Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

प्रथम पृष्ठ ( Home )

अप्रकट

 

 

        बकबकदेखि लिएर गालीगलौज, हात हालाहाल, मारपिट, नबोल्ने, घृणा ! जबदेखि होस सम्हालेकी छु यही देखिरहेकी छु। अचम्मै लाग्छ अझै पनि तपाईँहरू एउटै घरमा हुनुहुन्छ र कहिल्यै छुट्टिने कोसिस गर्नुभएन। थाहा छ मलाई तपाईँहरूलाई जोडिराख्‍ने जुन तार छ त्यो तार हामी तीन छोराछोरीहरू नै हौँ। कान्छो रोलू तपाईँहरूबिना बस्न सक्तैन र तपाईँ र ममी पनि त ऊबिना बस्न सक्नुहुन्न। ऊ क्लासमा फस्ट भएको तपाईँ पनि हेर्न चाहनुहुन्छ, ममी पनि।

जोकोही पनि जतिसुकै अभागी भए पनि केही मात्रामा भाग्यमानी त हुन्छ नै........ यो त तपाईँको भाग्य नै हो कि घरको यस्तो तनावयुक्त वातावरणमा रहेर पनि तपाईँका दुवै छोराहरू क्लासमा फस्ट आउँछन्। जेसू त तपाईँको आँखाको तारा नै हो नि..... तपाईँ कति गौरव गर्नुहुन्छ उसप्रति......भन्नुहुन्छ, "यस केटाले पक्कै केही गर्छ जसले हाम्रो उच्च आकाङ्क्षालाई पनि पछाडि पार्नेछ।" एउटी म नै छु घरमा जो राम्री छैन र पढ्नमा मेधावी पनि छैन तर तपाईँहरूको भावनासँग सबैभन्दा नजिक छु।

बाबा ! मलाई थाहा छैन तपाईँहरूबीचको घमासान कहिलेदेखि चलेको छ र यसको सुरुवात कहाँबाट भयो, तर यति जान्दछु कि यस घमासानले हाम्रो आत्मा विलाप गर्न थाल्छ ....... हाम्रो रगत चिसो हुन्छ र हाम्रो घर एउटा हरर फिल्मजस्तो भयावह लाग्छ। मैले कैयौँ रात त कसरी ममीको तपाईँमाथि भरोसा टुट्यो र कसरी उहाँ यसरी असहिष्णु हुनुभयो भन्ने सोच्नमा गुजारेकी छु। यसका अनेकौँ कारण हुनसक्छन्, तर यसमध्येको एउटा कारणमा म बारम्बार आएर अडिन्छु। ममी आफ्नो औसतभन्दा पनि उन्नाइस अनुहार र विवेकका कारणले सधैँ हीनताबोधको ग्रन्थिले ग्रस्त रहनुभयो। त्यही हीनताबोधको ग्रन्थिले गर्दा तपाईँको सामाजिक प्रतिष्ठा र व्यक्तित्वको चुम्बकीय आकर्षणको हदभित्र अनेकौँ महिलाहरू छन् जससँग तपाईँको दोस्ती छ भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो। ममीजस्तो विचार राख्‍ने मान्छेलाई महिलासँगको दोस्तीको एउटा र एउटै मात्र अर्थ हुन्छ, अरू केही हुँदैन। वास्तवमा उहाँजस्ती महिलाहरूका लागि यो संसार न बदलिएको छ न अगाडि बढेको छ, किनकि उहाँ त्यही गाउँघरबाट आउनुभएको हो त्यो समाज अझै पनि डेढ सय वर्षअघिको युगमै अड्किरहेको छ। यिनै कारणहरूले होला तपाईँले ममीलाई कहिल्यै आफ्नो लायक सम्झिनुभएन, उहाँको वास्ता गर्नुभएन र उहाँलाई पनि विश्वासमा लिएर चल्नुपर्छ भन्ने कुरा जरुरी ठान्नुभएन।

बाबा ! पहिले तपाईँ गर्जिनुहुन्थ्यो, चिच्याउनुहुन्थ्यो..........तर अचेल एकदम चुपचाप बस्नुहुन्छ। त्यस दिन तपाईँहरूबीचमा हिंस्रक झडपहरू भएका थिए। ममीले तपाईंमाथि प्रहार गर्नुभएको थियो र तपाईँले ममीमाथि। यसपल्ट पहिलो अवसर थियो जसमा तपाईँ बढी घाइते हुनुभएको थियो। नराम्ररी बटारिदिएका कारणले तपाईँका दाहिने हातका दुईतीनवटा औँलाहरू नराम्ररी मर्किएका थिए। तपाईँ दुखाइबाट  रातभरि तड्पिरहनुभएको थियो। मैले कैयौँपल्ट तपाईँको कोठामा चियाएर हेरेकी थिएँ.... तपाईँ रोइरहनुभएको थियो। तपाईँको यस विवशतामा मेरा पनि आँखा सजल भएका थिए, बाबा ! पहिलेपहिले तपाईँ घरका मामुली सामानहरू पनि टुट्दा-फुट्दा गर्जिनुहुन्थ्यो, रन्थनिनुहुन्थ्यो। तर आज तपाईँका औँलाहरू भाँचिएका छन् र पनि तपाईँ चुपचाप हुनुहुन्छ। तपाईँले जे पनि चुपचाप सहिरहनुभएको छ। भत्किएका सामानहरूको मरम्मत गराइदिनुहुन्छ या त मरम्मत गर्न नसकिने भए नयाँ किनेर ल्याइदिनुहुन्छ। तपाईँले तेस्रो पल्ट रङ्गीन टिभी किन्नुभएको छ, पाँचौँ पल्ट बुकसेल्फका ऐनाहरू फेराउनुभएको छ, चौथो पल्ट फ्रिजको मरम्मत गराउनुभएको छ र क्रकरी, बेसिन, फर्निचर आदि ससाना वस्तुहरूको टुटफुट त यति धेरैपल्ट झेलिसक्नुभएको छ कि तिनीहरूको गन्ती नै सम्भव छैन। यिनै कारणहरूले बिनसित्तिमा आर्थिक चोट सहिरहनु तपाईँको नियति नै भएको छ।

कहीँ तपाईँभित्र भएको ज्वाला चिसो हुन लागेको त होइन बाबा ?.... हुन्न बाबा, तपाईँले यसो गर्न सक्नुहुन्न। तपाईँले बाँच्नुपर्छ...... एक तेजिलो ओजयुक्त प्रकाश भएर.... हामीलाई अनाथ नबनाउनुहोस् बाबा !

"एउटा कुरा भनौँ बाबा ! मान्नुहुन्छ ?" एक दिन मैले तपाईँलाई सोधेँ- "यसरी एक्लै र एकाकी कसरी बाँच्नुहुन्छ, तपाईँलाई एउटा साथीको आवश्यकता छ बाबा !"

तपाईँले भन्नुभयो- "साथी त छन् नै मेरा...... कति छन् कति..। मनहर र द्वादश त मेरा अति घनिष्ठ साथी हुन्।"

"मैले त महिला साथीको कुरा गरेको बाबा, जससँग तपाईँ आफ्ना भावनाहरू र अन्तरद्वन्द्वहरू एकआपसमा सेयर गर्न सक्नुहोस्। एक यस्ती पार्टनर जसले तपाईँलाई इमोसनल्ली सपोर्ट गर्न सकोस् र तपाईँको हेरचाह गर्न सकोस्।"

तपाईँले भन्नुभयो- "अब यस्ता कुरालाई धेरै ढिलो भयो, छोरी। अब त यही इच्छा छ कि तिमीहरू तीनजना लेखपढ गरेर आआफ्नो बाटो समात। म आफ्नो चिन्तामा लागेर तिमीहरूप्रति लापरवाही गर्ने अपराध गर्न सक्तिनँ। पछि गएर मलाई पनि तिमीहरूले कठघरामा खडा गरेको हेर्न चाहन्नँ।"

"त्यस्तो केही होइन बाबा...... हामी त्यति स्वार्थी भएर तपाईँका आफ्ना हुन सक्तैनौँ। तपाईँ खुसी हुनुभयो भने मात्रै हाम्रा लागि अझ राम्ररी सोच्न सक्नुहुन्छ। होइन र बाबा ? हामीले तपाईँको भलो सोचेनौँ भने हामी तपाईँका आफ्ना कसरी भयौँ त ? एकअर्काको सुखदुःखलाई बढीसेबढी महत्त्व दिने र एकअर्काको हेरचाह गर्ने मान्छे नै  आफ्ना हुन्छन् हैन र ?"

तपाईंले मलाई एकटक हेरिरहनुभएको थियो र तपाईँका आँखाहरूमा मेरो चलाखीपनका(सुझबुझ) लागि प्रशस्त प्रशंसाका भावहरू छचल्किरहेका थिए।

बाबा ! चलाख छु कि छैन त्यो त जान्दिन तर यति त भन्न सक्छु कि घरको झगडा र बाझाबाझले हामीलाई बचपनको बेफिक्री, सोझोपन र ठट्यौलीमा बाँच्न दिएन।जब रोलूलाई हेर्छु, त्यस बचपनहीन बालकमाथि दया जागेर आउँछ। यस केटासँग न्याय भएन, समयभन्दा पहिल्यै ठूलो भयो बिचरा। उसले चङ्गा उडाएन, क्रिकेट, कबड्डी र गुच्चा खेलेन, किताब च्यातेन, कुनै बदमासी नै गर्न आएन उसलाई। दैलो खुलै राखेर नाङ्गै नुहाउन उसले उहिल्यै छोडिदियो। हामीलाई थाहा छैन यो केटो कसरी नुहाउँछ ? यसका तिघ्रा, पिँडुला र गुप्ताङ्गमा कुनै विकृति त छैन ? तपाईँ त भन्नुहुन्थ्यो गाउँमा त राती दिसा बस्न जाँदा, ठूलो भइन्जेलसम्म आमा साथै रहनुहुन्थ्यो र छेवैमा बस्नुहुन्थ्यो रे। आजकल रोलू आधारातमा उठ्दा पनि कसैको सहयोग लिँदैन। कसैलाई थाहै दिँदैन। थाहा छैन यस केटालाई कहिल्यै  भोक लाग्छ कि लाग्दैन, कहिल्यै कसैसँग खाना माग्दा पनि माग्दैन। पेट दुख्दा पनि आफैँ पुदिनहराको गोली ळलिएर आफैँ खान्छ।

बाबा ! म तपाईँहरूबीचको टकराहट र असहिष्णुता देखेर आफ्नै विवाहदेखि नै डराउन थालिसकेँ। कतै मेरो दाम्पत्य पनि यस्तै हुने हो कि ? म कहिल्यै पनि ममीको छाया ममाथि परोस् भन्ने चाहन्नँ र तपाईँजस्तो श्रीमान् होस् भन्ने पनि चाहना राख्दिनँ। मलाई माफ गर्नुहोस् बाबा, ममीमा यदि साठी प्रतिशतको कमी थियो भने तपाईँमा पनि चालीस प्रतिशतचाहिँ पक्कै थियो। तपाईँ आफ्नै साहित्य-संस्कृतिको मायालोकमा मग्न रहनुभयो र ममीको कहिल्यै वास्ता गर्नुभएन। एकपल्ट तपाईँको कुनै साथीले तपाईँलाई सुझाव दिएको थियो- "पत्‍नीलाई कहिलेकाहीँ आफूसँगै लिएर जाऊ न .......... बजार जाऊ, कुनै समारोहमा जाऊ नभए अर्को सहर घुम्न गए पनि हुन्छ....।"

त्यस बेला तपाईँले भन्नुभएको थियो- "यार, म जुन ग्रामीण संस्कार र परिवारबाट आएको हुँ नि, त्यसमा मैले आफ्नी आमा र कैयौँ काकीहरूलाई देखेको छु। उनीहरू दिनभरि खेती-गृहस्थीका घरेलु कामकाजहरूमा व्यस्त रहन्थे। काकाहरू र बाबा दिनभरि खेतबारीमा जोतिइरहन्थे, एकछिन फुर्सत थिएन उनीहरूलाई। एउटा तीर्थसम्म पुग्ने भाग्य थिएन बिचाराहरूलाई। आमालाई खै कहिल्यै गुनासो भएन त ! घरपरिवारप्रति समर्पण, सेवा र विवेकका मामलामा यी देवीजी त कहीँ पनि टिक्तिनन्। त्यसमाथि पनि दिनभरि हाडतोड मेहनत गर्ने आमाको भन्दा यिनको हालत राम्रो छैन र ? यिनलाई न आगो फुक्नुपर्‍या छ न पशुलाई घाँसपानी गर्नुपर्‍या छ। बिस्कुन सुकाउने-स्याहार्ने त परै जाओस्। हामी त खेतमा काम गर्ने पिताकै अर्को पिँढी न हौँ अनि यति धेरै आधुनिक र आभिजात्य पनि भएका छैनौँ कि पत्‍नीलाई क्लबतिर लैजाऔँ, डान्स गरौँ र पैसा दिएर ब्यर्थको किनमेल गराऔँ।"

तपाईँको यो तर्क ठीक थिएन, बाबा ! तपाईँले ममीलाई जहिले पनि अनपढ, गँवार र गाउँले मानेर व्यवहार गर्नुभयो र कहिल्यै उहाँलाई आफ्नी अर्धाङ्गिनी सम्झेर बराबरीको दर्जा दिनुभएन। जब तपाईँ नै हलो जोतिरहनुभएको थिएन भने ममीले गाईगोरुलाई दानापानी कताबाट दिनु ? तपाईँ जहाँ हुनुहुन्थ्यो, ममी पनि त त्यहीँ नै हुनुहुन्थ्यो हैन र ? तपाईँले आफ्नो अपेक्षाअनुसार उहाँलाई ढाल्न कोसिस गरेको भए त हुन्थ्यो !

यस घरमा रहँदा-बस्दा मलाई त पतिपत्‍नीको सम्बन्ध सायद यस्तै हुन्छ होला जस्तो लागिसकेको थियो- आआफ्ना सीमा सम्हालेर बसेका दुई दुस्मनजस्तै। यो अर्कै कुरा हो कि यदि ममी बेमतलब, बेतुकको र विवेकहीन फाइरिङ गर्ने पाकिस्तान हुनुहुन्थ्यो भने तपाईँ हिन्दुस्तान हुनुहुन्थ्यो....... अलिक संयमित, धीर गम्भीर र चतुर...... तर जबाफी गोलाबारी त तपाईँको तर्फबाट पनि भएकै थियो नि। बिर्सिनुभाको छैन होला हैन, तपाईँले हानेको डन्ठाले घाइते भएर ममी एक महिनासम्म लङ्गडाउनुभएको थियो र धेरै मालिस आदि गराएपछि मात्र सामान्य हुनुभएको थियो। आफ्नो यस्तो कुकृत्यबाट तपाईँ धेरै लज्जित हुनुभयो र दिनैपिच्छे गोली-मलम ल्याएर हामी छोराछोरीमार्फत पठाइरहनुभएको थियो। उहाँको व्यथा कम भयो कि भएन भनेर हेर्नलाई तपाईँ चोरदृष्टिले ममीले हिँडडुल गरेको हेर्नुहुन्थ्यो।

यदि मलाई एक महिनासम्म पटनामा तारक अङ्कलका घरमा बस्ने मौका नमिलेको भए सायद म पति-पत्‍नीको अन्तर्सम्बन्ध र 'मेड फर इच अदर' को वास्तविकता कहिल्यै थाहा पाउने थिइनँ। त्यहाँ मैले देखेँ अङ्कलको हरेक आवश्यकतामा आन्टी कति समर्पित हुनुहुन्थ्यो। अङ्कल पनि आन्टीका इच्छाहरू पूरा गर्न पूरै तन्मयताका साथ लाग्नुभएको थियो। एउटा तपाईँ हुनुहुन्छ बाबा, जसलाई कसैले पनि कहाँ जाँदै छस् कति बेला फर्किन्छस् भनेर सोध्दैनन्। न तपाईँलाई कसैले हात हल्लाएर बाई गर्छ न हात फैलाएर वेलकम। न चियाका लागि सोध्छ न खानाका लागि। न तपाईँको हाँसोको कसैलाई मतलब छ न तपाईँको चिच्याहटको। तपाईँका लुगा फाटेका छन्, सर्टका बटम चुँडिएका छन्, तपाईँलाई तातो पानी चाहिएको छ............ तपाईँका यी चिन्ताहरूमा कोही पनि सामेल छैनन्।

ममीलाई पनि त त्यस्तै छ, बाबा। उहाँले पनि आफूलाई एउटा टापु बनाउनुभएको छ। अचेल कसैले उहाँको खोज-खबर लिँदैनन्। आफ्नो मर्जीको मालिक हुनुभएको छ, तर मलाई कहिलेकाहीँ लाग्छ कि आफ्नै मर्जीमा पनि वहाँको आफ्नो अधिकार रहेन। खाना बनेन भने नबनोस्.....छोराछोरी भोकै स्कुल गए जाऊन्....... घरमा कोही महत्त्वपूर्ण व्यक्ति आओस् वा जरुरी फोनकल आओस् कसैलाई सूचित गर्ने आवश्यकता नै रहेन। घण्टौँ झ्यालमा बसिरहनुहुन्छ, थाहा छैन शून्यमा के हेरिरहनुहुन्छ। कहिलेकाहीँ त लाग्छ, उहाँको मानसिक सन्तुलन नराम्ररी बिग्रिएको छ...........तर कहिलेकाहीँ फेरि यस्तो व्यवहार गर्नुहुन्छ कि लाग्छ उहाँजति बुद्धिमान् कोही छैनन्। कुनै बौलाहाले बिजुलीको स्विचबोर्ड खोलेर खराबी ठीक त गर्न सक्तैन नि हैन ? मुडमा जब उहाँ किचनमा जानुहुन्छ, त्यस बेला तपाईँलाई उहाँले बनाएका व्यञ्जन सबैभन्दा मीठा लाग्छन्।

मलाई थाहा छ बाबा, ममी तपाईँलाई नराम्री मात्र लाग्नुहुन्न......... कुनै विशेष कुरो पनि छ उहाँमा जसले तपाईँको हृदयको भित्रै पुगेर छुन्छ। एकपल्ट उहाँ कसैलाई नभनीकन निस्किनुभयो, तीन दिनसम्म अत्तोपत्तो भएन उहाँको, त्यसबेला तपाईँ कति व्याकुल र उद्विग्न हुनुभएको थियो। कहाँकहाँ खोज्नुभएन तपाईँले र अन्त्यमा आशा मारेर परास्त हुनुभएको थियो। राती तपाईँ ममाथि के आइपर्‍यो भनेर विचार गर्न हेर्नुहुन्थ्यो र म पनि तपाईँको कृयाकलापमा दृष्टि दिइरहन्थेँ। त्यसपछि हामीले एकअर्कालाई रोएका देख्थ्यौँ।

मैले तपाईँलाई सोधेकी थिएँ- "बाबा ! यति दुखी किन हुनुभएको ? उहाँ यस घरमा हुँदा त उहाँको उपस्थितिको कुनै मतलब थिएन।"

तपाईँले भन्नुभएको थियो- "छोरी ! मनले के भन्छ या चाहन्छ भनेर जबाफ दिन साह्रै गाह्रो छ। पच्चीस वर्षसम्म बसेकी छन् उनी यो घरमा..... उनले मलाई कैयौँपटक मीठोमसिनो खुवाएकी छन्....मेरा लुगा धोएकी छन्....दुःख-बिमारीमा साथ दिएकी छन्....घर बनाउँदा उनको पूरै तत्परता खनिएको थियो....उभिएरै काम हेरेकी र गराएकी थिइन् उनले.... मानौँ यस घरको एकएक इँटामा उनको स्पर्श हुनुपर्छ। तिमी छोराछोरीहरूकी आमा पनि उनी नै हुन्....त्यसैले यस घरमा....हामी सबैमा उनको केही न केही ऋण त छ नै.... यसलाई कसरी म बेवास्ता गरूँ?"

तीन दिन पछि ममी पुलिसलाई लिएर हताशा र निराशाको हालतमा राति आइपुग्नुभएको थियो। उहाँलाई देखेर तपाईँ कति खुसी हुनुभएको थियो, कुनै राग द्वेष राख्‍नुभएको थिएन, सिकायत गर्नुभएको थिएन। तीन दिनसम्म उहाँ कहाँ बस्नुभयो, सायद आज पनि तपाईँलाई त्यो कुरा थाहा छैन। फेरि त उहाँ घरबाट बाहिर निस्कनेबित्तिकै तपाईँले हामी तीनमध्ये एकलाई उहाँको पछाडि लगाइहाल्नुहुन्थ्यो- "हेर है कहाँ जान्छिन्, बाटो बिराएर कहीँ यस्तो ठाउँमा नजाऊन् जहाँबाट फेरि फर्कन सम्भव नहोस्।"

तपाईँ प्रतिदिन हामीसँग एकपल्ट ममीले खाना खाएको नखाएको सोध्नुहुन्छ। तपाईँ हरेक दिन घर फर्केपछिको पहिलो प्रश्न नै यही हुन्छ कि आज उहाँको भोल्टेज कस्तो छ। यदि जबाफ भोल्टेज हाइ छ, अर्थात् उहाँको मुड नर्मल छ र उहाँ खुसी हुनुहुन्छ भन्ने आयो भने तपाईँको अनुहारमा अनायास तेज भरिएर आउँछ। तपाईँ हामी छोराछोरीका कुनै पनि माग, बाँकी भएका सेलेब्रेसनहरू पूरा गर्न तुरुन्तै तयार हुनुहुन्छ। तपाईँले कैयौँपटक कसम खानुभएको छ -"अबदेखि यस दुष्ट आइमाईलाई आफ्ना हातहरूले केही पनि किन्दिनँ।" म जान्दछु बाबा, तपाईँ आफ्नो यो कसमलाई कैयौँपटक तोडेर खुसी हुनुभएको छ र प्रत्येकपल्ट बाहिर गएर आउँदा ममीलाई केही न केही अवश्य लिएर आउनुभएको छ।

बाबा ! ममी तपाईँसँग झर्किनुहुन्छ, तपाईंलाई घृणा गर्नुहुन्छ, जुन उहाँको स्थायी स्वभाव नै भैसक्यो अब। त्यो स्वभाव जो प्रकट रूपमा छ, तर तपाईँलाई थाहा छैन उहाँमा धेरै कुरा अप्रकट पनि छन्। जब तपाईँ बेलुका घर आउन ढिलो गर्नुहुन्छ तब उहाँभित्र अचम्मको बेचैनी छिर्छ, जसलाई उहाँ जति कोसिस गर्दा पनि लुकाउन सक्नुहुन्न। कहिले उहाँ बेडरुमको झ्यालबाट पूर्वतिर, ड्रइङरुमको झ्यालबाट उत्तरतिर र कहिले बाल्कोनीबाट पश्चिमतिरको बाटामा पालैपालो हेरिरहनुहुन्छ। जुन दिन तपाईँ घरबाट केही नखाई निस्किनुहुन्छ ममीले मलाई आँखा तर्‍यातर्‍यै गर्नुहुन्छ। मानौँ मबाट स्पष्टीकरण लिन खोजिरहनुभएको छ -बाबुलाई केही खान दिन-लायक पनि भइनस् होइन तँ ?

एकपल्ट कुनै भिक्षुले त्यत्तिकै तिम्रो पति अमङ्गलकारी दशाबाट गुज्रिरहेको छ र केही अनिष्ट हुन्छ भनेको थियो। मैले देखेँ त्यसपछि ममीले लगातार कैयौँ हप्ता आइतबारको व्रत लिनुभयो र मन्दिर गएर नरिवल चढाउनुभयो। घरको छानाको कुनै कुनामा वा भेन्टिलेसनमा कुनै चराले गुँड बनायो भने जति नै फोहोर फैलाए पनि ममी त्यसलाई कहिल्यै भत्काउन दिनुहुन्नथ्यो। ममीको यो अप्रकट बुझ्दैहुनुहुन्छ हैन बाबा !

कुनै सान्निध्य र खुसीले भरिएका क्षणहरूमा तपाईँहरू दुईले मिलेर घरपछाडि बाउन्डरीभित्र पर्ने गरी एउटा आँपको रूख रोप्नुभएको थियो। त्यो रूख रोपेको स्मृति तपाईँका हृदयका पन्नाहरूमा अमिट रूपले लेखिएको छ र जसलाई पल्टाएर तपाईँ बारम्बार पढ्नुहुन्छ, हैन बाबा ! म दैख्तै छु बाबा, त्यस आँपका रूखका जराहरू जमिनमा मात्र नभएर तपाईँको र ममीको आत्मामा पनि गहिरो गरी गाडिएका छन्।

गएको गर्मीमा अचानक त्यो रूख ओइलाउन थाल्यो... त्यसका हाँगाहरू सुके र लाग्यो अब त्यो रूख बाँच्दैन होला। वायुमण्डलमा अपेक्षित ओस नहुँदा र जरामा पनि धमिरा लागेपछि, जसरी सम्बन्धहरू मर्छन् त्यसै गरी एउटा रूख पनि निस्सासिएर मर्छ। तपाईँ एकदम चिन्तित र दुःखी हुनुभयो। धमिरा मार्ने पाउडर ल्याएर जरामा हाल्नुभयो र फेरि स्प्रे मेसिन ल्याएर पूरै रूखभरि दबाइ छर्किनु भयो। एउटा रूखका लागि यस्तो तत्परता, संलिप्तता र मेहनतको उत्साह तपाईँमा मैले पहिले कहिल्यै देखेकी थिइनँ।

तपाईँले भन्नुभएको थियो- "यति धेरै बेवारिस रूखहरू छन् यतातिर, कुनै मर्दैन त फेरि यति लाडप्यारले  हुर्काएको यो रूखचाहिँ किन सुकिरहेको ?"

मैले बुझेकी थिएँ बाबा ! यो रूख सुक्नुको अर्थ एक थान रूख सुक्नु मात्र छैन, तर यसमा यस्तो कुरा गाँसिएको छ जसको सम्बन्ध कुनै कोमल भावना र सम्वेदनासँग अटूट रूपमा गाँसिएको छ। तपाईँलाई सायद थाहा छैन बाबा, तपाईँको अनुपस्थितिमा ममीले पनि यस रूखलाई त्यत्तिकै माया गरेर दबाईपानी गर्नुभएको थियो। अन्त्यमा तपाईँहरूको मेहनतले रङ ल्यायो र त्यो आँपको रूख बच्यो। हामी तीनजना छोराछोरीहरू रूखका रूपमा एउटा सम्भावना त घरमा जीवित रह्यो भनेर साह्रै खुसी भयौँ।

मैले तपाईँको एकाकीपन र निराशा देखेर तपाईँलाई कैयौँपटक आफ्नो जीवनमा अर्की महिलालाई स्थान दिन पनि सुझाव दिएकी थिएँ तर रूख-प्रकरणदेखि मलाई लाग्न थाल्यो कि यो घर ममीको हो र यसमा उहाँको मात्रै एकाधिकार रहनुपर्छ। मैले यस्तै आशयको मनोभाव तपाईँसमक्ष समर्थनका लागि प्रकट गर्दा तपाईँले दार्शनिक मुद्रा बनाएर भन्नुभएको थियो- "जसरी घाम र पानीको संसर्गमा रहने कुनै पनि खाली जमिन खाली रहँदैन, यदि त्यो मरुभूमि होइन भने.....,त्यस्ता ठाउँमा नउमारी पनि थुप्रै बिरूवाहरू उम्रिन्छन्, घाँस उम्रिन्छ, त्यस्तै मानिससित पनि हुन्छ, उसलाई कसैको सानिध्य र आत्मीयताको अभाव खड्किन्छ र त्यो ढिलो-छिटो पूरा भैहाल्छ।"

पहिले त सुनेर मलाई अचम्म लाग्यो तर पछि मैले त्यसको अर्थ बुझेँ।

त्यसपछि अनुभव हुन थाल्यो, तपाईँ केही बदलिँदै हुनुहुन्छ। तपाईँमा छाएको आलस्य, खिन्नता र निराशाको बादल हट्न लाग्दै छ र खुलेको आह्लादित आकाश छाउन लागेको छ। यो कस्तो वि़डम्बना हो ! जब मैले तपाईँलाई नयाँ साथीको जरूरत महसुस गराएँ तपाईँले त्यसलाई खारेज गरिदिनुभयो। र आज जब म ममीको यो घरसँग अन्योन्याश्रित सम्बन्ध देखिरहेको छु तब तपाईँ........। मतलब ममीले जुन गलत धारणा वर्षौँपहिले बनाउनुभएको थियो, त्यो अहिले साँचो हुन लाग्दै छ। बाबा ! तपाईँमा नयाँ उत्साहको सञ्चरण देखेर राम्रो त लागेको छ तर हामी आशङ्कित छौँ यही सोचेर कि अर्को गर्मीको मौसममा त्यो आँपको रूख सायद बच्दैन होला।

           ***

 

 

 

 


प्रथम पृष्ठ ( Home )