|
|
|
|
ब्लड-मनी
यो दुर्घटना जहाँ भएको थियो र जहाँ भीड जम्मा भएको थियो त्यो ठाउँ दुनियाँमा धेरै पहिलेदेखि थियो। त्यस बेलादेखि थियो जहिलेदेखि दुनियाँ बन्यो। जून र घाम त्यहाँ पहिले पनि उदाउँथे। हावा पनि चल्थ्यो। आँधी र तुफान पनि ताण्डव मच्चाउँथे। तर त्यहाँ रूखबिरुवा थिएनन्। हरियाली पटक्कै थिएन। त्यसैले चराहरू पनि थिएनन्, भए नै पनि नौला जातिका एकदुईवटा मात्र थिए। त्यस इलाकामा काँडे झाडीहरू आफैँ उम्रिन्थे र यी झाडीहरूका वरिपरि ऊँटहरूलाई चरिरहेको देखिन्थ्यो। वास्तवमा जमिन जमिनजस्तो नभएर बालुवाजस्तो थियो। घाममा जल्दै गरेको लाभा जुन रातमा चिसिन्थ्यो। केही मानिसहरू पनि बस्थे यस इलाकामा तर उनीहरूको जिन्दगी पुरानो र जङ्गली थियो। उनीहरूको जीविकाको साधन समुद्र थियो। समुद्रको काखमा मरुभूमि.......... तर अब त्यही ठाउँ नखलिस्तान थियो। दुनियाँका लागि आकर्षण। दुर्घटना यहाँ पहिले पनि हुन्थे तर कहिलेकाहीँ। तर अब त दिनदिनै हुनथालेका छन्। बसेको जिन्दगी गतिवान भएको छ। अचानक गति धेरै भएपछि दुर्घटनाको सम्भावना त बढिहाल्छ.........। मानिसहरू लासलाई हेर्दै पछि हट्दै थिए। जहाँ उभिन्थे त्यहाँबाट समुद्र पनि देखिन्थ्यो। यदि समुद्र छेउमा नभइदिएको भए मानिसहरू त्यहाँ बस्ने पनि थिएनन्। माछा मार्नु र समुद्रमा लुटपाट मच्चाउनु तिनीहरूको जीविका थियो र कुनै काइदा-कानुन थिएन। जङ्गलको पनि। जब जङ्गल नै थिएन भने जङ्गली कानुनको कुरो पो कहाँ आउँछ र ? मानिसहरू आफ्ना मुद्दाहरू आफ्नै ढङ्गले हल गर्थे। बीसौँ शताब्दीसम्म मात्र नभएर त्यसपछिको आधा शताब्दीसम्म त्यो ठाउँ दुनियाँको जानकारीमा नआईकनै आफ्नो अस्तित्वमा बाँचिरहेको थियो। तर कसैले केही चालै नपाई अचानक सबैथोक बदलियो र त्यो ठाउँ दुनियाँको जानकारीमा मात्रै आएन, हेर्दाहेर्दै अत्यधिक विकसित र विशिष्ट भयो। जहाँ मान्छे ढल्न लागेका घरहरूमा बस्थे त्यहाँ आकाश छुने अट्टालिकाहरू उभिए। ऊँटहरूमा कहिलेकाहीँ यात्रा गर्नेहरू, कोरिया, जापान, जर्मनी र अमेरिकामा बनेका कारहरूमा सधैँ हिँड्न लागे। घरमा प्रयोग गरिने हरेक सामानहरूमा इलेक्ट्रोनिक क्रान्ति भयो। यसलाई भन्छन् चमत्कार.... ईश्वरको चमत्कार ! वाह ! गजब छ ! त्यस ठाउँमा ऊर्जाको स्रोत भेटियो। यस्तो ऊर्जा जसलाई पूरै दुनियाँले खोजिरहेको थियो। त्यो ठाउँ देश बन्यो। तर देशका लागि त संविधान चाहिन्छ, चिन्नका लागि केही चिह्न चाहिन्छन्। कुनै एक भाषा चाहिन्छ। यो सब अचानक कसरी हुन्छ ? त्यसपछि यो भयो कि त्यो समूहको सरदारलाई सबै समूहले सरदार माने। अब सरदारले दुनियाँका जान्नेसुन्ने मान्छेलाई बोलाएर उनीहरूलाई छिटोभन्दा छिटो एउटा व्यवस्था गर्ने जिम्मेवारी सुम्पिदिए। कामको बदलामा पैसाको केही समस्या थिएन। ऊर्जा दुनियाँको माग बनेको थियो। पैसा अकूत आउन थालेको थियो। दुनियाँका विद्वान्हरूले निमेषभरमै आफ्नो काम सकिदिए। नागरिकका लागि एउटा धर्म भयो। एउटा भाषा भयो। एउटा राष्ट्रगीत भयो। एउटा राष्ट्रिय पशु र एउटा राष्ट्रिय पक्षी भयो। एउटा जीवनशैली भयो। एउटा कानुन भयो। तर कानुन एकदम कडा थिए। यति कडा कि अपराधको बदलामा पाइने सजायका बारेमा सोच्दा मात्रै शरीरको रगत जमेर हिउँभन्दा चिसो हुन्थ्यो र आउने सबै पिँढीले अपराधको नामै लिँदैनथे। यति कठोर कानुन कि जसले सुन्थ्यो उसको मुटु हल्लिन्थ्यो। यति हुँदाहुँदै पनि दुनियाँभरिबाट मान्छे त्यहाँ भेला भए। जसले पनि त्यस ठाउँको बारेमा सुन्यो त्यहाँ जान लालायित रहन थाल्यो र आफ्ना राम्रा-नराम्रा दुस्साहसिक योग्यताका साथ त्यहाँ पुग्यो। पुगेन मात्रै आफ्नो जन्मजात प्रतिभाले ती खुराफातीमा पनि लाग्यो जसमा उसलाई महारत हासिल थियो। कानुनको डर त सोझो मानिसलाई न हुन्छ। ताला पनि सोझाका लागि मात्रै लगाइन्छ। चोर को त के त्यसै पनि ताला तोडिहाल्छन्। देशको कानुनको हिसाबमा थुप्रै काम गैरकानुनी थिए तर गैरकानुनी काममा जति स्वाद र रोमान्च लुकेको हुन्छ त्यो अरू काममा कहाँ हुन्छ र ? मानिसहरू आनन्द र रोमाञ्चको मजा लिन लागे।......... एउटा भीड जम्मा भयो त्यस देशमा.....अर्का देशका पढेका....नपढेका मानिसहरूको। यहाँसम्म कि ऊर्जा प्राप्त गर्नका लागि अमेरिकाको पनि नियत खराब भयो। मानिसहरू भन्छन् नजर ऊर्जामा मात्र नभएर त्यो पूरै क्षेत्रमा थियो जहाँ ऊर्जाका कैयौँ स्रोत थियो। त्यस पुरै क्षेत्रमा भीड भयो .... भीड नै भीड... भीडबाट दुर्घटनाहरू हुन्छन्। तर जुन समयमा दुर्घटना भएको थियो र जहाँ भएको थियो त्यहाँ त सन्नाटा पसारिएको थियो। सप्ताहको छुट्टीको दिन सहरमा त के पूरै देशमा दिउँसोको बाह्र बजेसम्म ठीक त्यस्तै अघोषित कर्फ्यु लागेको हुन्छ जस्तो हिन्दुस्तानमा ''रामायण" र "महाभारत" टेलिसिरियल प्रसारणको समयमा लागेको हुन्छ। खाली बजार..........सुनसान सडक........टोलमा जहिले पनि घुम्ने र बिनसित्तिमा झगडा गर्ने कुकुरहरू पनि गायब। दुर्घटना भएको ठाउँमा विस्फोटनको आवाज सुनेर मानिसहरू आआफ्ना फ्ल्याटहरूबाट बाहिर आएका थिए, लास हेरेर पछि हटेका थिए र समुद्रतिर हेर्न थालेका थिए। त्यो ठाउँमा आबाद बस्ती भए पनि प्रायः सुनसान नै हुने गर्थ्यो। सबै घरहरू वातानुकूलित थिए र झ्यालहरू पनि सधैँ बन्द नै हुन्थे। मूर्दाहरूको बस्ती थियो वा मूर्दाहरू बस्ने पहाड छुट्याउन कठिन थियो। त्यसै पनि त्यो दिन सप्ताहको छुट्टीको दिन थियो। र दुर्घटनाको समय यस्तै कुनै बिहानको नौ-सवा नौ बजेको हुँदो हो....। दुर्गटनामा घाइते भएर मरेको व्यक्ति हिन्दुस्तानी या बङ्गलादेशी थियो........ यसो भन्ने आधार उसको पहिरन मात्र थियो। उसले कमेज र लुङ्गी लगाएको थियो। उसको कमेज ताजा रगतले लछ्याप्प थियो जसबाट बगेको रगतले कैयौँ रेखाहरू बनाउँदै उसको कमरको दुईतिरबाट गएर उसको लुङ्गीलाई भिजाइराखेको थियो। रगतको एउटा ठूलो थक्का त्यो मानिसको अगाडि भुइँमा फैलिएको थियो। मृतक टेलिफोन बुथ भएको धातुको खम्बामा टाँसिएको थियो। खम्बा अगाडि झुकेको थियो। उसको छाती फुटेर खम्बासँग टाँसिएको थियो र उसको ढाडमा कमेजमा एउटा पत्ता चेक झुन्डिरहेको थियो.....क्यास.........बीस लाख रूपैयाँ........नगद......... र तलतिर हस्ताक्षर.... पुलिस अहिलेसम्म आएको थिएन तर कुनै बेला आउनसक्ने सम्भावना थियो।पुलिस आएपछि सबै कुरो औपचारिक हुनु थियो। यस दुर्घटनाका बारेमा दबिएको आवाजमा केही प्रत्यक्षदर्शीहरूले बताएका, "मृतक सिगरेट पिउँदै गरेको देखिएको थियो। उसले तीनचार पल्ट लामालामा कस लियो र सिगरेटलाई चप्पलले कुल्चियो। त्यसपछि पब्लिक टेलिफोन बुथमा कार्ड घुसाएर कुरा गर्न सुरु गर्यो। ऊ आफैँमा हराएको थियो। अचानक नियन्त्रण गुमाएको एउटा फोरह्विल ड्राइभ फुटपाथमा चढ्यो जहाँ त्यो मानिस आफ्नो कुनै आत्मीय व्यक्तिसँग कुरा गरिरहेको थियो। ठूलो गाडी सीधै फोन बुथसँग ठोक्कियो र त्यो मानिस खम्बामा टाँसिएकै अवस्थामा किच्चियो। बिचरा उसले त थाहा नै पाएन होला कसरी मर्दै छु भनेर......। फोरह्विल ड्राइभ गाडीबाट ड्राइभर उत्रियो। ऊ जवान थियो। लोकल। चौबीस-पच्चीस वर्षको। विदेशी लुगा लगाएको। उसका गाडीमा ट्राफिक डिपार्टमेन्टको अस्थाई नम्बर थियो। यसबाट यो स्पष्ट थियो कि उसको ड्राइभिङ लाइसेन्स नयाँ थियो अथवा उसको गाडी नयाँ थियो। उसले गाडीबाट उत्रेर घाइतेको अन्तिम सास हेर्यो र उसलाई मर्दै गरेको पनि हेर्यो। उसको गाडी खम्बासँग ठोक्किँदा विस्फोटनको आवाज आएको थियो जसलेगर्दा छेउछाउमा हिँड्दै गरेका र आसपासका फ्ल्याटमा बस्ने मानिसहरू ओर्लिएका थिए। स्थानीय युवकले लासका छेउमा भीड जम्मा हुनुभन्दा अगाडि नै उसको ढाडमा ब्लड-मनीको चेक टाँगेर आफ्नो गाडीमा बसेर गाडी ब्याक गरेर हुइँकियो। हृदयहीनताको इतिहासमा यसभन्दा पनि डरलाग्दा घटनाहरू लेखिनेछन्.... त्यसैमा यो दुर्घटना याद राखिन्छ कि बिर्सिइन्छ....। कतिपय मानिसहरू समुद्रलाई हेर्दै गफ गरिरहेका छन् कि दुर्घटना गर्नेवालाले 'पे-क्यास'को चेक काटेर राम्रो गर्यो कि नराम्रो....... राय अलग-अलग छन्......। कसैकसैले भनिरहेछन् कि कानुनी प्रक्रियाको समय बचाएर उसले राम्रो गर्यो।... आखिरमा हुने पनि यही नै थियो। मृतकको निकटतम सम्बन्धीले ब्लड-मनी पाउने थियो। उसले त तुरुन्त पेमेन्ट गरेर कागजी कारबाहीलाई एक सेकेन्डमै बिराम दिएको थियो।..........नभए यता दौड ..... उता दौड......यो प्रमाणित गर..........त्यो प्रमाणित गर........ आदि आदि। अब त कोर्टलाई मात्रै यही सबूत चाहिन्छ कि मृतकको निकटतम सम्बन्धी को हो ? चौबीस घण्टामा फ्याक्स आइहाल्छ उसको निकटतम को हो भनेर........... कोही न कोही त होला नै..... नभए पनि कम्पनीले पत्ता लगाइहाल्छ........... उसको पासपोर्टमा पनि त ठेगाना त लेखेकै होला.....। तर.......... एउटा जीवनको मूल्य बस यति नै.....त्यस ठाउँमा जो विशिष्ट बन्यो.......... र त्यो हो ब्लड-मनी। ***
|