगभग सित्तैँ नै थियो। दस-बाह्र रियालमा फुल ट्याङ्की। एक रात हिन्दुस्तानी सञ्जयका घरमा नै खाना खाइरहेका थिए। रातीको खाना सकिएपछि सञ्जयले भने- "हिँड, हुक्का पिउन जाऔँ !"

"यो हुक्का पिउन हिँड भन्नुको मतलब के हो यार ? हुक्का पिउनु छ भने हुक्का भरेर पिए भैहाल्यो नि !"

"होइन मेरो गोबरगणेश, आज तिमीलाई देखाउँछु, कसरी राती बाह्र बजे जेद्दाहमा स्त्री-पुरुष मिलेर एकै ठाउँ बसेर हुक्काको मजा लिन्छन्।"

हिन्दुस्तानी तीनछक्क ! उसका देशमा कहिल्यै हुक्काको इज्जत राजामहाराजाको पालामा हुनेगर्थ्यो। तर आज त हुक्का पछौटेपनको चिनारी हो।

हिँड्यो हिन्दुस्तानी। जीवनमा पहिलो पल्ट सार्वजानिक 'हुक्कापान' हेर्नलाई। खुला आकाशमुनि, रूखैरूखका बीचमा मुगलकै सानसौकतका हुक्काहरू। कुनैमा कलकत्ताको तमाखु छ भने कुनैमा बहरीनको। कोही पाकिस्तानबाट आएको थियो भने कोही चीनबाट।जीवनमा पहिलो पल्ट सिसाले बनेको हुक्का देख्यो हिन्दुस्तानीले। हेर्दा लाग्थ्यो मानौँ हुक्काको उत्सव चलिरहेको छ। मधुरो आँचमा हुक्कामा तमाखु सल्किरहेको थियो।

ठीक त्यस्तै प्रश्न सल्किरहेको थियो उसको आफ्नो देशमा। एउटा धर्मले त्यसलाई अल्लाहको घर भनिरहेको थियो भने अर्काले भगवान्‌को जन्मस्थान। हिन्दुस्तानीले यहाँ कहाँनेर के कुरा मिलिरहेको छैन भन्नेकुरा चाहिँ बुझिरहेको थिएन। भगवान्‌ जन्मिएपछि त्यो भगवान्‌को घर त पक्कै भयो होला। दुवै धर्मका मान्छेहरू त्यसलाई भगवान्‌को घर मानेरै लडाईँ गरिरहेका छन्। दुवै धर्मका मानिसले एउटै स्थानबाट आराधना गर्ने कुनै तरिका हुन सक्तैन ? यसमा त्यत्रो उत्तेजित हुनुपर्ने कुरा नै कहाँ छ र ? स्थिति कुरूक्षेत्रजस्तो भैसक्यो। कोही पनि एक इन्च जमिन छाड्न तयार छैन। त्यति टाढा हिन्दुस्तानमा सल्किरहेको प्रश्नको गर्मीले जेद्दाहजस्तो टाढाको सहरमा पनि गर्मी फैलाइरहेको थियो। अनि त त्यसै गर्मीको तेज लहर उसले डिसेम्बरको चिसो साँझमा गर्‍यो। लगभग चार सय वर्ष पुरानो ढाँचा ढलेर भग्नावशेष भैसकेको थियो। पहिलोपल्ट डर लाग्यो हिन्दुस्तानीलाई। उसलाई लाग्यो जेद्दाहमा प्रत्येक आँखाहरूले उसलाई घुरिरहेका छन्। उसैलाई त्यस काण्डको दोषी ठहर्‍याइँदै छ। सञ्जय पनि दुःखी नै थिए। उसको डिस एन्टेनाले त दुबई, इङल्यान्ड, पाकिस्तान, बङ्गलादेश र भारतमा जल्दै गरेको मन्दिर देखाइरहेको थियो। जेद्दाहमा बस्ने हिन्दुहरूको स्थिति विचित्र त्रासमय थियो। सञ्जयका पिता देश-विभाजनको भुक्तभोगी हुनुहुन्थ्यो। उनलाई आफ्ना पिताले भनेका एक-एक कुरा याद भइरहेको थियो।

हल्लाको बजार तातो थियो। आज हिन्दुस्तानीलाई पनि डिस एन्टेना सैतानको अवतार लागिरहेको थियो। किनभने त्यसले धमाधम नरोक्किइकन अयोध्याको खबर दिइरहेको थियो। धेरै हिन्दूहरूका इकामा रद्द भइसकेका थिए। उनीहरूको पासपोर्टमा रातो रङको एक्जिट भिसाको छाप लगाएर उनीहरूलाई फिर्ता पठाउन थालिसकिएको थियो। सञ्जयले हिन्दुस्तानीलाई आदेश दिए- "तिमी एक्लै बाहिर कहीँ नजाने है। केही दिन हाम्रा घरमा आऊ। घरदेखि अफिसमै पुर्‍याइदिउँला र फिर्ता पनि ल्याउँला। बनेमलिकतिर चाहिँ बिर्सेर पनि नजानू नि।"

स्त्रीहरूका निधारबाट बिन्दी हराउन थाल्यो। बिन्दीले नै त उनीहरूलाई अरूभन्दा अलग देखाउँथ्यो र उनीहरूको बेइज्जतीको कारण बन्दथ्यो।

एक साँझ त हिन्दुस्तानीलाई पक्कै विश्वास लाग्यो कि अयोध्याको दुर्घटनाका कारण ऊ स्वयम् हो, सञ्जय हो, अपर्णा हो र उनीहरूकी पाँच वर्षकी छोरी चयनिका हो। चयनिकाको स्कुलमा उसलाई बाइकट गरियो। उसलाई बताइयो अयोध्याको मस्जिद उसले भत्काएको हो त्यसैले क्लासका बच्चाहरू उससँग बोल्दैनन्। रुँदै गरेका राताराता आँखा लिएर सञ्जयसँग चयनिकाले सोधिहाली- "बाबा, किन तपाईँले मस्जिद भत्काएको ? क्लासमा मसित कोही पनि कुरा गर्दैनन्।" हिन्दुस्तानीलाई आफ्नो शरीरको हरेक हिस्सा धर्मराएर भग्नावशेष हुन लागिरहेछ।

गर्मी अझै सेलाएको थिएन। वातावरण अलिक सामान्य भएको थियो। हिन्दुस्तानीलाई पनि सकस हुन थाल्यो। उसलाई पनि ताजा हावा त चाहिन्थ्यो नै। एक दिन बेलुका अफिसबाट निस्केर सिधै कारबिसतिर लागे।पार्किङमा गाडी राख्यो। अलिकति किनमेल नगरीकनै नमाजको घोषणा भयो। हिन्दुस्तानीले सोच्यो- 'ठीकै छ, यो सामान गाडीमा राख्छु र बाँकी किनमेल नमाज सकिएपछि किनौँला।' उसले गाडीतिर गएर सामान डिकीमा राख्यो र बजारतिर फर्कियो। लाउडस्पिकरमा अरबी भाषामा कुरानसरिफ़का श्लोकहरू बजिरहेका थिए।

हिन्दुस्तानी केही कदम अगाडिमात्र बडेको थियो धार्मिक पुलिसको एउटा समूहले आएर रूखो भाषामा इकामाको माग गर्‍यो। हिन्दुस्तानी अत्तालियो र गोजीबाट हत्त न पत्त इकामा निकालेर मुत्तब्बालाई दिए। इकामाको रङ देख्‍ने बित्तिकै मुतब्बाको अनुहारको भाव फेरियो र हिन्दुस्तानीको अनुहार सेतो भयो। उनीहरूले उसलाई गाडीमा बस्न भने। हिन्दुस्तानीले उनीहरूलाई आफ्नो कार पार्किङमा भएको र सामान भएको कुरा सम्झाउन खोजिरह्यो। ड्राइभिङ लाइसेन्स र कारको चाबी देखाएर छाडिदिन भन्दा पनि केही भएन। किनभने उसको इकामाको को रङ हरियो थिएन। अथवा जेद्दाह नै बनेमलिक बनिसकेको थियो। धार्मिक पुलिसले कहीँबाट कसैलाई पनि पक्रन सक्थ्यो।

हिन्दुस्तानीको कार पार्किङमा थियो। सामान पनि त्यही कारमा थियो। सामान उसका घरमा पनि थिए। ती सामान जसलाई हिन्दुस्तानीले पैसा जम्मा गरेर जोडेको थियो। आज ऊ त्यही डिपोर्टी क्याम्पमा थियो जसलाई देख्दा उसको शरीरमा कुनै दिन कम्पन उत्पन्न भएको थियो। सञ्जय र अपर्णा हतास थिए। तिनले हिन्दुस्तानीलाई खोजिरहेका थिए। आखिर कहाँ गयो ? हिन्दुस्तानीको अफिसमा फोन गरे, सबै साथीहरूलाई सोधे, अस्पतालमा पनि सोधे। उत्तरमा केवल एउटा पर्खाल देखापर्थ्यो।

तीनचार दिनपछि उसलाई हिन्दुस्तानको उडानमा बसाइयो। उसको पासपोर्टमा एक्जिटको छाप लागिसकेपछि ऊ अब कहिले पनि जेद्दाह फर्केर आउन सक्तैन। विमानमा ऊजस्ता अरू पनि थुप्रै थिए जसलाई एक्जिट गरिएको थियो। सबैका अनुहारमा एकै किसिमको भाव थियो।

आफ्नो देश पुगेर हिन्दुस्तानीको मनमा एउटा इच्छा जाग्यो। "हेरूँ न त त्यो ठाउँ जसले मेरो जीवन चौपट बनाइदियो।" पिताको अनुहारमा उम्रेको भाव उसले सजिलै पढिरहेको थियो- "म भन्थेँ नि तेरा तरिकाहरू गलत छन्। तँ कहिल्यै सफल हुँदैनस्।"

हिन्दुस्तानी अयोध्यातिर लाग्यो। गाडीमै उसले केही राजनैतिक कार्यकर्ताहरू भेट्यो। कसैले उसको नाम सोध्यो। उसले त्यही पुरानो तरिकाले जबाफ दियो - "आइ एम हिन्दुस्तानी।" कार्यकर्ता त्यो सुनेर खुसी भयो। "साहेब हामी यही त भन्छौँ। पहिले हामी हिन्दू हौँ- हिन्दुस्तानी अनि त्यसपछि अरू केही। भारतीय त हामीले निकै भेट्यौँ तर हिन्दुस्तानी तपाईँ पहिलो भेटेको। हाम्रो सभ्यता, हाम्रो कल्चर, हाम्रो इतिहास........" हिन्दुस्तानीलाई रिङ्गटा लाग्न थाल्यो। आज एकपल्ट फेरि आफ्ना नामबाट उसलाई साम्प्रदायिकताको गन्ध आउन थाल्यो।

अयोध्याको भग्नावशेषको अगाडि उभिएको थियो हिन्दुस्तानी। उसको नोकरीको जग यो पुरानो बिल्डिङको भन्दा धेरै कमजोर थियो। एकै झट्कामा उसको नोकरी हावामा उडेको थियो। सारा वातावरणलाई देखेर हिन्दुस्तानीलाई महसुस भयो- केवल एउटा ढाँचा चर्मराएको होइन, त्यससँगै अरू थोक धेरै चर्मराएका छन्, मान्छेमा विश्वास, माया, भाइचारा, समाजको जग सबै चर्मराएका छन्।

हिन्दुस्तानीका आँखामा सबै चरमराहट बोकेर फर्क्यो। एकाएक हल्ला भयो- "मुम्बईमा बम पड्के, सैयौँ मरे !"

हिन्दुस्तानीले आकाशतिर हेर्‍यो र उसको मुखबाट निस्कियो- "यो के हुँदै छ भगवान्‌ ?" उसको शरीर झन्डै काम्यो। यो उसको मुखबाट के निस्कियो ?

               ***

 

 

 


प्रथम पृष्ठ ( Home )